• १३ पुस २०८२, आइतबार

सडक विस्तार प्रभावितलाई सहुलियत ऋण माग

blog

मकवानपुर उद्योग वाणिज्य सङ्घका प्रतिनिधिको टोलीद्वारा गभर्नर डा. विश्वनाथ पौडेललाई मागपत्र बुझाउँदै ।

मकवानपुर समाचारदाता

मकवानपुर, पुस १३ गते । हेटौँडा बजार क्षेत्रमा सडक डिभिजन हेटौँडाले डोजर लगाएपछि प्रभावित भएका घरधनी र व्यवसायीलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउन माग गरिएको छ ।

मकवानपुर उद्योग वाणिज्य सङ्घले नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. विश्वनाथ पौडेलसँग भेटवार्तासहित बैङ्क ब्याजमा सहुलियत र कर्जाको पुनर्तालिकीकरण गर्न माग गरेको हो । सङ्घले सडक डिभिजनले घरलगायतका संरचना भत्काउँदा सयौँ घरधनी र व्यवसायी प्रभावित भएको भन्दै वास्तविक प्रभावितलाई बैङ्क ब्याजमा दुई वर्षसम्मका लागि विशेष सहुलियत र कर्जाको पुनर्तालिकीकरण गरिदिन भनेको छ ।

उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दीपक उप्रेतीले घरधनी र व्यवसायीलाई राहत र सहुलियतको योजना ल्याउन आफूहरूले गरेको मागप्रति राष्ट्र बैङ्कका गभर्नर डा. पौडेल सकारात्मक रहेको जानकारी दिनुभयो । वरिष्ठ उपाध्यक्ष उप्रेतीले ऋणको बोझसहित अनेकौँ अप्ठ्यारो झेल्दै व्यवसाय गरी बसेकाको घर भत्काइएपछि व्यवसायविहीन हुन पुगेको बताउनुभयो । व्यवसायीहरू थप सङ्कटमा धकेलिएको अवस्था रहेको भन्दै प्रभावितको उचित व्यवस्थापन गर्नु राज्यको कर्तव्य भएको बताउनुभयो । 

उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोदसिंह रानाभाटको नेतृत्वमा राष्ट्र बैङ्क पुगेको टोलीले घरटहरालगायतका संरचनामा सडक डिभिजनले डोजर लगाएपछि प्रभावितलाई हेटौँडा उपमहानगरपालिका कार्यालयले सहुलियत दिन निर्णय गरेको थियो । सहुलियतका लागि सरोकारवाला निकायलाई सिफारिस गर्ने निर्णयसहित प्रभावित व्यवसायीको प्रारम्भिक सूचीसमेत गभर्नर पौडेललाई बुझाएका छन् ।

वरिष्ठ उपाध्यक्ष उप्रेतीले गभर्नर पौडेलसँगको भेटमा सडक विस्तारका कारण उद्योग व्यवसाय, घरधनी तथा स्थानीय व्यवसायीमा परेको प्रभाव, आर्थिक स्थायित्व र दीर्घकालीन समाधानका विषयमा गम्भीर छलफल भएको बताउनुभयो । उहाँले सरोकारवाला निकायबिच समन्वय, व्यावहारिक नीति र जनमैत्री निर्णय आवश्यक रहेकोमा आफूहरूले भेटमा जोड दिएको उहाँले जानकारी दिनुभयो । सडक डिभिजन कार्यालय हेटाँैडाले गत मङ्सिर ५ गते १५ दिने सूचना प्रकाशित गरी हेटौँडाको रातोमाटेदेखि सामरीपुल र बुद्ध चोक हुँदै राप्ती पुलसम्म करिब नौ किमी सडकखण्डको दायाँबायाँ २५/२५ गजभित्र सडकको क्षेत्रमा रहेका घर भत्काउन सूचना प्रकाशित गरेको थियो । समयमा घर नभत्काएपछि लालपुर्जा भएका स्थायी बासिन्दाको संरचनामा मङ्सिर २० गते डोजर चलाइएको थियो ।