सुपादेउरालीमा तीर्थालुको भिड
धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित सुपादेउराली मन्दिरमा दर्शन तथा घुमफिरका लागि आउने तीर्थालुको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ । मन्दिरमा बिहानदेखि साँझसम्म भक्तजनको घुइँचो लाग्ने गरेको छ । मन्दिर व्यवस्थापन समितिका अनुसार वैशाखमा मात्रै दुई लाखभन्दा बढी भक्तजनले दर्शन गरेका छन् ।
तेस्रो पटक म्याद थप्दा पनि अस्पताल भवन अधुरै
निर्धारित समयभन्दा दुई वर्ष नाघिसक्दा पनि जिल्ला अस्पताल दैलेखको नयाँ भवन निर्माण सम्पन्न हुन सकेको छैन । पटक पटक म्याद थप्दा पनि निर्माणले गति लिन नसकेपछि अस्पताल भवन अझै अधुरै बनेको छ ।
जाजरकोटमा सतहत्तर करोड लगानी
जाजरकोटमा साझेदार निकायले ७७ करोड रुपियाँभन्दा बढी बजेट लगानी गर्ने भएका छन् । सात वटा स्थानीय तहमा दातृ निकायले क्षमता विकास, विकासनिर्माणलगायत क्षेत्रमा वार्षिक लगानी गरेका हुन् । जिल्ला समन्वय समितिले आयोजना गरेको गैरसरकारी संस्था तथा विकास साझेदार निकायको समीक्षा कार्यक्रममा साझेदार निकायले ७७ करोड ८९ लाख ६७ हजार रुपियाँ चालु आर्थिक वर्षमा लगानी गरिने जनाएका हुन् ।
गण्डकीमा राइड सेयरिङसम्बन्धी नयाँ कार्यविधि
गण्डकी प्रदेश सरकारले लामो समयपछि राइड सेयरिङ कार्यविधि नियमावली जारी गरेको छ । यसअघि २०८२ जेठ १ गते राइड सेयरिङ नियमावली प्रदेश राजपत्रमा प्रकाशित भएपछि त्यसको विरोधमा देशभर आन्दोलन भएको थियो । सङ्घीय सरकारको अङ्कुशले पछि हटेको प्रदेश सरकारले केही नयाँ व्यवस्था थपेर नियमावली पारित गरेको हो ।
भेटीबाट चल्ने गुरुकुलको नतिजा उत्कृष्ट
भक्तजनको दान र भेटीबाट सञ्चालित तनहुँका गुरुकुल यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा अब्बल देखिएका छन् । धार्मिक र आध्यात्मिक वातावरणमा अध्ययन हुने देवघाट गाउँपालिकाका चार वटा गुरुकुलले सामुदायिक विद्यालयलाई समेत उत्साहजनक रूपमा पछि पार्दै शतप्रतिशत नतिजा हासिल गरेका हुन् ।
दार्चुला–तिङ्कर सडक : न्यून बजेटप्रति स्थानीय चिन्तित
दार्चुलास्थित नेपाली सेनाले निर्माण गरिरहेको तुसारपानी–कोठेधार–तिङ्कर सडक योजनामा सरकारले न्यून बजेट विनियोजन गर्न लागेको विषय बाहिर आएपछि यहाँका स्थानीय चिन्तित भएका छन् ।
कार्यालय छन्, छैन सेवा
बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका–२ कोल्टीमा भूमि प्रशासन कार्यालय स्थापना गरेको करिब एक महिना भए पनि यहाँका नागरिकले अझै सेवा भने पाउन सकेका छैनन् । हिमाली, स्वामीकार्तिक खापर, जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिकाका स्थानीयलाई जग्गाको कारोबार गर्न सहज बनाउन वैशाख १ गते कोल्टीमा सो कार्यालय स्थापना गरेको थियो । त्यहाँबाट सेवा नपाउँदा यहाँका नागरिकमा अन्योलता छाएको छ ।
लालीबजार आँसु र अस्तित्वको सङ्घर्ष
लामो समयको विवाद, सामाजिक बहस र कानुनी लडाइँपछि प्रदर्शनमा आएको चलचित्र ‘लालीबजार’ ले नेपाली समाजको एउटा यस्तो पाटोलाई उजागर गर्छ, जसलाई अक्सर समाजले हेर्न र बुझ्न चाहँदैन । निर्देशक यम थापाले बादी समुदायका महिलालाई लिएर बुनिएको भ्रम र सत्यतालाई पर्दामा कलात्मक ढङ्गले प्रस्तुत गर्नुभएको छ । चलचित्र प्रदर्शनपूर्व यसले बादी समुदायको मानमर्दन गर्छ कि भन्ने चिन्ता र विरोध सुनिएको थियो तर चलचित्र हेरिसकेपछि त्यो विवादको कुनै तुक देखिँदैन । निर्देशक थापाले बादी महिलाको कथालाई अपमानजनक ढङ्गले होइन, अत्यन्तै संवेदनशील र सन्देशमूलक रूपमा पस्कनुभएको छ । चलचित्रले बादी समुदायलाई चोट पु¥याउनुको साटो उनीहरूको रहनसहन, बाध्यता र समाजको दोहोरो चरित्रलाई नजिकबाट नियाल्न सघाउँछ ।
