• २४ जेठ २०८२, शनिबार

परिवार व्यवस्थापन अभ्यास

blog

भ्रूण मनुष्यको आदिम अवस्था हो । जन्मन पाउनु यसको नैसर्गिक अधिकार हो । पृथ्वीको काखमा खेल्न पाउनु, रमाउन पाउनु र पृथ्वीका साधन स्रोतहरू उपभोग गर्न पाउनु यसको पूर्ण हक अधिकार छ । भू्रणले पृथ्वीमा आउन आमासँग भन्छ ‘मेरो प्राण हरण नगर ।’ 

हिन्दुहरूको गर्भ उपनिषद्मा उल्लेख भएका मन्त्र चिन्तन, मनन गर्न लायक छन् । यो करिब १४१६ विसीमा लेखिएको हो, भनिएको छ । यसमा पहिलो दिनको भ्रूणलाई कलाद भनिन्छ । यसमा भ्रूणको विकास प्रक्रिया आधुनिक भ्रूणविज्ञानसँग मेल खान्छन्, केवल अङ्ग बन्ने प्रक्रिया केही फरक छन् ।

ग्रिक दार्शनिक हिपोक्रेट्स (पाँचौँ शताब्दी विसी) र चौथो शताब्दी विसीमा एरिस्टोटलले पनि भ्रूणको गहिरो अध्ययन गरेका छन् । मनुष्यको पूर्ण रूप मानेका छन् । गेलेनले दोस्रो शताब्दीमा एउटा किताब ‘भ्रूणको बनावट’ लेखेर भ्रूणको विकास र पोषणको व्याख्या गरेका छन् ।

मध्यकालीन युग विज्ञान विकासको गति धिमे भयो । सातौँ शताब्दीमा मुस्लिमहरूको पवित्र ग्रन्थ कुरानले पनि पुरुषको शुक्रकिट र स्त्रीको अन्डा मिलेर न्युफ्रा बन्छ र छैटौँ दिनमा गर्भ गृहमा प्रवेश गर्छ भनेको छ । रगत चुस्ने जुका जस्तो गर्भ रहेको दुई हप्तामा बन्छ भनेको छ । कुरानले पनि भ्रूणलाई मनुष्यको आदिम अवस्था मानेको छ । एघारौँ शताब्दीका अफ्रिकी नक्षेत्रविज्ञहरूले नक्षत्र विज्ञानकै आधार अनुसार भ्रूणको विकास हुने बताएका छन् । लियो नार्दो डा भिन्चीले पन्ध्रौँ शताब्दीमा भ्रूणको सही मूर्ति बनाएका थिए ।

हार्भेले सन् १६५१ मा सिम्पल माइक्रोस्कोपले कुखुराको भ्रूणको रक्तसञ्चार बारेमा अध्ययन गरे । विभिन्न समयमा विभिन्न व्यक्तिले अध्ययन गरे पनि भ्रूणशास्त्रको विकास सन् १८३९ मा सेल्दन र स्वानले कोषिका सिद्धान्तको प्रतिपादन गरेपछि भ्रूणशास्त्रको वैज्ञानिक मान्यता पाएको बताइन्छ । यो सिद्धान्त प्रतिपादनपछि भ्रूण एउटा कोष अन्डा शुक्रकिटसँग मिलेर निशेचन भएपछि जाइगोट बन्छ । विलियम हिजले ह्युमन टिस्युको अध्ययन गरे । हान्स स्पेमेनन्ले सन् १९३५ मा कसरी एउटा टिस्युले अर्काको भाग्य निर्माण गर्छ भन्नेमा नोवेल पुरस्कार प्राप्त गरे ।

इडवार्डस र स्टेप्टोले सन् १९७८ मा टेस्टट्युब बेबी इन भिट्रो फर्टिलाइजेसन टेक्निकको अग्रगामी बने । भ्रूणको विकासमा ठुलो सहयोग गरे । वंशजको सिद्धान्तको विकास अस्ट्रियन मेन्डेल मङ्कले १८६५ मा नै गरेका थिए । प्रजनन प्रक्रियामा फ्लेमिङले क्रोमोजोमको भूमिका हुने कुरा १८७८ बताएका थिए । क्रोमोजोमको महत्वपूर्ण अवलोकन भोन विनीवार्टरले सन् १९१२ मा गरेका थिए । पेन्टरले ४८ क्रोमोजोम भ्रूणमा संलग्न हुन्छन् भनेर सन् १९२३ मा बताएका थिए । टिजियो र लेभानले ४६ क्रोमोजोमले भ्रूण बन्ने प्रक्रिया बताएपछि सन् १९५६ देखि आजसम्म आमाका २३, बावुका २३ गरी ४६ क्रोमोजोमले भ्रूण बन्ने प्रक्रिया मानिँदै आएको छ ।

