असल आमालाई सम्मान
नारायण नगरपालिकाले कुपोषणलाई शून्य अवस्थामा पु¥याउन सहयोग गरेको भन्दै असल आमालाई सम्मान गरेको छ । नगरपालिकाले असल आमा प्रोत्साहनमा तोकिएको मापदण्ड पूरा गरेका १२० असल आमालाई सम्मान गरेको हो । नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख नगेन्द्र हमालका अनुसार असल आमाका लागि २० वर्ष उमेर पुगी विवाह गरेको हुनुपर्ने, चार पटक गर्भजाँच गरेको हुनुपर्ने, स्वास्थ्य संस्थामा सुत्केरी गराइएको हुनुपर्ने, बच्चालाई पूर्ण खोप लगाएको हुनुपर्ने र दुई सन्तानमात्र हुनुपर्ने मापदण्ड तोकेको छ ।
दसगजा क्षेत्रका स्थानीय भन्छन् ‘दुई देशमा भए पनि समाज एउटै छ’
नेपाल–भारत सीमा दसगजा क्षेत्रका स्थानीयले दुई देश भए पनि एउटै समाजमा आफूहरू रहेको बताएका छन् । भगवानपुर गाउँपालिका वडा नम्बर–४, ठाडीका स्थानीय खाना खाएर घरबाट निस्किएपछि भारतको लौकहामा नपुग्दै हात सुक्छ । यस्तै दसगजा पारि भारतका स्थानीय नेपालमा एक गाउँबाट अर्को गाउँ डुले जसरी आउने–जाने क्रम चल्छ । यस क्षेत्रमा बेटी रोटीको सम्बन्ध मात्रै होइन एक आपसमा दुःख सुखमा साथ दिने अभिन्न अङ्ग दसगजा क्षेत्र बनेको ठाडीका शिक्षक डोमी पासवान बताउनुहुन्छ ।
मदन भण्डारी मार्ग सञ्चालनमा
उदयपुरको त्रियुगा नगरपलिका–७, झोलुङ्गेपुल नजिक पहिरो खस्दा मङ्गलबार रातिदेखि अवरुद्ध बनेको मदन भण्डारी राजमार्गमा एकतर्फी रूपमा सवारी आगमन सुचारु भएको छ। अविरल वर्षासँगै सडकभन्दा माथिबाट आएको पहिरोले सो मार्गको गाईघाट–कटारीखण्ड अवरुद्ध भएको थियो ।
दूध तथा मासुजन्य वस्तुमा आत्मनिर्भर हुुने योजना
दोलखाको गौरीशङ्कर गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित विश्वास कार्कीले पालिकालाई तरकारी, दूध तथा मासुजन्य वस्तुमा आत्मनिर्भर हुने गरी काम गर्ने बताउनुभएको छ । किसानको उत्थान हुने आलु, प्याज, लसुन, बेसार, अन्डा र मासुजन्य जस्ता वस्तुमा आत्मनिर्भर तुल्याउने गरी काम गर्ने जानकारी दिँदै उहाँले भन्नुभयो, “प्रोत्साहनस्वरूप किसानलाई उत्पादनको आधारमा पालिकाले अनुदान दिने व्यवस्था मिलाउँछु । खेतीका लागि आवश्यक सिँचाइ, मललगायतमा सहजीकरण गर्दै बजारीकरणको पनि बन्दोबस्त मिलाइनेछ ।”
अक्करे पहिरोले तीन जिल्लालाई सास्ती
अक्करे भीरमा खसेको पहिरोले तीन जिल्लाका यात्रुलाई सास्ती दिएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६, वाशेश्वरको हैबारस्थित अक्करे भीरमा पहिरो खस्दा खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका यात्रुले सास्ती खेप्नुपरेको छ ।
बहुमतबाट बजेट पारित
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट प्रदेश सभाको बहुमतबाट पारित भएको छ । अब प्रदेश सरकारलाई आगामी साउन १ गतेबाट बजेट खर्च गर्ने बाटो खुलेको छ । प्रदेश सभाको बिहीबार बसेको बैठकले प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले पेस गर्नुभएको विनियोजन विधेयक २०७९ बहुमतले र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७९ सर्वसम्मतिले स्वीकृत गरेको थियो ।
‘पोषण सुधारमा लगानी बढाऊ’
कर्णाली प्रदेशमा पोषण सुधार अपेक्षित रूपमा नभएकाले तीनै तहका सरकार संवेदनशील भएर लगानी बढाउनुपर्ने धारणा सरोकार पक्षले व्यक्त गरेका छन् ।प्रदेश योजना आयोगद्वारा बुधबार आयोजित छलफलमा कर्णाली प्रदेशमा पोषण सुधारका लागि लगानी बढाउनुपर्ने बहुक्षेत्रीय पोषण योजनासम्बन्धी कार्यक्रममा सहभागीले सुझाव दिएका छन् ।
फुइसिङ खानेपानी मर्मत
पहिरोले क्षतिग्रस्त नाम्खा गाउँपालिका–५, तुम्कोटगाउँ फुुइसिङ खानेपानीको पाइपलाइन पुनर्निर्माण भएको छ ।स्थानीय उपभोक्ता ल्यान्ड तामाङ लामाका अनुसार गत वर्षको पहिरोले क्षति पुगेको सो खानेपानी योजना पुनर्निर्माणपछि घरघरका धारा सञ्चालनमा आएको छ ।
सात स्थानीय तह डुबानमा
तीन दिनदेखिको अविरल वर्षाको कारण सुनसरी जिल्लाको सातवटा स्थानीय तह अधिक प्रभावित भएका छन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार इटहरी उपमहानगरपालिका, वराहक्षेत्र, दुहबी र इनरुवा नगरपालिकाका साथै भोक्राहानरसिंह, हरिपुर र बर्जु गाउँपालिका बाढी र डुबानका कारण अधिक प्रभावित भएका छन् ।