• ३ चैत २०८२, मङ्गलबार

असिना पानीले धनबालीमा क्षति

blog

असिना पानीले गरेको क्षति । तस्विर : टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुंगा (गुल्मी), चैत ३ गते । गुल्मीमा हुरीबतास, असिना पानीसहितको बर्षाले धनबालीमा क्षति पुगेको छ । चट्याङले रुरु गाउँपालिका-१ भटकुवाकी मन्जु ज्ञवाली घाइते हुनु भएको छ । उहाँ रिडी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरेर घर फर्किनु भएको छ । सोही स्थानकै मधु ज्ञवालीको घरमा चट्याङ पर्दा बिजुलीको तार सबै जलेर नष्ट भएको प्रहरीले जनाएको छ । भटकुवा आधारभुत विद्यालयमा पनि चट्याङ परेको छ । धुर्कोट गाउँपालिका-५ देउरालीकी कमला भुसालको घरमा चट्याङ पर्दा गारो चर्किएर घर नै जोखिममा परेको छ । 

हावाहुरीले रुरु गाउँपालिका-५ काउले तागबासका थानिश्वर भण्डारीको गोठको छानो उडाउँदा दुई लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीमा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक गंगा बहादुर सारुले जानकारी दिनुभयो । त्यस्तै सोही गाउँकै जनज्योती आधारभुत बिद्यालयको छानो उडाएको प्रहरी जनाएको छ । 

त्यस्तै असिना र हुरीले गुल्मीमा किसानको सुन्तला जातमा फलफुल, आरु, आँप, तरकारी खेतीमा ठूलो क्षति गरेको छ । अत्यधिक हुरीसहितको असिनाले किसानको टनेल च्यात्ने, उडाउने, ढलाउने लगायतको क्षति गरेको सत्यवति गाउँपालिका-३ का वडाध्यक्ष जित बहादुर तरामुले जानकारी दिनुभयो । कृषि ज्ञान केन्द्रले बर्षाले मकै रोप्ने किसानलाई राहत गरेपनि असिनाले क्षति पुराएको बताउँदै विवरण संकलनको काम भइरहेको बताएको छ ।