शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
बोमलाल गिरी
नवलपुर, कात्तिक १७ गते । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा अवरोध जारी रहेको भन्दै नवलपुर प्रहरीले दाउन्नेको वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।
दाउन्नेको १४ किलोमिटरको विभिन्न स्थानमा बाटो चिप्लो, उकालो र गाडी फसेका कारण यातायातमा समस्या भएको भन्दै प्रहरीले सकेसम्म यो मार्ग भएर यात्रा नगर्न र वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको हो ।
दाउन्नेमा विगत पाँच दिनदेखि यातायात असहज भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले बताउनुभयो । यात्रा गर्दा जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय दुम्किबाससँग समन्वय गर्न पनि नेपालले आग्रह गर्नुभएको छ । बाटो असहज हुँदा सवारी साधनको बाक्लो चाप रहेको उहाँको भनाइ छ ।