भवानीदत्त भट्ट
कञ्चनपुर, पुस १३ गते । कञ्चनपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा दिनेश मल्ल निर्विरोध निर्वाचित हुनुभएको छ । यस अघि वरिष्ठ उपाध्यक्षसमेत रहेका मल्ल अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो ।
उद्योग वाणिज्य सङ्घ कञ्चनपुरको यही पुस १९ गते तोकिएको निर्वाचनमा अध्यक्ष पदमा मल्लको मात्रै उम्मेदवारी दर्ता भएसँगै उहाँ निर्विरोधरुपमा अध्यक्षमा चयन हुनुभएको मुख्य निर्वाचन अधिकृत पूर्णबहादुर चन्दले बताउनुभयो । यसअघि युवा व्यवसायी मल्ल सङ्घको १४ र १५ औँ कार्य समितिमा दुई पटक सदस्य पदमा पनि निर्विरोध निर्वाचित हुनुभएको थियो । उहाँ १७ औँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष र १८ औँ कार्यसमितिको निर्वाचनमा अध्यक्षमा चयन हुनुभएको हो ।
यसैगरी, सङ्घको १८ औँ नयाँ कार्यसमितिका लागि वरिष्ठ उपाध्यक्षमा दीपेन्द्रप्रकाश साउद, उद्योग उपाध्यक्षमा तेजबहादुर चन्द, वाणिज्य उपाध्यक्ष गणेश चटौत, महासचिव राहुल भट्ट र सचिवमा नरेन्द्रप्रसाद जोशी पनि निर्विरोध निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत चन्दले बताउनुभयो । यसैगरी, सङ्घको संस्थागत सदस्यतर्फ गजेन्द्रविक्रम थापा पनि निर्विरोध चयन हुनुभएको छ ।
हाल कोषाध्यक्षका लागि व्यवसायीहरू, सिद्धराज भट्ट, प्रदीप पाल र मनोज भट्टले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत चन्दले बताउनुभयो । यसैगरी, सात जना सदस्यहरूका लागि १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । व्यवसायीहरूले कोषाध्यक्ष र सदस्यमा पनि सहमतिको प्रयास भइरहेको बताएका छन् । निर्वाचन कार्यक्रम अनुसार पुस ८ गते अन्तिम मतदाता नामावली प्रकाशित गरिएको थियो । सङ्घमा दुई हजार एक सय २१ मतदाता छन् ।