• १३ पुस २०८२, आइतबार

मेलौलीमा इलाका प्रशासन कार्यालय स्थापना हुने

blog

फाइल तस्बिर

केशव राज भट्ट
वाशुलिङ (बैतडी), पुस १३ गते ।
बैतडीको दुर्गम भेगका नागरिकका लागि प्रशासनिक सेवा अझै सहज हुने भएको छ । सरकारले सुदूरपश्चिम प्रदेशका चार जिल्लासहित देशभरका नौ स्थानमा नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयअन्तर्गतको संगठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत गर्दै उक्त निर्णय गरेको हो । सुदूरपश्चिम प्रदेशमा बाजुराको कोल्टी, डोटीको विपीनगर, दार्चुलाको गोकुलेश्वर र बैतडीको मेलौलीमा इलाका प्रशासन कार्यालय स्थापना गरिने सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।

यसैगरी, ताप्लेजुङको श्रीचङ्गा, डोल्पाको धो, मुगुको खत्याग, कालीकोटको रास्कोट र सङ्खुवासभाको हिदाङगढीमा पनि नयाँ इलाका प्रशासन कार्यालय थपिने निर्णय भएको खरेलले बताउनुभयो । नयाँ कार्यालय स्थापना भएपछि नागरिकता, राहदानी, शान्ति सुरक्षा, विपद् व्यवस्थापन लगायतका प्रशासनिक सेवा स्थानीय तहबाटै उपलब्ध हुने र नागरिकलाई अझ सहज हुने  विश्वास सरकारले लिएको छ ।

इलाका प्रशासन स्थापनापछि यहाँका नागरिकलाई ठुलो राहत मिल्ने बैतडीको मेलौलीका स्थानीय समाजसेवी हरिशंकर भट्टले बताउनुभयो । त्यस्तै, अर्का स्थानीय नरेश नायक भन्नुहुन्छ, ‘‘प्रशासनिक भवन निर्माणपछि शान्ति सुरक्षासँगै सरकारी सेवा प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ ।’’

इलाका प्रशासन कार्यालय स्थापना भएपछि राज्यको उपस्थिति बलियो हुने, शान्ति सुरक्षा मजबुत बन्ने र स्थानीय विकास गतिविधिमा सहज हुने विकास र सुरक्षामा टेवा पुग्ने अपेक्षा गरिएको स्थानीय मन्जु पुजाराले बताउनुभयो ।

लामो समयदेखि प्रशासनिक सेवाबाट टाढा रहेका नागरिकका लागि सरकारको यो निर्णयलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको  स्थानीय  बासिन्दा कृष्णबहादुर नायकले बताउनुभयो  ।