वर्तमान समयमा आणविक जीव विज्ञान र अनेकन विज्ञानका सिद्धान्तको विकासले जीवको भ्रूण बन्नेमा डिएनएले प्रमुख भूमिका खेलको हुन्छ । डिएनए जेम्स वाटसन, फ्रान्सिस क्रिक र मौरिस विल्किन्सले पत्ता लगाएर सन् १९६२ मा नोवेल पुरस्कार प्राप्त गरेका हुन् । डिएनएको आविष्कारले जीवविज्ञानको र मानव शरीर रचना विज्ञानको विशाल ढोका खोलेको छ । डिएनए यो धर्तीमा सायद ३.५ अरब वर्ष पहिले देखिएको मानिएको छ । मानव शरीरमा हुने सिकल सेल, सेल वातावरणबाट पस्ने दूषित पदार्थ, सेल सेलमा हुने सूचना आदि वंशजका पदार्थ, वंशजका सुकर्म, कुकर्म र कस्तो वंशज उत्पादन गर्ने भन्ने सब  डिएनएले निर्धारण गर्छ । यसमा नाइट्रोजन वेस भएका एडिनिन, ग्युनाइन, थाइमिन र सिस्टोसिनको मुख्य भूमिका हुन्छ । सुगर, फोस्फेट, कार्बोहाइड्रेट, अक्सिजन मिलेर  डिएनएबनेको हुन्छ । यो अणुले शरीरलाई आवश्यक पर्ने प्रोटिन निम्न सङ्केतबमोजिम तयार गर्छ । 

मानव जीवनका गोप्यता भङ्ग गर्न  डिएनएसफल भएको छ । मानव  डिएनए चिम्पान्जीको  डिएनएसँग ९९ प्रतिशत मिल्छ । डिएनएको अध्ययनले कसैको वंशजमा तीन चार पुस्ता अगाडि महा अनिकाल भोगेका छन् भने आजको पुस्ताले पनि त्यो दुःखद अवस्थाको अनुभव गर्छ भन्ने बताइएको छ । मानिसको  डिएनएले विशाल सूचनाको भण्डारण गर्न सक्छ ।  डिएनएको जन्मदेखि मृत्युसम्म विशेष भूमिका रहन्छ । हिन्दु सनातन धर्ममा गर्भको पूजनको व्यवस्थापन थियो । आज पनि केही अंशमा मानिँदै आएको छ ।

वैदिककालदेखि गर्भाधान संस्कार महत्वपूर्ण मानिन्छ । सन्तानोत्पत्ति व्यक्तिगत मान्ने परम्परा थिएन । गर्भिणी महिलालाई सबैले आदर सम्मानका साथ हेर्ने चलन थियो । सुसंस्कारी बच्चा जन्माउन आमाबाबु नै संस्कारी बन्नु पर्छ । बच्चा जन्माउनभन्दा पहिला शास्त्रीय प्रशिक्षण दिने चलन पनि थियो । सोह्र संस्कारमध्ये गर्भाधान संस्कार पनि एक विशेष महत्वपूर्ण मानिन्छ । यसलाई पुंसवन संस्कार पनि भनिन्छ । प्रजनन वैयक्तिक मनोरञ्जन होइन यो एक महत्वपूर्ण सामाजिक उत्तरदायित्व हो । गर्भको सुनिश्चितता तीन महिनालाई मानिन्थ्यो । यसको पूजाको व्यवस्थालाई यही समयमा नै गरिन्थ्यो । तीन महिनामा बच्चाका पूरै अङ्गहरू बनेर केवल विकसित हुँदै जाने अवस्था ठानिन्थ्यो । गर्भको शिशु माता–पिता, कुल कुटुम्ब तथा समाजको भार होइन गौरव तथा सौभाग्यको द्योतक बनोस् भन्ने हो । 

गर्भको माध्यमबाट यो धर्तीमा प्रकट हुने जीवलाई भगवान्को प्रतिनिधि मानिन्थ्यो । गर्भको पूजन गर्भिणी र उनका पतिले मिलेर गर्नु पर्छ । परिवारका सदस्य, कुल कुटुम्बले पनि आशीर्वचन दिने चलन छ । दहीचिउरा खान दिने चलन आज पनि छ । आयुर्वेदमा गर्भिणीलाई विभिन्न जडीबुटी खुवाउने चलन छ । वर, पिपल, गिलोयका रस विशेष मान्यताका साथ सुघाउने चलन छ । वृक्ष देवताका प्रतीक हुन् । वरको रुख दृढता, पिपल देवयोनी, गिलोयको रुख उन्नतिको प्रतीक मानिन्छ । गर्भको सुरक्षाको निमित्त आधुनिक चिकित्सा विज्ञानले पनि विशेष स्वास्थ्योपचारको व्यवस्था गरेको छ ।