फेरि घट्यो ब्याजदर
वाणिज्य बैङ्कले जेठका लागि निक्षेपको ब्याजदर घटाउने क्रमलाई निरन्तरता दिएका छन् । बैङ्कले जेठका लागि नयाँ ब्याजदर सार्वजनिक गर्दै निक्षेपको दर थप घटाएका हुन् । उच्च तरलता र कर्जा प्रवाहको सुस्त आर्थिक अवस्थाका कारण बैङ्कले निरन्तर रूपमा ब्याजदर घटाउँदै आएका छन् ।
जडीबुटी छ, प्रशोधन केन्द्र छैन
जडीबुटीको थलो रहेको कर्णाली प्रदेशमा जडीबुटी प्रशोधन केन्द्र छैन । सङ्घीयता कार्यान्वयन भएको दशक पुग्न लागिसक्दासम्म पनि प्रदेश सरकारले जडीबुटी प्रशोधन केन्द्र निर्माण गर्न सकेको छैन । साझेदारीमा प्रशोधन केन्द्र निर्माण गर्ने योजना बनाइएको भए पनि काम सुरु हुन नसकेको कर्णालीको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।
योगदानकर्ताको स्वस्थ्योपचार सम्झौता
योगदानमा आधारित सामाजिक सुरक्षा कोष र काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थबिच स्वास्थ्य सेवा प्रवाह गर्ने सम्बन्धी सम्झौता भएको छ । सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ता तथा उनीहरूका परिवारलाई सहज र गुणस्तरीय स्वास्थ्यसेवा उपलब्ध गराउने उद्देश्यले बिहीबार कोष र उक्त स्वास्थ्य संस्थाबिच सम्झौता भएको हो ।
चिनी निर्यातमा भारतको प्रतिबन्ध
भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाएको छ तर नेपालमा भने तत्काल त्यसको असर नपर्ने भएको छ । चिनीको स्वदेशी उत्पादन पर्याप्त भएकाले तत्कालका लागि बजारमा चिनीको अभाव नहुने भएको हो ।
माउन्टेन ड्युको बिक्रीमा रोक
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँको पेप्सीकोलास्थित वरुण बेभरेज (नेपाल) प्रालिको ब्याच नं. १६८ को पेयपदार्थ बिक्रीवितरणमा रोक लगाएको छ । विभागको टोलीले आकस्मिक अनुगमनमा उक्त ब्याचको पेयपदार्थमा कैफियत देखिएको आशङ्कामा बिक्रीवितरणमा रोक लगाएको हो ।
पदाधिकारी खुला प्रतिस्पर्धाबाट
सरकारले विद्युत् नियमन आयोगका रिक्त पदाधिकारी खुला प्रतिस्पर्धाबाट चयन गर्ने भएको छ । नयाँ नियुक्तिका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रक्रिया अघि बढाएको छ । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णयमार्फत आयोगका पदाधिकारी छनोट गर्न तीन सदस्यीय सिफारिस समिति गठन गर्नुभएको छ ।
सगरमाथा आरोहणको बाटो तयार
सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो निर्माण सम्पन्न भएको छ । वसन्तयामको सगरमाथा आरोहणका लागि सगरमाथा प्रदूषण नियन्त्रण समिति नाम्चेको आयोजनामा आठ जना आइसफल डाक्टरको टोलीले सगरमाथा आधार शिविरबाट क्याम्प–२ सम्म निर्माण गरेपछि त्यसभन्दा माथि एक्सपिडिसन अपरेटर एसोसिएसन अफ नेपालले चुचुरोसम्मको बाटो तयार गरेको हो ।
कांग्रेस अनुशासन समिति पुनर्गठन
नेपाली कांग्रेसको अनुशासन समिति पुनर्गठन भएको छ । सभापति गगनकुमार थापाले पार्टीका केन्द्रीय सदस्य तारामान गुरुङको एवं संयोजकत्वमा रहेको समितिलाई पुनर्गठन गर्नुभएको हो ।
