• ३ चैत २०८२, मङ्गलबार

‘भारत र चीनलाई सडकले जोड्न पहल गर्ने छु’

blog

डिलबहादुर सिंह

डोटी, चैत ३ गते । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य पदका निर्वाचनमा डोटीबाट नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर खड्का निर्वाचित हुनुभएको छ । विसं. २०३२ मा नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा सुरु गर्नुभएका खड्का नेपाल विद्यार्थी सङ्घ डोटी क्याम्पस एकाइ समितिको उपसभापति हुनुभयो । पहिलो पटक २०३९ सालमा २३ वर्षको उमेरमा तत्कालीन खिरसैन गाउँपञ्चायतको प्रधानपञ्चबाट जनप्रतिनिधिको रूपमा आफूलाई उभ्याउनुभयो ।

विसं. २०४४ मा डोटी जिल्ला पञ्चायतको सभापति, २०४९ सालमा सम्पन्न भएको स्थानीय निकायको निर्वाचनमा जिल्ला विकास समिति उपसभापति र २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा जिल्ला विकास समिति डोटीको सभापति पदमा निर्वाचित हुनुभयो । 

२०७० सालमा सम्पन्न भएको दोस्रो संविधान सभा निर्वाचनमा खड्का समानुपातिकतर्फ संविधान सभा सदस्यमा पदमा मनोनीत हुनुभयो । २०७४ साल मङ्सिर २१ गते सम्पन्न भएको प्रदेश सभा सदस्य निर्वाचनमा खड्का डोटी निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (क) बाट प्रत्यक्षतर्फ प्रदेश सभा सदस्य पदमा निर्वाचित हुनुभयो । गत माघमा सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य बन्नुभएका खड्का राजनीतिमा लामो अनुभव भएका नेताका रूपमा चिनिनुहुन्छ । प्रतिनिधि सभा सदस्य निर्वाचित भएसँगै उहाँले मतदाता समक्ष आफूले गरेका वाचा पूरा गर्न इमानदार भएर काम गर्ने बताउनुभयो । खड्काले भन्नुभयो, “डोटीमा विकास निर्माणलगायत गर्नुपर्ने काम धेरै छन् । चुनाव प्रचारप्रसारका व्रmममा भेटघाट भएका स्थानीयले विकास निर्माणका विषयलाई लिएर धेरै समस्या देखाउनुभएको छ । मैले जे जति वाचाहरू गरेको छु इमानदारपूर्वक पूरा गर्ने प्रयास गर्ने छु ।”  उहाँले सुरु भएर पनि लामो समयसम्म निर्माण  सम्पन्न हुन नसकेको धनगढी दिपायल फास्ट ट्र्याक निर्माण सम्पन्न गर्ने कार्य आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “सेती वा महाकाली मार्गमार्फत तिब्बत जोड्ने सडक बनाएर व्यापारिक नाका बनाउन सके सुदूरपश्चिमका लागि ठुलो उपलब्धि हुन सक्छ । म ती निर्माणाधीन सडक पूरा गर्दै नेपाललाई सडक सञ्जालबाट भारत र चीनसँग जोड्ने पहल गर्ने छु ।”

उहाँ डोटीलाई एउटा जिल्लाका रूपमा मात्र हेर्न नहुने धारणा राख्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “डोटी एउटा जिल्ला मात्र नभएर इतिहास, संस्कृति, परम्परा र पहिचानको गौरवशाली थलो पनि हो । डोटेली जनता इमानदार, परिश्रम र देशप्रेमी भएकाले नेपाली समाजका लागि पनि प्रेरणाको स्रोत बनेको उहाँको भनाइ छ । उहाँले जनताबाट प्राप्त भएको जनादेशलाई डोटीको समृद्धि, विकास र सम्मानसँग जोडेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।