ज्येष्ठ नागरिकलाई भत्ता बुझ्न सकस
नरहरिनाथ गाउँपालिकामा रहेको बैङ्कमा आर्थिक वर्षको अन्त्यमा पैसा झिक्न थेगिनसक्ने भीड लाग्ने गरेको छ। कृषि विकास बैङ्क शाखा कार्यालय कुमालगाउँमा आर्थिक वर्ष २०७८/७९ को भुक्तानी लिन सेवाग्राहीको भीड लाग्ने गरेको हो। बैङ्कमा सबै योजनाको भुक्तानी, रोजगारको भुक्तानी, सामाजिक सुरक्षा भत्ता, बालपोषण तेस्रो र चौथो किस्ताबापतको रुपियाँ भुक्तानी लिन भीड लाग्ने गरेको छ। स्थानीय सरकार स्थापनासँगै गाउँमा बिस्तार भएका बैङ्कमा पनि उत्तिकै भीड लाग्ने गरेको हो। अन्य समय खालीजस्तै हुने गाउँका बैङ्कहरू आर्थिक मसान्तमा भने खुट्टा टेक्नेसम्म ठाउँ हुँदैन। स्थानीय बासिन्दा जीवन विश्वकर्माले सबै भुक्तानी प्रक्रिया बैङ्कबाटै गर्ने हुँदा चाप बढेको बताउनुभयो। सरकारले वृद्धवृद्धाले पाउने सेवा सुविधा पनि बैङ्कमा खाता अनिवार्य गरेपछि कालीकोटका झन्डै १८ हजार वृद्धवृद्धा सकसमा परेका छन् । हिँड्न नसक्ने र सडकको पहुँचमा समेत नजोडिएका बस्तीबाट सामाजिक सुरक्षा भत्ता लिन बैङ्कमा जाने वृद्धवृद्धाका लागि बैङ्किङ प्रणालीले निकै दुःख दिएको स्थानीय उमेश विष्टले बताउनुभयो ।
पहिलो रोजाइमा सामुदायिक विद्यालय
केही समयअघिसम्म सुनवल बजारमा बच्चालाई अङ्ग्रेजी भाषाको शिक्षा दिन महँगो शुल्क तिरेर बोर्डिङ स्कुलमा भर्ना गर्नुपर्ने बाध्यता भएकोमा अब त्यो अवस्था फेरिएको छ। सुनवल नगरपालिकाभित्रका सामुदायिक विद्यालयले पनि न्यून शुल्कमा सुविधा सम्पन्न कक्षाकोठामा गुणस्तरीय शिक्षा प्रदान गर्न थालेका छन्। अभिभावक र विद्यार्थीको पहिलो रोजाइमा सामुदायिक विद्यालय नै पर्ने गरेका छन्। लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमअन्तर्गत यस आर्थिक वर्षदेखि एसीसहितको सुविधा सम्पन्न भवन र गुणस्तरीय शिक्षाको व्यवस्था गरेको छ।
२३ लाख नगद सहित भारतीय नागरिक पक्राउ
जिल्ला प्रहरी कार्यालय धनुषाले स्रोत नखुलेको २३ लाख ८९ हजार ४८० रुपियाँ नगदसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
३० वर्षपछि सडक स्तरोन्नति हुँदै
करिब ३ दशकपछि सुर्खेत–बाबियाचौर–बेनीघाट सडकको निर्माणको तयारी थालीएको छ । यो सडक निर्माण भएको लामो समयसम्म पनि स्तरोन्नति हुन नसक्दा सुर्खेतको पश्चिम क्षेत्रका नागरिक अझै पनि धुलाम्मे र हिलाम्मे बनेर यात्रा गर्नुपर्र्ने बाध्यता थियो ।
चन्द्रवीरको सपना सडक कालोपत्रे
उमेरले आठ दशक पुग्दै गरेका ज्येष्ठ नागरिक चन्द्रवीरको एउटै सपना छ आफैँले खनेको सडक कालोपत्रे गर्ने। तुलसीपुर उपमहानगरपालिकाका–३, साततलेका चन्द्रवीरले ७१ वर्षको उमेरदेखि राप्ती राजमार्गको तुलसीपुर–सल्यान सडकखण्डको साततलेदेखि खमारीसम्म तीन किलोमिटर सडक खन्नुभएको हो।
मुक्तिनाथ–यार्तुङ मेलाको तयारी
मुस्ताङको पवित्र तीर्थस्थल मुक्तिनाथमा लाग्ने यार्तुङ मेलाको तयारी सुरु गरिएको छ । पछिल्लो दुई वर्ष कोरोनाका कारण रोकिएको यार्तुङ मेला यस वर्ष यही साउन २३ देखि २७ गतेसम्म आयोजना हुने भएको छ । हरेक वर्षको जनैपूर्णिमाको दिन स्थानीय संस्कृतिसँग जोडिएको यार्तुङसम्बन्धी विशेष कार्यक्रम हुने गर्दछ । धार्मिक तथा सांस्कृतिकका साथै विविध खेलकुद तथा अन्य विविध कार्यक्रमको आयोजना हुने गरेका छन् ।
भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द
रुघाखोकी र ज्वरो बढेपछि इलामका बिद्यालयहरू बन्द गर्न थालिएका छन् । पछिल्ला दिन जिल्लाभरि नै रुघाखोकीसहित ज्वरोका बिरामी बढ्न थालेका छन् । केही समयअघि इलाम नगरपालिकाभित्रका निजी सबै विद्यालय बन्द गरिएको थियो ।
छोरी पेवा बचत कार्यक्रम
म्याग्दीको रघुगङ्गा गाउँपालिकाले ‘छोरी पेवा बचत कार्यक्रम’ लागू गरेको छ । तीन वर्षअघि सुरु गरिएको यो कार्यक्रमलाई थप प्रभावकारी बनाउन गाउँपालिकाले सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । सो कार्यक्रम लागू भएपछि बालविवाह न्यूनीकरण, बालिकाको शिक्षामा पहुँच र चेतनास्तरमा वृद्धि भएको विश्वास गरिएको छ । कार्यक्रमलाई थप प्रभावकारी बनाउन पालिकाले चालू आर्थिक वर्षमा सबै वडामा चेतनामूलक कार्यक्रम गर्न लागेको छ ।
हिल्याउन पानी नपुग्दा रोपाइँ प्रभावित
मधेश प्रदेशको जिल्लामा खेत हिल्याउने पानीको अभावमा धान रोपाइँ प्रभावित भएको छ । खेत हिल्याउन चाहिने वर्षाको पानी तथा सिँचाइको पर्याप्त व्यवस्थापन नहुँदा धान रोपाइँ प्रभावित भएको हो ।