पूर्वगृहमन्त्री गुरुङका सम्बन्धमा छानबिन समिति गठन
सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ । मन्त्रीपरिषद्को २०८३ वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरेको हो ।
सरकारको नीति तथा कार्यक्रम पारित
प्रमुख प्रतिपक्षसहितका प्रतिपक्षी दलको अवरोध र बहिष्कारबिच प्रतिनिधि सभाले सरकारको वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको छ । प्रस्ताव निर्णयार्थ पेसका क्रममा प्रतिपक्षी दल अनुपस्थित रहेपछि नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो ।
कार्यविभाजनसहित मन्त्रीपरिषद् गठन
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा मन्त्रीको नियुक्ति र कार्यविभाजन गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले बिहीबार विज्ञप्ति जारी गर्दै गत चैत १३ गते गठित मन्त्रीपरिषद्मा प्रधानमन्त्रीले कार्यविभाजन गरी मन्त्रीपरिषद् गठन गर्नुभएको हो । सङ्घीय मन्त्रालयको सङ्ख्या २२ बाट घटाएर १८ वटा कायम गरिएको छ ।
सुशासन र आर्थिक पुनर्संरचना प्राथमिकतामा
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट मुलुकका विद्यमान आर्थिक चुनौतीलाई सम्बोधन गर्दै समुन्नत नेपालको दिगो आधार तयार गर्ने गरी तयार पारिएको बताउनुभएको छ । सङ्घीय संसद्का दुवै सदनबाट नेपाल सरकारको नीति तथा कार्यक्रम पारित भएपछि आगामी आवको बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै उहाँले रोजगारी केन्द्रित आर्थिक वृद्धि, संरचनागत सुधार, डिजिटल रूपान्तरण र सुशासनलाई केन्द्रमा राखिने जनाउनुभयो ।
‘जग्गा पाए टहरा आफैँ बनाउँछु’
काठमाडौँको शङ्खमूलस्थित बागमती नदी किनारबाट विस्थापित गोपाल रिजाल बुद्धपूर्णिमाको दिनदेखि ललितपुरको इमाडोलमा बहिनीको डेरामा आश्रित हुनुहुन्छ । पेसाले सवारीचालक रिजाल एकदिन सरकारी होल्डिङ सेन्टरमा बसेर बहिनीको शरणमा पुग्नुभएको हो । उहाँले नियमित काममा जान टाढा भएकाले इमाडोल आएर बसेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले उपलब्ध गराएको होल्डिङ सेन्टरमा बस्न समस्या छैन तर मलाई काममा आउन–जान टाढा भएकाले यतै आएर अर्को व्यवस्था नभएसम्मका लागि बसेको हुँ ।” काठमाडौँ महानगरपालिका वडा नं. १० मै बस्दै आउनुभएका रिजाल निजी कम्पनीमा सवारीचालकको काम गर्नुहुन्छ । उहाँका अनुसार जागिरमा जानुपर्ने बाध्यता छ । उहाँले सरकारले सुकुमवासीका सन्दर्भमा चाँडै अध्ययन गरेर वास्तविक सुकुमवासीको व्यवस्थापन गरिदिने विश्वास व्यक्त गर्नुभयो ।
छानबिनको दायरामा तिस हजार पदाधिकारी
मुलुकमा बहुदलीय व्यवस्था बहाली भएसँगै सार्वजनिक पदमा आसीन बहालवाला र पूर्वपदाधिकारीको सम्पत्ति छानबिन गर्न गठन भएको सम्पत्ति छानबिन आयोगले कार्यारम्भ गरेसँगै विभिन्न पदमा रहेका ३० हजार जनामाथि छानबिन हुने भएको छ ।
प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित
प्रतिनिधिसभाको आजको दोस्रो बैठकले आगामी आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सर्वसम्मतिले पारित गरेको छ ।
मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार बस्ने मधेश प्रदेश सभाको बैठकमा विश्वासको मत लिनुहुने भएको छ ।