हालै सम्पन्न चुनावमा २०७९ सालमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक विश्लेषकको अनुमानभन्दा फरक नतिजा ल्याएको छ । १८२ सिट अर्थात् झन्डै दुई तिहाइ सिटको जितपश्चात् रास्वपाले हासिल गरेको सफलतालाई चुनावी लहर विशेष गरेर बालेन्द्र (बालेन) शाहको पक्षमा आएको लहर भनेर विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय सञ्चार जगत् र विश्लेषकहरूले पनि स्वीकारेका छन् । हुन पनि यो चुनावको नतिजा नेपालका पुराना भनिएका दललाई शुभ सङ्केत होइन भने रास्वपाका लागि भविष्यको अत्यन्त रोमाञ्चक सम्भावना हो ।
यस्तो किन भयो ? सैद्धान्तिक रूपमा अक्सर मध्यावधि चुनावमा चुनावी लहर आउने गर्छ, जहाँ सत्ताभन्दा बाहिरको पार्टीलाई मौजुदा शासनविरुद्ध प्रतिक्रियास्वरूप समर्थन मिल्ने गर्छ । कहिलेकाहीँ एउटा करिस्मेटिक नेताका रूपमा कुनै नयाँ मानिस राजनीतिमा आउँछ र त्यसले यस्तो गति उत्पन्न गर्छ, जस कारण स्थापित राजनीतिक दललाई अस्तित्वको सङ्कट उत्पन्न गरिदिन्छ । विशेष गरेर गम्भीर आर्थिक सङ्कट, बेरोजगारी र चरम भ्रष्टाचार हुँदा मतदातामा परिवर्तनको इच्छा उत्पन्न हुन्छ र नयाँ नेताप्रति लहरको भावना जागृत हुन्छ । नेपालमा जेनजी विद्रोहपछि परिवर्तनको भावना अत्यन्त तीव्र भएर आयो र बालेन पक्षमा लहर नै आयो । भारतमा सन् २०१४ मा मोदी लहर आए जस्तै तर नेपालको सन्दर्भमा यति मात्रै होइन, राजनीतिक मनोविज्ञान पनि कारक तìवका रूपमा अग्रणी स्थानमा छ । नेपालका स्थापित र पुराना भनिएका राजनीतिक दलले जेनजी आन्दोलनपश्चात् हुन लागेको चुनावमा बृहत्स्तरको राजनीतिक संरचना बनाउन सकेनन् । यसका साथै सूक्ष्मस्तरको कारक तत्वको खोज गरेर निर्णय लिने प्रव्रिmयामा नवपुस्तालाई समेटेर गहिरो न्यायसम्पादन गर्नमा उनीहरूको भूमिका स्पष्ट परिभाषित गर्न सकेनन् । यसैले नेपालमा बालेन लहर जन्मियो ।
पृष्ठभूमि
नेपाली राजनीतिमा विगतमा पनि राजनीतिक लहर नदेखिएको होइन । २०१५ सालमा नेपाली कांग्रेसको पक्षमा दुई तिहाइ जनमत देखिएको थियो । २०६४ सालमा माओवादीको पक्षमा र २०७४ सलामा दुई वा दुईभन्दा बढी दल मिलेर चुनावमा जाँदा दरिलो गठबन्धन गर्न नसक्ने दलले लज्जास्पद पराजय भोगेका थिए तर अहिलेको जस्तो अप्रत्याशित परिवर्तन देखिएको थिएन । अहिलेको चुनावमा चाहिँ आमधारणा के देखियो भने पक्षपातपूर्ण राजनीति, विशेष गरेर नकारात्मक पक्षपातपूर्ण व्यवहारले गर्दा नेपाली मतदातामा अस्थिर मतदान प्रवृत्तिको सूत्रपात भयो । यहाँसम्म कि नेपाली कांग्रेस, एमाले र हालको नेकपाप्रति प्रतिबद्ध व्यक्तिमा समेत यसको प्रभाव देखियो । जेनजी विद्रोहको कारण समयभन्दा दुई वर्षअघि भएको यो चुनावलाई मानिसहरूले बालेनविरुद्ध पुराना राजनीतिक दलबिच जनमतसङ्ग्रह जस्तै विश्लेषण गर्न थाले र यसैगरी हेरे ।
