• २५ जेठ २०८२, आइतबार

वंशीय सत्ताको पक्षमा एमाले छैनः नेता पोखरेल

blog

कार्यक्रममा नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित नेताहरु ।

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ २४ गते । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पछिल्लो समय एमाले पार्टीप्रति भ्रम छर्ने कोशिस भइरहेको बताउनुभएको छ । 

नेकपा (एमाले) ओखलढुंगा–लिखु सम्पर्क मञ्चको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै पोखरेलले एमाले पार्टी देश र जनताप्रति सधै उत्तरदायी रहेको बताउनुभयो । उहाँले एमालेले तीनवटा विषय कहिल्यै नगर्ने बताउनुभयो । उहाँले एमालेले जन्मसिद्ध नागरिकलाई कहिल्यै पनि शासन चलाउने अधिकार नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

उहाँले दोस्रोमा एमाले वंशको परम्पराको आधारमा शासन चलाउने पक्षमा नरहेको स्पष्ट पार्नुभयो । वंशलाई आधार मानेर शासन चलाउन दिने पक्षमा एमाले कहिल्यै नरहेको र अब पनि नरहने स्पष्ट पार्दै पोखरेलले पूर्वराजा पक्षको सपना पूरा नहुने बताउनुभयो । एमाले नेता पोखरेलले एमाले पार्टी कहिल्यै पनि अनिर्वाचित सत्ताको पक्षमा नरहेको बताउनुभयो । 

उहाँले राजाको पालामा र अहिलेको तुलना गर्दा देशमा तीब्र विकास भइरहेको भन्दै एमाले अनिर्वाचित सत्ताको पक्षमा नरहेको बताउनुभयो । राजाको पालामा विकास नभएको भन्दै अहिले प्रतिव्यक्ति आय बढेको बताउनुभयो । नेता पोखरेलले नेपाली काँग्रेससँग राणाविरोध आन्दोलनदेखि एमालेले सहकार्य गर्दैआएको बताउनुभयो । 

उहाँले २०१७ साल, २०३६ साल, २०६२–६३ सालमा पनि नेपाली काँग्रेससँग मिलेर आन्दोलन गरेको चर्चा गर्नुभयो । एमालेले रास्ट्रियता, स्वाधिनता केन्द्रीत भएको कारणले एमालेमाथि प्रहार भएको बताउनुभयो । उहाँले एमाले नहुने हो भने रजगज गर्छौ भन्ने शक्ति एमाले विरुद्धमा लागेको बताउनुभयो । 

एमालेले सामाजिक सद्भाव चाहेको बताउनुभयो । नेपाल कुनै एक जातिको बहुमत नभएको देश हो भन्दै पछिल्लो समय जातजातिबिच लडाउने प्रयास भइरहेको आरोप लगाउनुभयो । उहाँले नेपाल भौगोलिक जाति जातीको बिचमा लडाइँ लडाउने शक्ति लागिपरेको उल्लेख गर्दै कोशी प्रदेशमा पनि तिनै शक्तिले आन्दोलन गरेको बताउनुभयो । 

उहाँले सविधान जारी गर्दा भारतले हस्तक्षेप गर्न खोजको भन्दै त्यो बेला एमाले कडा रुपमा प्रस्तुत भएको बताउनुभयो । उहाँले नेपालमा युरोपमा भएजस्तो परिवर्तन हुन नसकेको भन्दै नेपालको परिवर्तन रुस, चीनमा भएजस्तो परिवर्तन सम्भव नभएको बताउनुभयो । 

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य यज्ञराज सुनुवारले एमालेले आगामी निर्वाचनमा एकल बहुमत ल्याउनेगरी तयारी थाल्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।