• २५ जेठ २०८२, आइतबार

विद्यालयमा विद्यार्थीलाई न्यायिक सचेतना

blog

शेरबहादुर राई

ओखलढुङ्गा, जेठ २४ गते । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका अन्तर्गतका माध्यमिक तहका विद्यालयमा ‘न्यायिक सचेतना कार्यक्रम’ सञ्चालन गरिएको छ । 

गाउँपालिकाको १३ वटा माध्यमिक तहका विद्यालय मध्ये आठ वटामा न्यायिक सचेतना कार्यक्रम सञ्चालन गरिएको हो । विद्यालयमा आयोजित कार्यक्रममा कानुनी साक्षरता, बालअधिकार, लैङ्गिक हिंसा नियन्त्रण, बालबालिकाको उत्तरदायित्व तथा न्याय प्रणाली सम्बन्धी जानकारी दिइएको थियो । 

बालकालिका र समुदायमा कानुनी सचेतना वृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको न्यायिक समितिका संयोजक एवं गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारीले बताउनुभयो ।

विद्यालय र समुदायमा कानुनी साथै न्यायिक सचेतना विस्तार गरी अन्याय र गैरकानुनी क्रियाकलाप न्युनीकरण गर्ने उद्देश्यले कक्षा ८ देखी १० सम्मका बालबालिका र शिक्षकहरूलाई न्यायिक सचेतना कार्यक्रम सञ्चालन गरिएको उपाध्यक्ष अधिकारीको भनाइ छ । 

बाँकी रहेका विद्यालयहरूमा आगामी दिन कार्यक्रम सञ्चालन गरिने उपाध्यक्ष अधिकारीले जानकारी दिनुभयो । कार्यक्रममा सहभागी शिक्षक तथा अभिभावकले यस्तो खालको कार्यक्रमले विद्यार्थीमा कानुनी चेतना बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । 

विशेषगरी किशोर–किशोरीहरूलाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रममा बालमैत्री विद्यालयको अवधारणा, बालअधिकार संरक्षण तथा विद्यार्थीले कानुनी प्रक्रिया कसरी बुझ्ने भन्ने विषयमा जानकारी दिइएको थियो । 

समुदायमा हुने बाल विवाह लगायत गैरकानुनी गतिविधी रोक्न बालबालिका अग्रसर हुने बताएका छन् । कानुन व्यवसायी अधिवक्ता टेकनाथ सापकोटा र पत्रकार एसबी जेरोले विद्यालयहरूमा पुगेर प्रशिक्षण दिनुभएको थियो । 

आगामी दिनमा अन्य वडाका समुदाय स्तरमा पनि यस्ता सचेतनामूलक कार्यक्रम विस्तार गर्ने सुनकोशी गाउँपालिकाले जनाएको छ ।