बुटवल समाचारदाता
बुटवल, कात्तिक १७ गते । बुटवलदेखि कपिलवस्तुको गोरुसिङ्गेसम्मको ५० किलोमिटर सडक स्तरोन्नति गर्न सम्झौता भएको एक वर्ष पूरा भएको छ । गत वर्षको कात्तिक ४ गते सडक स्तरोन्नतिका लागि सम्झौता भएको थियो भने माघ १० गते सडकको शिलान्यास गरिएको थियो । बुटवल–गोरुसिङ्गे सडक आयोजना कार्यालय बुटवलले सडक स्तरोन्नतिको सम्झौता भएको एक वर्ष ११ दिनमा १५ प्रतिशत स्तरोन्नतिको काम सम्पन्न भएको र १२ प्रतिशत वित्तीय प्रगति भएको जनाएको छ ।
बुटवल–गोरुसिङ्गे सडक आयोजना कार्यालय बुटवलका प्रमुख कुशलता न्यौपानेले सम्झौता भएको एक वर्षको काम सन्तोषजनक रहेको दाबी गर्नुभयो । आयोजना प्रमुख न्यौपानेले असार र साउनको वर्षाको समय, त्यसपछि जेनजी आन्दोलनको प्रभाव र दसैँतिहार तथा छठका कारण निर्माणको काममा केही ढिलाइ भएको भए पनि अब भने कामले गति लिने बताउनुभयो ।
अहिले सडक क्षेत्रमा दैनिक दुई सय कामदारले काम गरिरहेका छन् । यद्यपि छठमा घर गएका कामदार अझै काममा नफर्किएकाले काममा ढिलाइ भएको छ । आयोजना प्रमुख न्यौपानेले सडक स्तरोन्नतिको काम अन्तर्गत पुल, कलभर्ट, अन्डरपास, नाली र पर्खाल निर्माणको काम भइरहेको बताउनुभयो ।
विसं २०१९ मा बनेको बुटवल–गोरुसिङ्गे ५० किलोमिटर सडकखण्ड ६२ वर्षपछि विस्तारको काम भइरहेको छ । आयोजना प्रमुख न्यौपानेले जनतालाई सास्ती नहोस् भन्ने उद्देश्यले पहिले दुवै छेउको सडक बनाएपछि मात्र बिचको पिच भत्काउन सुझाव आएकाले सोही अनुसार काम भइरहेको बताउनुभयो ।
चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ गु्रप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले उक्त सडक विस्तारका लागि १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपियाँमा गत असार १३ गते ठेक्का लिएको हो ।
आयोजनाका अनुसार ५० किलोमिटर सडक दुई चरणमा २५/२५ किलोमिटर गरी विस्तारको काम भइरहेको छ । यो सडकमा गाडी गुडाउन मिल्ने छ वटा अन्डरपास, पैदलयात्रुका लागि १२ वटा अन्डरपास र ११ वटा ओभरहेड ब्रिज, वन्यजन्तु वारपार गर्ने ठाउँमा १९ वटा अन्डरपास बनाइने आयोजनाको भनाइ छ ।
पहिलो चरणका लागि सात अर्ब ८९ करोड ४३ लाख र दोस्रो चरणका लागि पाँच अर्ब ६६ करोड २२ लाख रुपियाँमा ठेक्का सम्झौता भएको हो । पहिलो चरणमा सडक विस्तारसंँगै ३० वटा पुल निर्माण हुने छन् भने १४९ वटा कलभर्ट पनि निर्माण हुने छ । आयोजनाका अनुसार सडक विस्तारको काम सहरी क्षेत्रमा ५० मिटर, सहरोन्मुख क्षेत्रमा ३७.४ मिटर र जङ्गल क्षेत्रमा २४ मिटर चौडाइ कायम हुने छ । यस्तै ठेक्का सम्झौता भएको मितिले तीन वर्षभित्र निर्माण सक्ने सम्झौता छ । जस अनुसार २०८४ कात्तिक ४ गतेभित्र सबै निर्माणको काम सम्पन्न गर्नुपर्ने छ ।