गर्भको पूजनको विधिविधानको बारेमा जान्न चाहेमा यजुर्वेद र आश्वलायन गृहसूत्रमा हेर्न सकिन्छ । सुसंस्कृत सन्तान जन्माउन गर्भिणी महिला निम्नानुसारको साधनामा रहनु पर्छ । सुसंस्कृत सन्तान जन्माउन आमा नै ज्यादा होसियार हुनु पर्छ । गर्भस्थ शिशुको समुचित विकासको निमित्त आमा नै मुख्य मानिन्छ । भ्रूणले सबै चाहिने पोषण पदार्थ आमाबाट नै लिन्छ । आमाबुबा सुसंस्कारित भएमा बच्चा अवश्य सुसंस्कारित हुन्छ । प्रजनन विज्ञान आध्यात्मिक विज्ञानसँग धेरै मिल्दोजुल्दो छ । सन्तान केवल वैयक्तिक मनोरञ्जनले मात्र जन्माउने हैन, भगवान्सँग प्रार्थना गर्दै आफ्नो उद्देश्य पूरा गर्ने सन्तान जन्माउने मनोभाव राख्नु पर्छ । सन्तान जन्माउन निम्नबमोजिम ख्याल राख्नु पर्छ :

१. गर्भाधान कर्म दुवै पतिपत्नी स्वस्थ हुँदा मात्र गर्ने ।

२. गाँजा, चुरोट, लागुपदार्थ, रक्सी आदि सेवन गरेको अवस्थामा गर्भाधान कर्म नगर्ने ।

३. तन र मन पवित्र अवस्थामा पतिपत्नीका बिचमा अनेक प्रेमका वार्तालाप तथा प्रेम, सद्व्यवहार, असल चिन्तनका साथ सम्भोग गर्नु पर्छ ।

४. गर्भिणी अवस्थामा हिंसा, चोरी, ईष्र्या, डाहा गर्नु हुँदैन । मनुष्यले गरेको सद्कर्म तथा असत् कर्मको रिकर्डिङ  डिएनएमा भएको हुन्छ र सन्तान दरसन्तानमा रूपान्तरित हुन्छ ।

५. पति तथा परिवारका सदस्यहरूले गर्भिणीको पूरा हेरचाहमा लाग्नु पर्छ ।

६. दूषित सोचाइ राखेमा गर्भवतीले मेन्टल रिटार्डेसन, अटिज्म सिजोफ्रेनिया भएको सन्तान जन्मन सक्ने कुरा पनि आधुनिक चिकित्सकले बताएका छन् ।

७. पति पत्नीले असल सन्तान जन्मोस् भनेर भगवान्को प्रार्थनाका साथै पोषणयुक्त भोजन, सबैसँग सद्व्यवहार गर्न भुल्न हुन्न ।

८. पति पत्नीबिच झै झगडा रिसराग, द्वेष, घृणा, कलह, कुटपिट, प्रतिशोधको भावना कहिल्यै पनि हुनुहुन्न ।

९. प्रेम सम्बन्धले यौनकर्म गर्नेहरूले पनि प्रेम गर्दा गरेका पवित्र प्रतिज्ञा कदापि भुल्न हुन्न ।

१०. कुलत, कुसङ्गत, कुविचार, कुखाद्य गर्भिणीका निमित्त त्यज्य छन् ।

११. गर्भिणी अवस्थामा हाइडोज रेडियसनमा एक्सपोज हुन हुन्न ।

निल्सनले प्रकाशित गरेको प्रतिवेदन अनुसार भारतीय महिला सतासी प्रतिशत धेरै समयसम्म तनावमा छन् । अमेरिकी महिला त्रिपन्न प्रतिशत ज्यादा कामको भार बोकेका छन् । दक्षिण कोरियामा सत्तरी प्रतिशत महिला एकाङ्कीपनको सिकार छन् । 

अमेरिकामा ३९ प्रतिशत महिला अकेलापनको सिकार छन् । जापानमा त एकाङ्कीपनको मन्त्रालय नै खडा छ । आजको दु्रतस्तरको भौतिक विकासले मानिसहरू भोगविलासमा लागेका छन् । आफ्नो हैसियत तथा शारीरिक क्षमता बिर्सेका छन् । 

सुसंस्कृत, स्वावलम्बी, समाजनिष्ठ असल बच्चा जन्माउन महिलाको शोषण, हिंसा गर्न हुन्न । भारत, नेपाल पवित्र भूमि मानिए पनि हामी बच्चाबच्ची हुर्काउँदा पढाउँदा विभेद गर्छौं । पेटमा कन्या भएको थाहा पाए भू्रणहत्या गर्छौं । दिदीबहिनीहरूलाई छेडछाड गर्छौं । बलत्कार गर्छौं । विवाहमा चाहे अनुसारको दाइजो नपाएमा अनेक ताडना दिएर महिलाको हत्या गर्छौं । 

