बागलुङ समाचारदाता
बागलुङ, चैत ३ गते । कालीगण्डकी नदी दोहन रोक्न सरोकारवाला निकायले अनुगमन गरेका छन् । विशेष गरी बागलुङ नगरपालिका–१३ को कालाखोलाआसपास र
मालढुङ्गा क्षेत्रमा भएको दोहनको सरोकारवालाले संयुक्त अनुगमन गरेका हुन् । अनुगमनका व्रmममा कालाखोला क्षेत्रमा सबैभन्दा बढी नदी दोहन भएको भेटिएको जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले बताउनुभयो । थापाले भन्नुभयो, “नदीमै आएर हेर्दा त डरलाग्दा खाडल बनाएर नदी दोहन गरिएको भेट्यौँ । अनुसन्धानपछि मापदण्डविपरीत कालीगण्डकी दोहन गर्नेलाई कारबाहीको दायरामा ल्याउँछौँ ।”
कालाखोला क्षेत्रमा झन्डै तीन सय मिटर लामो, एक सय मिटर चौडा र सात मिटरसम्मको गहिराइमा एक्साभेटर लगाएर नदी दोहन गरिएको छ । थापाले भन्नुभयो, “बालुवा झिक्ने नाममा ढुङ्गासमेत निकालिएको पाइयो ।” कालाखोला क्षेत्रको वातावरणमा समेत नकारात्मक असर पर्ने गरी जथाभाबी दोहन गरिएको थापाको भनाइ छ ।
वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा बढीमा १.२० मिटर मात्र बालुवा उत्खनन गर्न पाउने प्रावधान राखिएको छ तर जथाभाबी उत्खनन मात्र नभई पानीको बहाब नै हटाएर बालुवा र ढुङ्गा निकाल्ने, नदीलाई कुरूप बनाउने काम भएको उहाँले बताउनुभयो । नदी दोहन गरेपछि पानी लगाएर खाल्डा पुरे झँै गरेकोसमेत थापाले बताउनुभयो ।
आइतबार जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाको नेतृत्वमा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, नेपाल प्रहरी, सशस्त्र प्रहरी र प्राविधिकसहित विभिन्न निकायले संयुक्त रूपमा अनुगमन गर्नुभएको थियो । अनुगमनलाई प्राविधिक रूपमा अध्ययन गरेर विस्तृत विवरण बाहिर ल्याउने र दोहन गर्नेलाई कारबाही गर्ने, जथाभाबी निकालिएको सामग्री घाटगद्दी गरेर नगरपालिकाको आम्दानी बाँध्ने काम गरिने प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिनुभयो ।
आचार्यका अनुसार प्राविधिकको यथार्थ प्रतिवेदन तयार गरिने, वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनभन्दा बढी के कति दोहन भएको हो पत्ता लगाउने काम समेत गरिने छ । कालाखोला क्षेत्रमा प्रतीक निर्माण सेवा र मालढुङ्गा क्षेत्रमा विधि निर्माण सेवाले नदी दोहन गरिरहेको भेटिएको छ ।