प्रवीणकुमार शर्मा
रौतहट, पुस १३ गते । रौतहटको इशनाथ नगरपालिका–१, बन्जरहामा आयोजित निःशुल्क आँखा शिविरमा ७४२ जनाको परीक्षण भएको छ । नेपाल नेत्रज्योति सङ्घ, गौर आँखा अस्पताल पुरेनवा रौतहटको आयोजना तथा नेपाल भारत मैत्री सङ्घ रौतहटको समन्वयमा शनिबार सञ्चालन भएको उक्त शिविरमा ७४२ जनाको आँखाको परीक्षण गरिएको हो ।
बन्जरहास्थित आधारभूत विद्यालयमा सम्पन्न शिविरमा ४१९ महिला तथा ३२३ पुरुषको आँखाको परीक्षण भएकोमा १५६ जनालाई चश्मा वितरण, २२९ जनालाई औषधी वितरण गरिएको शिविरका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले जानकारी दिनुभयो । त्यस्तै, शिविरमा मोतीविन्दुसहितका जटिल दृष्टि समस्या पहिचान भएका १२७ जनालाई शल्यक्रिया गरिने उहाँले जानकारी दिनुभयो ।
ईशनाथ नगरपालिकाका सामाजिक अगुवा ग्रिषनन्दन कुमार सिंहको पहलमा आयोजना गरिएको उक्त शिविरमा स्थानीय वृद्ध–वृद्धासहित विभिन्न उमेरका नागरिकहरू,गरिब, असहाय, पिछडिएका वर्गले उल्लेखनीय रूपमा आँखा स्वास्थ्य सेवा लिएका छन् । नेपाल भारत मैत्री सङ्घ रौतहटका अध्यक्ष ग्रिषनन्दन कुमार सिंहको अध्यक्षता एवम् सङ्घका केन्द्रीय अध्यक्ष शैलेन्द्रमोहन झा, सीमावर्ती भारतको बिहार राज्यका पूर्व मन्त्री तथा विधान सभा सदस्य राणा रणधीर सिंहको प्रमुख आतिथ्यमा शिविरको उद्घाटन गरिएको थियो ।
उक्त शिविर कार्यक्रममा मधेश प्रदेश सभा सदस्य एवम् मधेश प्रदेश सरकारका पूर्व अर्थमन्त्री सुनिलकुमार यादव, ईशनाथ नगरपालिकाका नगरप्रमुख कौशल्यादेवी, रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, नेत्रज्योति सङ्घ रौतहटका अध्यक्ष विजयकुमार सिंह, प्रहरी उपरीक्षक रबिन कार्की, सशस्त्र प्रहरी उपरीक्षक रामहरि अधिकारी, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक कुमार बुढाथोकीलगायतको सहभागिता थियो ।
गौर आँखा अस्पतालको भौतिक संरचना ३० वर्ष पहिलेको बिरामी सङ्ख्याको आधारमा बनेको र दिनप्रतिदिन बढ्दो बिरामीको चापले गर्दा उक्त भवनले अपुग भएकाले यसतर्फ सबैको ध्यान जान अहिलेको मुख्य आवश्यकता रहेको नेत्रज्योति सङ्घ रौतहटका अध्यक्ष विजयकुमार सिंहले बताउनुभयो ।
शिविरमा आएका सेवाग्राहीहरूले प्रदान गरिएको सेवाप्रति सन्तोष व्यक्त गर्दै नियमित रूपमा यस्ता कार्यक्रम निरन्तर गर्न नेपाल भारत मैत्री सङ्घ रौतहटका अध्यक्ष सिंहसँग आग्रह गरेका छन् । विशेषगरी वृद्ध नागरिकका लागि आँखा उपचार अत्यन्त महत्त्वपूर्ण भएकाले निःशुल्क जाँचले ठुलो राहत मिलेको उनीहरूको प्रतिक्रिया थियो ।