पङ्क्तिकारले भारतको दिल्ली विश्वविद्यालय (सन् १९८४/१९८५) विद्यावारिधि गर्दा सफ्तरजङ्घ अस्पतालको वर्न (जलन) वार्डमा एक सय जलेका बिरामीमा नब्बे महिला बिरामी दाइजोका कारण श्रीमान्, घरका परिवार या आफैँ ताडना सहन नसकेर जलेका हुन्थे । करिब साठी प्रतिशत मर्दथे । सुसंस्कारी बच्चा जन्माउन महिला स्वच्छ विचारिणी तथा स्वस्थ हुन जरुरी छ ।

आकाशको बात र गर्भको बात जन्न सकिन्न भन्ने हाम्रो परम्परा छ । गर्भसम्बन्धी रहस्य निम्नानसार बुझौँ । जब बच्चा भर्गमा वास लिन्छ, त्यसै दिनमा उचाइ, स्वभाव, मनोभाव र समस्त जीवन एउटै सेलमा रहेको हुन्छ । गर्भिणी हुँदा राम्रो हेरविचार पु¥याएको छ, रक्सी, चुरोट, ड्रग्स र धेरै दुध पिएको छैन भने बच्चा सकुशल जन्मन्छ । अब उसलाई १८ वर्ष नपुग्दासम्म राम्रोसँग हेरविचार र राम्रो स्वस्थ खाना खुवाइएन भने ऊ कहिल्यै पनि पूर्ण क्षमतावान् मनुष्य हुन सक्दैन । यो सानो बालकको आफ्नै प्रणाली छ । बुझौँ यहाँ सबैको आफ्नै महत्वपूर्ण समय छ । 

गर्भ सम्बन्धमा केही अचम्मका घटना 

रसियाली हेलनटिना मोसलइभाले १८ औँ शताब्दीमा १६ जुम्ल्याहा, सात तिम्ल्याहा, चार चौल्याहा गरी ६९ बच्चा जन्माएकी थिइन् । प्रसूति व्यथा ७५ दिनसम्म लागेर दिन नपुगेको अस्वस्थ बच्चा जन्माउने पोल्यान्डकी महिला हुन् । सबैभन्दा कम उमेरमा बच्चा जन्माउने पेरुभिएन महिला हुन् । उनले पाँच वर्ष सात महिना २१ दिनमा जन्माएकी हुन् । सबैभन्दा बढी उमेरमा बच्चा जन्माउने महिलाको नाउँ इरामति मान्गामाले जुम्ल्याहा छोरी ७३ वर्षको उमेरमा जन्माइन् । उनीले भारत हैदरावाद सन् २०१९ मा इनभिट्रो फर्टिलाइजेसन प्रविधिबाट जन्माएकी हुन् । 

एकैचोटि नौ बच्चाकी आमा हलिमा सिसे माली देशकी हुन् । संसारमा एउटी महिलाले एकै पटक नौ बच्चा जन्माएको रिकर्ड छ । बच्चा १३ महिनासम्म पेटमा रहेको पनि रिकर्ड छ ।

परिवार नियोजनमा परिवारको सङ्ख्या, उनीहरूको उचित पालन पोषण, शिक्षादीक्षा, व्यवसाय, जीवनस्तर आदिको ख्याल गरिएको हुन्छ । भू्रणहत्यामा हुन्न । भ्रूण हत्यामा सबभन्दा ठुलो खतरा असल मनुष्य भू्रणहत्यामा पर्ने, खराब जन्मने र आजीजन परिवारको तथा राष्ट्रको बोझ बन्ने पनि हुन सक्छ । पहिलो, दास्रो बच्चाले तेस्रो बच्चा हत्यामा परेको अवश्य थाहा पाउँछन् । त्यो परिवारमा शान्ति कहिल्यै हुन्न । काम ऊर्जाको सही परिचय, त्यसको सिर्जनशीलता र त्यसको शिक्षाको व्यवस्था गरिनु पर्छ । अणु ऊर्जाभन्दा पनि शक्तिशाली काम ऊर्जाको जथाभावी क्षरण गर्न हुन्न भन्छन् राष्ट्रकवि माधवप्रसाद घिमिरे । 

सन्तानले डाँडाकाँडा ढाकुन् भन्ने देशमा भ्रूणहत्या पनपनु पश्चिमा सभ्यताको जालमा फस्नु हो । कन्या पूजा गर्ने देशले कन्यालाई नै मार्नु जघन्य अपराध हो । भ्रूणहत्या हत्या नै हो, सबै शास्त्रहरूले निषिद्ध गरेका छन् । विद्वान्हरूले पनि भ्रूणहत्या हत्या नै मानेका छन् । भू्रणहत्या नगरौँ ।