• १३ असोज २०८१, आइतबार

मकालु क्षेत्रमा यार्सागुम्बा लोपोन्मुख

blog

ध्यान कुलुङ

सङ्खुवासभा, साउन ९ गते ।  पछिल्लो समय मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्रमा यार्सागुम्बा लोप हुँदै गएको छ । विगतमा लाखौँ रुपियाँ मूल्य बराबरको यार्सा सङ्कलन गरिए पनि पछिल्लो समय त्यस क्षेत्रमा यार्सा उम्रिन छोडेको हो ।

यस वर्ष मकालु गाउँपालिकाको यार्सा सङ्कलन क्षेत्रमा केही सङ्कलन गरिए पनि सिलिचोङ गाउँपालिका क्षेत्रमा भने नउम्रिएको बताइएको छ । यार्सागुम्बा सङ्कलनका लागि पुर्जी लिएर सङ्खुवा खोलाको शिर क्षेत्र पुगेका सिलिचोङ गाउँपालिका–१, शिसुवाखोलाका स्थानीय रित्तै फर्किनु परेको बताएका छन् । दुई हप्ता लगाएर यार्सा सङ्कलन क्षेत्रमा बसे पनि कतै उम्रेको नपाइएको यार्सा सङ्कलनमा गएर फर्कनुभएका सूर्य कुलुङले बताउनुभयो । “एक महिनाका लागि पुर्जी लिएका थियौँ, केही दिनमा उम्रिन्छ कि भनेर पर्खे पनि रित्तै फर्किनु प-यो,” कुलुङले भन्नुभयो । निकुञ्जले यार्सा सङ्कलनका लागि जेठ १० गतेदेखि असार ९ गतेसम्मका लागि सङ्कलन पुर्जी खुलाएको थियो ।

मकालु वरुण राष्ट्रिय निकुञ्जको तथ्याङ्कअनुसार विगतमा वार्षिक दुई हजार जनाभन्दा बढीले यार्सा सङ्कलन गर्ने गरेकोमा यस वर्ष १४२ जनाले मात्र यार्सा सङ्कलन पुर्जी लिएका छन् । यार्सागुम्बा पाइने क्षेत्रमा यार्सा नउम्रेकाले न्यून सङ्ख्यामा मात्र सङ्कलनमा गएको मकालु वरुण राष्ट्रिय निकुञ्जले जनाएको छ । पाँच वर्षअघिदेखि यार्सागुम्बाको उत्पादनमा ह्रास आउन थालेको निकुञ्ज कार्यालयले जनाएको छ । बर्सेनि यार्सा उत्पादन घट्दै आउने क्रममा हालसम्मकै यस वर्ष सबैभन्दा कम सङ्कलन भएको मकालु वरुण राष्ट्रिय निकुञ्जका रेन्जर लाकपत कुलुङले जानकारी दिनुभयो ।  

यस वर्ष यार्सा सङ्कलन पुर्जीबाट ७१ हजार रुपियाँ र निकासी पुर्जीबाट पाँच लाख ९३ हजार २५१ रुपियाँ गरी छ लाख ६४ हजार २५१ रुपियाँ मात्र सङ्कलन भएको रेन्जर कुलुङले जानकारी दिनुभयो । विगतमा दुई हजारभन्दा बढी सङ्कलक र निकासीकर्ताबाट झन्डै एक करोडको हाराहारीमा राजस्व सङ्कलन हुने गरेको बताइएको छ। यस वर्ष १७ दशमलव ५ किलोग्रामको मात्र निकासी पुर्जी जारी गरिएको निकुञ्जले जनाएको छ। निकुञ्जले सङ्कलन पुर्जीबापत प्रतिव्यक्ति पाँच सय रुपियाँ र निकासी पुर्जीबापत प्रतिकिलो ३० हजार रुपियाँ लिँदै आएको छ ।

निकुञ्ज क्षेत्रमा मानवीय व्यवहारकै कारण यार्सागुम्बा लोप हुँदै आएको निकुञ्जको दाबी छ । यार्सा सङ्कलन गर्न जानेहरूले यार्सा सङ्कलनका क्रममा जमिन खन्ने भएकाले लोप हुँदै गएको निकुञ्जले दाबी गर्दै आएको छ । यार्सा पाउने क्षेत्रको जमिन खनेपछि यार्साको जरामा असर पुग्दा उम्रिन छोडेको निकुञ्जका रेन्जर कुलुङको भनाइ छ । सङ्कलकले झारबाट यार्साको बोट छुटाउन असहज हुँदा माटो खनेर यार्सा निकाल्ने गरेका थिए । पछिल्ला वर्षमा भने यार्सा पाउने क्षेत्रमा माटो खन्न पूर्ण रूपमा निषेध गरिएको कुलुङले बताउनुभयो ।

सङ्खुवासभामा मकालु र सिलिचोङ गाउँपालिकाको माथिल्लो क्षेत्रमा यार्सागुम्बा पाउने गरिन्छ । सिलिचोङ गाउँपालिकाको सङ्खुवा खोला शिर, दिगलिङ, याङले खर्चलगायतमा यार्सा पाइन्छ । त्यस्तै मकालु गाउँपालिकाको ठूलो पोखरी, शिवधारा क्षेत्रलगायतमा बढी यार्सागुम्बा पाइन्छ । मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्रको संरक्षणका लागि नेपाली सेना खटाइएको छ ।