जनमत सङ्ग्रहमा प्रायः मतदाता सरकार र शासनप्रति उदासीन हुन्छन् र विपक्षमा मतदान गर्ने निर्णयका साथ उनीहरू उभिन्छन् । यो समय शासन समालेका सबै दलका विपक्षीको रूपमा मतदाताले रास्वपा त्यसमाथि पनि बालेन शाहलाई चुने । यो अहिले भइरहेको घटनाको एउटा हिस्सा हो तर पिँढीगत आयाम अर्को ज्यादै विशिष्ट पक्ष हो । पिँढीगत संरचना राजनीतिक घटनासँग जोडिएको हुन्छ । जेनजीले यसमा महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन् । यसमा कुनै सन्देह छैन कि अहिलेको चुनावमा अधिकांश जेनजीलगायत नवपुस्ताले बालेनलाई नै आफ्नो प्रतिनिधि सम्झन पुगे ।
नेपालको संसदीय चुनावको इतिहास हेर्ने हो भने यस्तो लाग्छ कि नेपालमा चुनावी लहर कहिले ज्यादा त कहिले कम त कहिले अलि फरक रूपमा देखिएको छ । २०१५ सालको चुनावमा कांग्रेसको पक्षमा लहर थियो । बिपीको करिस्मावाला नेतृत्व सफल हुन सक्छ भनेर तत्कालीन कांग्रेसका सभापति सुवर्णशमशेरले विशेष महाधिवेशन अन्तर्गत बिपीलाई सभापति बनाएर चुनाव लड्दा नेपाली कांग्रेसले दुई तिहाइ बहुमत ल्यायो । त्यसपछि मदन भण्डारीको जनताको बहुदलीय जनवादको करिस्माले कम्युनिस्टहरू एउटा लहरमा प्रवेश गरेको हो कि भन्ने भान हुन पुग्यो । तत्कालीन अवस्थामा एमालेले स्थानीय निकायमा ठुलो बहुमत ल्यायो । त्यसपछि सशस्त्र विद्रोहबाट उदाएको माओवादीको पक्षमा लहर आयो तर ती लहर सधैँ रहेनन् । बिस्तारै पतन भयो तर अहिले रास्वपाको लहर हेर्दा सम्भवतः यो मोदी लहर जस्तै निकै लामो समय जाने हो कि भन्ने विश्लेषण पनि गर्न सुरु भइसकेको छ । भ्रष्ट नेतालाई सामूहिक रूपले बाहिर पु¥याउनका लागि जेनजी समूहले सबै मतदातालाई उत्सुक बनायो तर यो फगत संयोग मान्ने विश्लेषकको कमी पनि देखिँदैन ।
मौका तथा जोखिम
नयाँ नेतृत्वका लागि मौका मात्रै होइन, जोखिम पनि छ । लहरवाला चुनावलाई अप्रत्याशित हो भनेर भन्नु न्यायसङ्गत हुँदैन । यसलाई अप्रत्याशित ठान्ने भुल कसैले गर्न हुँदैन । यहाँनेर कुनै नेतालाई कुनै दल विशेष सहानुभूतिका लागि यो नतिजा अप्रत्याशित भनेर विश्लेषण गरियो भने त्यसको परिणाम झनै खतरनाक हुुन सक्छ । जनमत सर्वेक्षणबाट अहिलेको चुनाव, लहरको चुनाव मात्र हुन सक्छ भन्ने देखिन सक्छ तर यसले उम्मेदवार र मतदाताको धारणालाई पनि प्रभावित गर्छ ।
