अनिल पराजुली
हेटौँडा, जेठ २४ गते । सुरक्षित प्रसूतिका लागि गाउँमै बर्थिङ सेन्टर सञ्चालनमा आएको छ । मकवानपुरको कैलाश गाउँपालिका–४ ज्यान्द्रुङमा शनिबारएक कार्यक्रमबिच बर्थिङ सेन्टर तथा ओटिसी सेन्टर उद्घाटन गरिएको हो ।
होम डेलिभरीको अन्त्य गर्न वडा वडामा स्वास्थ्य चौकी सहित बर्थिङ सेन्टर सञ्चालन गर्ने हेतुले ज्यान्द्रुङमा बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको कैलाश गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बताउनुभयो ।
बर्थिङ सेन्टरसँगै कडा कुपोषण बच्चाहरू उपचारका लागि ओटिसी सेन्टर पनि सञ्चालनमा ल्याइएको छ । जग्गा अभावका कारण बर्थिङ सेन्टर निर्माणमा ढिलाइ भएको थियो ।
स्थानीय कर्णबहादुर थिङले तीन रोपनी जग्गा दान गरेपछि तेह्र लाख लगानीमा बर्थिङ सेन्टर निर्माण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण यादवले बताउनुभयो । उक्त बर्थिङ सेन्टरमा गोपेघारी, देउतीस, धुस्राङ, देउराली, लिच्चे क्षेत्रका स्थानीयहरूले सेवा लिन सक्ने प्रमुख यादवले भनाइ छ ।
बर्थिङ सेन्टरको उद्घाटन गर्नुहुँदै मुक्तानले आमा र बच्चाको स्वास्थ्यका लागि र होम डेलिभरीको अन्त्यका लागि सेन्टर सञ्चालन गरिएको बताउनुभयो । आगामी वर्ष देखी कैलाशका सबै वडामा बर्थिङ सेन्टर रहने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
गर्भवती आमा र बच्चाको स्वास्थ्य अवस्था ठिक राख्न र सुत्केरी हुने बेला स्वास्थ्यकर्मीहरूकै हेरचाह र उपचार गर्दा विभिन्न जोखिमबाट बच्न र बचाउन सकिने भएकाले बर्थिङ सेन्टरबाट सेवा लिन सबैलाई अध्यक्ष मुक्तानले आग्रह गर्नुभयो ।
‘प्रत्येक वडामा आमा सुरक्षा कार्यक्रम र पोषण कार्यक्रम भइरहेको छ, यहाँका नागरिकले स्वास्थ्य परीक्षण समयमै पाइरहेको अवस्थामा यस बर्थिङ सेन्टरले थप टेवा पुग्ने छ,’ उहाँले भन्नुभयो ।
भौगोलिक विकटताका कारण होम डेलिभरीको सङ्ख्या बढ्न गइरहेको बताउँदै त्यसको अन्त्यको लागि स्वास्थ्य स्वयंसेविकाको ठुलो भूमिका रहेको रहेको उहाँले बताउनुभयो । गर्भवती महिलाहरूले स्वास्थ्य संस्थाबाटै कम्तीमा आठ पटक गर्भ जाँच गर्न उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले बर्थिङ सेन्टरबाट सेवा लिन आग्रह गर्नुभयो । घरमा सुत्केरी गराउनु भन्दा स्वास्थ्यका हिसाबले सेन्टरमै आएर सुत्केरी गराउँदा आमा र बच्चाको स्वास्थ्य राम्रो हुने बताउनुभयो ।
गाउँपालिकाले सुत्केरीहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको छ, विभिन्न सूचकलाई पुरा गर्दै स्वास्थ्य क्षेत्रमा आवश्यक काम गरिरहेको उहाँले बताउनुभयो ।
४ नं. वडाध्यक्ष तिलकबहादुर मुक्तानले डोकोमा घण्टौँ समय हिँड्ने दिन गएको स्मरण गर्दै अब गाउँघरमै सुत्केरी र बच्चाको सरल र सहज ढङ्गले हेरचार र उपचार हुनेमा विश्वास व्यक्त गर्नुभयो । बर्थिङ सेन्टरमा स्वास्थ्यकर्मी २४ घण्टै रहने बताउँदै सल्लाह सुझाव अनुरूप सेवा लिन सबै गर्भवती आमाहरूलाई आग्रह गर्नुभयो ।