बाबुराम कार्की
वराहक्षेत्र, पुस १३ गते । कोशीटप्पु वन्यजन्तु आरक्षमा रहेका पोथी गैँडा पुष्पा र अञ्जलीका लागि भाले गैँडा छिट्टै पठाइने भएको छ । दुई वर्षअघि चितवनबाट कोशीटप्पु वन्यजन्तु आरक्षको पथरी सेक्टरमा ल्याइएका पुष्पा र अञ्जलीले यसै आर्थिक वर्षभित्र भालेसँग सहवास पाउने भएका हुन् ।
कोशीटप्पु वन्यजन्तु आरक्षको वातावरणमा रमाइरहेका पोथी गैँडा पुष्पा र अञ्जलीबाट वंश विस्तार गर्न भाले गैँडा ल्याउन लागिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका कोशी प्रदेश प्रमुख वीरेन्द्र गौतमले बताउनुभयो । उहाँका अनुसार दुई पोथी गैँडाका लागि आरक्षमै वंश विस्तार गर्न यसै आवभित्र चितवनबाट भाले गैँडा ल्याउन लागिएको छ । भाले गैँडालाई राख्न इन्क्लोजर (खोर) बनाउन थालिएको उहाँले बताउनुभयो ।
विसं २०८० असोज १० गते चितवन राष्ट्रिय निकुञ्जको जैविक विविधता संरक्षण केन्द्रबाट ल्याइएको पुष्पा र अञ्जली आरक्षको वातावरण र हेरचाहमा फस्टाएका छन् । साँढे चार वर्षकी अञ्जली र साँढे पाँच वर्षकी पुष्पा प्रजननका लागि शारीरिक बनावट परिपक्व हुँदै गएपछि भाले गैँडा भिœयाउन लागिएको कोशी टप्पु वन्जन्तु आरक्षका प्रमुख वरिष्ठ संरक्षक अधिकृत भूपेन्द्रप्रसाद यादवले बताउनुभयो । उहाँका अनुसार पाँचदेखि छ वर्ष उमेर पुगेपछि पोथी गैँडा प्रजननका लागि योग्य मानिन्छन् ।
यसअघि चितवनको सौराहाबाट २०८० चैत १० गते एकसिङे गैँडाको वंश विस्तारका लागि भाले गैँडा मेघौलीलाई कोशीटप्पु ल्याइएको थियो । पुष्पा र अञ्जलीसँगै राख्न आरक्षको पथरी पोस्टमा ल्याइएको मेघौली बिरामी भएपछि तीन दिनको कोशीटप्पु बसाइपछि पुनः चितवन फिर्ता गरिएको थियो । पुनः अर्काे भाले गैँडा ल्याउन पथरी पोस्टको इन्क्लोजर विस्तार गर्न लागिएको बताइएको छ । पशु प्राविधिक र पशु डाक्टरको प्रत्यक्ष निगरानीमा आरक्षमा रहेका दुई पोथी गैँडा स्वास्थ्य रहेको आरक्ष कार्यालयले जनाएको छ ।
लोपोन्मुख रूपमा रहेको एकसिङे गैँडाको वंश विस्तार गरी संरक्षणमा सहयोग पु¥याउन आरक्षमा भाले गैँडा ल्याउन लागिएको बताइएको छ । संरक्षित जनावरका रूपमा रहेको गैँडा नेपालमा ७५२ को सङ्ख्यामा रहेको राष्ट्रिय प्राकृतिक संरक्षण कोष कोशीका प्रमुख वीरेन्द्र गौतमले बताउनुभयो । गौतम भन्नुहुन्छ, “कोसीटप्पुमा गैँडा ल्याएदेखि आरक्षको पर्यापर्यटनमा समेत सघाउ पुगेको छ । गैँडा हेर्नकै लागि चितवन पुग्ने पर्यटक आरक्षको पथरी सेक्टर पुग्ने गरेका छन् ।” अर्ना (जङ्गली भैँसी) र चराका लागि प्रख्यात कोशीटप्पुमा दुर्लभ गैँडाको संरक्षण गर्न गैँडाको वंश विस्तारका लागि अनुकूल रहेको छ ।
नेपालको तराई क्षेत्रमा पाइने दुर्लभ र संरक्षित गैँडा चितवन, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने गरेको छ । पर्यापर्यटनका लागि महìवपूर्ण मानिने एकसिङे गैँडाको औसत आयु ४० देखि ७० वर्षसम्म रहने बताइन्छ । पोथी गैँडाले गर्भाधान भएको १८ महिनामा एउटा बच्चा जन्माउने गौतम बताउनुहुन्छ ।