जो सम्भावनाको सिद्धान्त (प्रोस्पेक्ट थ्योरी) बाट परिचित छन्, तिनीहरूले जानेकै हुन्छन् कि व्यक्तिले अनिश्चिततामा कसरी निर्णय लिन्छ । एक लाख रुपियाँ नोक्सान गर्न एक लाख रुपियाँको लाभ हुनुभन्दा बढी चिन्ताजनक हुन्छ । समान लाभ प्राप्त गर्ने तुलनामा नोक्सानसँग कसरी बच्ने भन्ने प्राथमिकता दिन्छन् । यसको मतलब लाभमा दलहरू विजय हुँदा सुरक्षित उपाय अपनाउँछन् र पराजित अधिक जोखिम उठाउँछन् । अहिले रास्वपाका विजेतालाई लहरको प्रभावले अति आत्मविश्वास र अति आत्मसन्तुष्टि पैदा भएको छ र पुराना भनिएका दल पराजयपछि अधिक सर्तक भएका छन् । रास्वपाका कतिपय नेता तथा उनीहरूको स्वजन, प्रियजनले उम्मेदवारले भन्दा बढी आत्मसन्तुष्टि पैदा भएको सामाजिक सञ्जालमा देख्न पाइन्छ । राजनीतिमा सामान्यभन्दा सामान्य कुरालाई हल्का रूपले लिन हुँदैन । अब हुने स्थानीय र प्रदेशस्तरीय चुनावलाई समेत ध्यानमा राखेर अवसरको लाभ उठाउन आवश्यक छ । न कि विजयमा रमाएर सामान्य कुरामा ध्यान नदिने ।
नेपाली भावना
अहिलेको चुनावको सबैभन्दा ठुलो परिणाम यो हो कि रास्वपा भारी बहुुमतको साथ प्रतिनिधि सभामा उपस्थित हुँदै छ र आफ्नो दबदबा स्थापित गर्ने छ । यस्तै परिदृश्य २०७४ सालमा कम्युनिस्ट दल एक हुँदा पनि भएको थियो । मुख्य अन्तर के थियो भने तत्कालीन समयमा एकीकृत भएका दल भनिए पनि एमाले र माओवादीबिच गहिरो मतभिन्नता थियो । त्यसमा दुवै पक्षका केही मानिसले पार्टी फुटाउन तत्कालीन शीर्ष नेतालाई दबाब दिएका थिए र अहिले पनि बालेन पक्ष र रवि पक्ष भन्ने दुई समूह रास्वपा छ किनभने बालेनले चुनावपूर्व नै आफ्ना मानिस भनेर उम्मेदवार बनाएका थिए । रास्वपाको नियमविरुद्ध संसदीय नेता चुन्नपूर्व नै प्रधानमन्त्री घोषणासमेत भएको थियो । रास्वपाको पक्षमा चुनावी लहर भनेर बुझाउन खोजिए पनि यो एक गम्भीर मनोवैज्ञानिक समस्या बन्न सक्छ । यस कारण चुनावी मतदानमा लहर देखिएको छ तर शासनमा सत्ता सञ्चालन गर्दा विगतमा जस्तै देखियो भने नागरिकको स्थायी सरकारको चाहना पूरा हुन सक्ने छैन । अहिले पनि यो चाहना पूरा हुन सकेन भने नेपालको राजनीतिक व्यवस्थालाई प्रतिनिधिमूलक व्यवस्था भन्न नेपाली जनतालाई मुस्किल हुने छ । नेपालमा कुनै पनि सरकारले आफ्नो कार्यकाल पूरा गरेको अहिलेसम्म अभिलेख पनि छैन । यसकारण स्थायी सरकार नेपालीको चाहना हो भन्ने स्वयम्सिद्ध नेपाली भावनालाई विचार गर्न रास्वपाका सबै जिम्मेवार नेताले आवश्यक छ ।