• ३ चैत २०८२, मङ्गलबार

अल्पकालीन भिक्षुको प्रवज्या

blog

भैरहवा समाचारदाता

भैरहवा, चैत ३ गते । बुद्ध जन्मस्थल लुम्बिनीमा पाँच सय जनालाई श्रामणेर (अल्पकालीन भिक्षु) का रूपमा प्रवज्या दिइएको छ । मायादेवी मन्दिरपरिसरमा सोमबार आयोजित कार्यक्रममा बौद्ध धर्मगुरुहरूले पहेँलो चीवर प्रदान गर्दै उनीहरूलाई श्रामणेर प्रवज्यामा सहभागी गराएका हुन् । अखिल नेपाल भिक्षु महासङ्घ, थाई भिक्षु महासङ्घको आयोजना तथा लुम्बिनी विकास कोषसहित विभिन्न संस्थाको सहआयोजनामा भएको प्रवज्या कायक्रममा नेपाल भिक्षु महासङ्घका अध्यक्ष महास्थवीर धम्म शोभन र थाई धम्मदूत फ्रा ब्रह्मवजिरपोथिवोंगलगायत बौद्ध धर्मगुरुले अल्पकालीन भिक्षुलाई चीवर प्रदान गर्नुभएको थियो ।

अल्पकालीन भिक्षुहरूले पहेँलो चीवर धारण गरी बुद्ध धर्मका १० वटा नियमको पालन गर्नुपर्ने छ । सामान्य अनुयायीले पञ्चशील र अष्टशीलको पालन गर्ने भए पनि अल्पकालीन भिक्षुले बौद्ध नियम अनुसार आफ्नो जीवनशैलीलाई पूर्ण रूपमा रूपान्तरण गर्नुपर्ने हुन्छ । पूर्ण भिक्षु बन्नका लागि भने २२७ वटा नियम पालना गर्नुपर्ने व्यवस्था रहेको छ । फागुन २६ गतेदेखि सुरु भएको प्रवज्या कार्यक्रम आगामी चैत १७ गते समापन हुने छ । सोमबार पहेँलो चीवर धारण गर्न योग्य भएका श्रामणेरहरूले चीवर ग्रहण गर्न पाउँदा आफूहरू निकै खुसी भएको बताएका छन् । आयोजकका अनुसार चीवर प्राप्त गरेका श्रामणेरहरूलाई पञ्चशील, अष्टशील र विनयपिटकबारे जानकारी गराइने साथै दैनिक ध्यान अभ्यास पनि गराइने छ ।