काईनेटिक ढुङ्गा सहित बस्नेत पक्राउ
सुर्खेतको वीरेन्द्रनगरबाट अवैध खनिज पदार्थ (काईनेटिक ढुङ्गा)सहित आइतबार एक जनालाइ प्रहरीले पक्राउ गरेको छ । प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–११ समावेशी टोलका ३२ वर्षीय दिपकबहादुर बस्नेत रहेको छ ।
भरतपुरमा ओपीडी सेवा निःशुल्क
चितवनको भरतपुर केन्द्रीय अस्पतालले आइतबारबाट ओपीडी सेवा निःशुल्क गरेको छ। भरतपुर अस्पताल विकास समितिले शुक्रबार निर्णय गर्दै अर्को सूचना जारी नभएसम्मका लागि ओपीडी टिकटमा लाग्दै आएको सेवा शुल्क मिनाहा गरेको हो। अस्पतालले ओपीडी टिकटमा ३० रुपियाँ शुल्क लिँदै आएको थियो। महिला र स्वास्थ्य बीमा भएकालाई ओपीडी टिकट पाँच वर्षदेखि निःशुल्क थियो। बाँकी बिरामीलाई पनि आइतबारदेखि निःशुल्क गरिएको अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिनुभयो।
कोसी अस्पतालमा बिरामीको चाप
निजी अस्पतालहरूले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतको सेवा बन्द गरेपछि विराटनगरको कोसी अस्पतालमा बिरामीहरूको चाप बढेको छ। स्वास्थ्य केन्द्रहरूबाट सिफारिस ल्याउने अधिकांश बिरामीले विराटनगरस्थित नोवेल मेडिकल कलेज र विराट मेडिकल कलेजबाट उपचार सेवा लिने गरेका थिए। निजी क्षेत्रका अस्पतालले बीमा कार्यक्रमअन्तर्गत स्वास्थ्य बीमा सेवा बन्द गरेपछि त्यहाँका बिरामी कोसी अस्पतालमै जान थालेका छन्। यस क्षेत्रका अरू दुईवटा ठूला अस्पतालबाट सेवा लिइरहेका सर्वसाधारण कोसीमा जान थालेपछि अस्पतालमा चाप बढेको हो।
मकालु क्षेत्रमा यार्सागुम्बा लोपोन्मुख
पछिल्लो समय मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्रमा यार्सागुम्बा लोप हुँदै गएको छ । विगतमा लाखौँ रुपियाँ मूल्य बराबरको यार्सा सङ्कलन गरिए पनि पछिल्लो समय त्यस क्षेत्रमा यार्सा उम्रिन छोडेको हो । यस वर्ष मकालु गाउँपालिकाको यार्सा सङ्कलन क्षेत्रमा केही सङ्कलन गरिए पनि सिलिचोङ गाउँपालिका क्षेत्रमा भने नउम्रिएको बताइएको छ । यार्सागुम्बा सङ्कलनका लागि पुर्जी लिएर सङ्खुवा खोलाको शिर क्षेत्र पुगेका सिलिचोङ गाउँपालिका–१, शिसुवाखोलाका स्थानीय रित्तै फर्किनु परेको बताएका छन् । दुई हप्ता लगाएर यार्सा सङ्कलन क्षेत्रमा बसे पनि कतै उम्रेको नपाइएको यार्सा सङ्कलनमा गएर फर्कनुभएका सूर्य कुलुङले बताउनुभयो । “एक महिनाका लागि पुर्जी लिएका थियौँ, केही दिनमा उम्रिन्छ कि भनेर पर्खे पनि रित्तै फर्किनु प-यो,” कुलुङले भन्नुभयो । निकुञ्जले यार्सा सङ्कलनका लागि जेठ १० गतेदेखि असार ९ गतेसम्मका लागि सङ्कलन पुर्जी खुलाएको थियो ।
गाउँको विकास गर्नु मेरो सपना हो : वरिष्ठ नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँको विकास गर्नु नै आफ्नो राजननीतिक सपना भएको बताउनुभएको छ । कांग्रेस क्षेत्र १ तनहुँद्वारा भानु नगरपालिका –६ मा आयोजित सभा तथा वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले सो कुरा बताउनुभएको हो ।
तातोपानी नाकाबाट २३३ प्रतिशतले राजश्व संकलन बृद्धि
आर्थिक बर्ष २०७८÷०७९ मा तातोपानी नाकाबाट लक्ष्यभन्दा दोब्बर राजश्व संकलन भएको छ । एक अर्ब ४६ करोड लक्ष्य राखिएकोमा तीन अर्ब ४२ करोड राजश्व संकलन भएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिनुभयो ।
बाढी जोखिममा नाग्म बजार
मुगु कर्णाली र जुम्ला कर्णालीको दोभानस्थित कालीकोटको नाग्म बजार बाढीको उच्च जोखिममा परेको छ । बजारसँगै धार्मिकस्थल कृष्ण मन्दिरसमेत जोखिममा परेको छ । कर्णालीको माथिल्लो हिमाली क्षेत्रमा अत्यधिक वर्षा भएकाले कर्णालीमा बाढी आएको हुँदा दोभानमा डुबान र बाढीको जोखिम बढेको हो । जुम्ला कर्णालीभन्दा मुगु कर्णालीमा पानीको बहाव निकै बढेको छ । कर्णाली प्रदेशको माथिल्लो हिमाली भेगमा अत्यधिक वर्षा भएको बताइएको छ ।
सेवाग्राहीको सन्तुष्टि सर्वेक्षण
चौरजहारी नगरपालिकाले कार्यपालिकाको कार्यालयमा आउने सेवाग्राहीको सन्तुष्टि सर्वेक्षण सुरु गरेको छ । कार्यालयको सार्वजनिक सेवा प्रवाहको अवस्था बारेमा जानकारी लिने उद्देश्यले सेवाग्राहीको सन्तुष्टि सर्वेक्षण सुरु गरिएको नगरपालिकाले जनाएको छ ।नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले कार्यालयको सेवालाई प्रभावकारी बनाउन सेवाग्राही सन्तुष्टि सर्वेक्षण गर्न थालिएको बताउनुभयो ।
कैलालीमा लागूऔषध प्रयोगकर्ता बढ्दै
बर्दगोरिया गाउँपालिका–२ मा लम्कीचुहा नगरपालिका–१० का वसन्त डङ्गौरा एक ग्राम २०० मिलिग्राम लागूऔषधसहित साउन २ गते साँझ पक्राउ परे । टीकापुर नगरपालिका–१, वनगाउँका २९ वर्षका सुरज पुनमगरको साथबाट साउन १ गते एक ग्राम ८५० मिलिग्राम खैरो हिरोइन फेलाप¥यो । मगरले २६ वटा स–साना पोका बनाई चुरोटको बट्टामा लुकाएर राखेको अवस्थामा प्रहरीले फेलापारेको थियो ।