• १७ कात्तिक २०८२, सोमबार

काम गर्दैनन् लोकमार्ग मर्मत गर्ने ठेकेदार

blog

भुमे गाउँपालिकास्थित मध्यपहाडी लोकमार्गमा आएको पहिरोे हटाइँदै । तस्बिर : जयमान बुढामगर

जयमान बुढामगर

रुकुमपूर्व, कात्तिक १७ गते । रुकुमपूर्व खण्डमा पर्ने राष्ट्रिय गौरवका आयोजना मध्यपहाडी लोकमार्ग र सहिदमार्ग मर्मतसम्भारमा ठेकेदारले बेवास्ता गर्दै आएको छ । रुकुमपूर्व खण्डमा पर्ने मध्यपहाडी लोकमार्ग र सहिदमार्गमा सडक निर्माणका लागि जिम्मा लिएको ठेकेदारले सडक मर्मतसम्भार कार्य बेवास्ता गर्दा यहाँका स्थानीय बासिन्दा पीडित हुन थालेका छन् । 

वर्षायाममा प्रायः दैनिक र हिउँदयाममा पनि बेला बेलामा आउने गरेको पहिरो हटाउन र सडक स्तरोन्नतिमा ठेकेदारले बेवास्ता गर्दै आएको यहाँका गाउँपालिकाले जनाएका छन् । भुमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठले ठेकेदारले सडक स्तरोन्नतिसहित सडक कालोपत्रेका लागि कामको जिम्मा लिने गरेको तर काम नगर्ने 

गरेको जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठले भन्नुभयो, “ठेकेदारले सडक स्तरोन्नति नगर्दा सबैलाई सास्ती भइरहेको छ भने सडक अवरुद्ध हुँदा पूरै मर्मतसम्भार गाउँपालिकाले गर्नु परेको छ ।” 

ठेकेदार र आयोजना कार्यालयलाई सम्पर्क गर्दा सम्पर्कमा नआउने गरेको उहाँको भनाइ छ । अध्यक्ष श्रेष्ठले गाउँपालिकाभित्र पर्ने मध्यपहाडी लोकमार्ग, सहिदमार्ग र प्रादेशिक सडक मर्मतसम्भार गर्दा हरेक वर्ष गाउँपालिकाको ४० लाखदेखि एक करोड रुपियाँसम्मको खर्च हुने गरेको बताउनुभयो । श्रेष्ठले यसले गर्दा गाउँपालिकाले आफ्नो योजनामा बजेटको अभाव खेपिराख्नु परेको बताउनुभयो । त्यसै गरी सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले पनि गाउँपालिकाभित्र पर्ने मध्यपहाडी लोकमार्ग मर्मतसम्भार गर्दा हरेक वर्ष १५ देखि २० लाख रुपियाँ खर्च भइसकेको बताउनुभयो । अध्यक्ष रेग्मीले सङ्घ र प्रदेश सरकारको बेवास्ताका कारण माथिल्लो सरकारको आयोजनामा गाउँपालिकाले सास्ती खेपिराख्नु परेको जानकारी दिनुभयो । माथिल्ला दुई सरकारले काम नगर्ने ठेकेदारलाई कारबाही गर्न नसक्नुकै कारण राष्ट्रिय गौरवका आयोजना अलपत्र परिराखेको रेग्मीको भनाइ छ । 

पुथा उत्तरगङ्गा गाउँपालिकामा पर्ने सहिदमार्ग खण्डमा पनि हरेक वर्ष सडक मर्मत गर्दा ३० देखि ४० लाख रुपियाँ खर्च भइरहेको प्रमुख प्रशासकीय अधिकृत ध्रुव विकले जानकारी दिनुभयो । उहाँले सडकमा काम गर्ने ठेकेदार फिल्डमा नहुँदा अवरुद्ध सडक सुचारु गर्न गाउँपालिकाकै काँधमा आउने गरेको जानकारी दिनुभयो । विकले भन्नुभयो, “स्थानीयलाई समस्या पर्दा अवरुद्ध भएको सडक खोल्छौँ तर पछि महालेखा परीक्षकले तपाईंहरूको क्षेत्राधिकारभित्र पर्दैन, किन मर्मत गर्नुभयो भनेर बेरुजु निकालिदिनुहुन्छ । सङ्घ र प्रदेशको आफ्नो योजनाको बेवास्ताकै कारण गाउँपालिका सारै मर्कामा परिराखेको छ ।” मध्यपहाडी लोकमार्ग र सहिदमार्ग योजना कार्यालयका अधिकारीले पनि ठेकेदारले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको स्विकार्ने गरेका छन्  ।