बबई समाचारदाता
बबई (बर्दिया), कात्तिक १७ गते । बर्दियाको राजापुर नगरपालिकाको घुम्ना गाउँका कृषक हात्तीले धान खान थालेपछि रातभर जाग्राम बस्न बाध्य भएका छन् । नेपाल–भारत सीमा क्षेत्रमा पर्ने घुम्ना गाउँमा भारतको कर्तनिया वन्यजन्तु आरक्षबाट आउने जङ्गली हात्तीले कृषकले लगाएको धानबाली खाइदिन थालेपछि अहिले कृषकहरू रातभरि खेतमा बस्न बाध्य भएका हुन् ।
घुम्ना गाउँ भारतको सीमा क्षेत्रनजिकै पर्दछ । धानबाली पाकेको बेला रातिको समयमा आउने जङ्गली हात्तीले नोक्सान गर्न थालेपछि कृषकले लगाएको अन्नबाली खाइदिने र किचेर नोक्सान गराइदिन थालेपछि कृषक जङ्गली हात्ती धपाउनका लागि रातभरि बस्ने गरेका छन् ।
राजापुर नगरपालिका–४, घुम्नाका बडघर रङ्गीलाल थारूले भारतबाट आउने जङ्गली हात्तीले धानबाली खाइदिन र नोक्सान गर्न थालेपछि आफूहरूले रातिको समयमा हात्ती धपाउनका लागि रातभरि खेतमै बस्न बाध्य हुनु परेको बताउनुभयो ।
धान लगाउने समयमा रासायनिक मलको अभाव झेल्नु परेको कृषकले जसोतसो धान लगाए पनि भित्र्याउने बेलामा पानी परेर क्षति पु¥याएको र पानीले बचेखुचेको धानबाली जङ्गली हात्तीले नोक्सान पार्न थालेपछि किसान पीडित हुन थालेको उहाँको भनाइ छ ।
स्थानीय कृषक सागर परियारले हात्तीको बथान नै खेतमा आउने गरेको बताउनुभयो । उहाँले कहिलेकाहीँ त खेतभरि नै हात्ती मात्र देखिने गरेको बताउनुभयो । जङ्गली हात्ती समूह बनाएर खेतमा पस्ने गरेकाले किसानलाई समस्या भएको बताउनुभयो । राजापुर नगरपालिका–४ का वडाध्यक्ष विदुर पोख्रेलले हात्ती रातिको समयमा घुम्ना र छेदियामा खेतमा आउने र उज्यालो हुने बेला पुनः जङ्गलतर्फ फर्किने गरेको बताउनुभयो ।