स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह
कोभिडको सङ्क्रमण बढेपछि रोकथाम र नियन्त्रणका लागि गण्डकी प्रदेश सरकार आवश्यक तयारीमा जुटेको छ । यसका लागि प्रदेशस्तरीय कोभिड–१९ नियन्त्रण निर्देशक समितिको बैठक बसेको छ। समितिको अध्यक्ष मुख्यमन्त्री रहने व्यवस्था छ। बैठकले सबै सरकारी, गैरसरकारी कार्यालयहरू तथा मानिसको भीडभाड हुने स्थान, विश्वविद्यालय, विद्यालय र शिक्षण संस्था, धार्मिक स्थल र नियमित भीडभाड हुने प्रकृतिका व्यावसायिक तथा मनोरञ्जन स्थलहरूका मास्क अनिवार्य र स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिएको छ।
वृक्षरोपण अभियान सुरु
पछिल्लो समय वर्षायामसँगै बाँके जिल्लाका विभिन्न स्थानमा वृक्षरोपण कार्यक्रममा तीव्रता देखिएको छ। जिल्लाको कोहलपुर, नेपालगञ्ज, राँझा र खजुरा क्षेत्रमा वृक्षरोपण दिनहुँ भइरहेको छ। कोहलपुर क्षेत्रमा वृक्षरोपण गर्नका लागि सब–डिभिजन वन कार्यालय कोहलपुरले २७ हजार आठ सय बिरुवा वितरण गरेको छ। स्थानीय क्षेत्रमा बढीभन्दा बढी वृक्षरोपण गरी वातावरण जोगाउन तथा हरियाली बढाउन निःशुल्क रूपमा बिरुवा वितरण कार्यलाई तीव्रता दिइएको वन कार्यालय कोहलपुरका रेन्जर मानबहादुर थापाले बताउनुभयो। उहाँले कोहलपुरबाट विभिन्न आठ प्रजातिका बिरुवाहरू वितरण गरिएको जानकारी दिँदै वृक्षरोपण कार्यक्रमलाई अभियानकै रूपमा अगाडि बढाइएको बताउनुभयो।
बाँदर हेरालुको प्रबन्ध
बाँदर आतङ्कले गुल्मीका किसान हैरान भएका छन् । जिल्लाका अधिकांश ठाउँमा बाँदरले मकै खाइदिने गरेको छ । बिहानदेखि बेलुकीसम्म बारीमै बसे पनि मकै जोगाउन मुस्किल परेको रेसुङ्गा नगरपालिका–र ९ उपल्लो तम्घासकी सीता मरासिनीले गुनासो गर्नुभयो । दुःख गरेर मकै लगाइयो, पाक्ने बेला बाँदरले खान थाल्यो, घरमा ल्याउन पाइने हो कि होइन भन्ने चिन्ता लागेको गुनासो उहाँको छ । धुर्कोट गाउँपालिका–४ जैसिथोक, सत्यवती–२ को चेहमी, पाहादी, सत्यवती–१ को अश्लेवा, चौरलगायतका दर्जनौँ ठाउँमा बाँदरले हैरानी पारेको छ ।
पाताल भूमेश्वर पदमार्ग निर्माण
बैतडीको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र पाताल भूमेश्वरसम्म पुग्ने पदमार्ग निर्माण गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको २५ लाख रुपियाँ आर्थिक सहयोगमा पाँच सय मिटर ढलान गरिएको पक्की बाटो निर्माण गरिएको हो ।
एक वर्ष थन्किए दुई विधेयक
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभामा दर्ता गरेको ‘प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवा सर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ एक वर्षदेखि प्रक्रियामै थन्किएका छन् । यी दुई विधेयकलाई प्रदेश सरकारले २०७८ सालमा प्रदेश सभामा दर्ता गरेको थियो । दुवै विधेयक प्रदेश मामिला तथा विधायन समितिमा थन्किएको छ । दफावार छलफल भई प्रतिवेदनसमेत तयार भइसकेको विधेयक प्रदेश सरकारको राय र सङ्घीय ऐन नआएका कारण समितिमै रहेको जनाइएको छ ।
‘विकासमा वन मन्त्रालय बाधक बन्दैन’
वन तथा वातावरणमन्त्री प्रदीप यादवले विकासको काममा वन मन्त्रालय बाधक नबन्ने बताउनुभएको छ। भरतपुर महानगरपालिकाको सभाहलमा आइतबार आयोजित विकास बहसमा मन्त्री यादवले कानुनी जटिलतालाई समाधान गर्दै विकासलाई प्राथमिकता दिने बताउनुभयो। उहाँले स्थलगत रूपमा अध्ययन गरी समस्याको वैकल्पिक समाधान खोज्ने गरेको बताउनुभयो। उहाँले चितवनको विकासमा वनले पारेको असरका विषयमा ध्यान गएको उपयुक्त तरिकाबाट निकास खोजिने जानकारी दिनुभयो।
काईनेटिक ढुङ्गा सहित बस्नेत पक्राउ
सुर्खेतको वीरेन्द्रनगरबाट अवैध खनिज पदार्थ (काईनेटिक ढुङ्गा)सहित आइतबार एक जनालाइ प्रहरीले पक्राउ गरेको छ । प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–११ समावेशी टोलका ३२ वर्षीय दिपकबहादुर बस्नेत रहेको छ ।
भरतपुरमा ओपीडी सेवा निःशुल्क
चितवनको भरतपुर केन्द्रीय अस्पतालले आइतबारबाट ओपीडी सेवा निःशुल्क गरेको छ। भरतपुर अस्पताल विकास समितिले शुक्रबार निर्णय गर्दै अर्को सूचना जारी नभएसम्मका लागि ओपीडी टिकटमा लाग्दै आएको सेवा शुल्क मिनाहा गरेको हो। अस्पतालले ओपीडी टिकटमा ३० रुपियाँ शुल्क लिँदै आएको थियो। महिला र स्वास्थ्य बीमा भएकालाई ओपीडी टिकट पाँच वर्षदेखि निःशुल्क थियो। बाँकी बिरामीलाई पनि आइतबारदेखि निःशुल्क गरिएको अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिनुभयो।
कोसी अस्पतालमा बिरामीको चाप
निजी अस्पतालहरूले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतको सेवा बन्द गरेपछि विराटनगरको कोसी अस्पतालमा बिरामीहरूको चाप बढेको छ। स्वास्थ्य केन्द्रहरूबाट सिफारिस ल्याउने अधिकांश बिरामीले विराटनगरस्थित नोवेल मेडिकल कलेज र विराट मेडिकल कलेजबाट उपचार सेवा लिने गरेका थिए। निजी क्षेत्रका अस्पतालले बीमा कार्यक्रमअन्तर्गत स्वास्थ्य बीमा सेवा बन्द गरेपछि त्यहाँका बिरामी कोसी अस्पतालमै जान थालेका छन्। यस क्षेत्रका अरू दुईवटा ठूला अस्पतालबाट सेवा लिइरहेका सर्वसाधारण कोसीमा जान थालेपछि अस्पतालमा चाप बढेको हो।