• ३ चैत २०८२, मङ्गलबार

‘व्यवसायमैत्री नीति निर्माणमा भूमिका रहन्छ’

blog

कन्हैयालाल केशरी 

पर्सा, चैत ३ गते । प्रतिनिधि सभा सदस्यमा पर्सा क्षेत्र नं. १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका पर्सा जिल्ला सभापति बुद्धिप्रसाद पन्त अहिले चर्चामा हुनुहुन्छ । मधेश आन्दोलनबाट उदाएका यस क्षेत्रका चर्चित नेता प्रदीप यादवलाई फराकिलो मतान्तरले प्रतिनिधि सभाको निर्वाचनमा पराजित गर्दै उहाँ निर्वाचित हुनुभएको हो । 

पर्सा क्षेत्र नम्बर १ बाट दुई पटक सांसद र तीन पटक मन्त्री भइसकेका नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार प्रदीप यादवलाई फराकिलो मतले पराजित गर्नुभएको हो । जनता समाजवादी पार्टीबाट २०७४ र २०७९ सालको निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भई तीन पटक मन्त्री भइसकेका प्रदीप यादवलाई अन्तिम समयमा जसपाले टिकट दिएको थिएन । जसपाले टिकट नदिएपछि एमालेबाट उम्मेदवारी दर्ता गराई निर्वाचनमा होमिएका प्रदीप यादवले १३,०३० मत प्राप्त गर्दा रास्वपाका  पन्तले २७,२७४ मत प्राप्त गर्नुभएको थियो । 

सर्लाहीको हरिवन पुस्तैनी घर भएका पन्त पाँच वर्षको हुँदा बुवा डिल्लीराम पन्तको मृत्यु भएको थियो । आमा करनकुमारी पन्तले रौतहट जिल्लाको चन्द्रपुरमा काम गर्दै जुडीबेरा माध्यमिक विद्यालयमा उहाँलाई पढाउनुभयो । जुडीबेरा माविबाट कक्षा १० सम्म अध्ययन गरेका पन्त उच्च शिक्षा अध्ययनका लागि २०५२ सालमा वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा अध्ययन गर्दागर्दै कुरियर र होटेल व्यवसायबाट राजनीतिमा आउनुभएको हो । व्यवस्थापन विषयमा स्नातकसम्मको शिक्षा हासिल गर्नुभएका पन्त अहिले रास्वपाका पर्सा जिल्ला अध्यक्ष, होटेल तथा पर्यटन व्यवसायी सङ्घ पर्साका अध्यक्ष र होटेल व्यवसायी महासङ्घका केन्द्रीय सचिव हुनुहुन्छ । 

प्रतिनिधि सभा सदस्य पन्तले मुलुकमा देखिएको भ्रष्टाचार, अनियमितता र बेथितिको अन्त्यका लागि जनताको पक्षमा प्रतिनिधि सभा बैठकमा आवाज उठाउने बताउनुभयो । उहाँले आफू होटेल व्यवसायबाट राजनीतिमा आएको र व्यवसाय सञ्चालनका क्रममा उद्योग व्यवसायको समस्या आफूलाई राम्रोसँग थाहा रहेको बताउनुभयो । उहाँले उद्योग व्यवसायको संरक्षण तथा वीरगन्ज औद्योगिक नगरी भएकाले यस क्षेत्रमा पुँजी पलायन हुन नदिन र लगानी भित्र्याउन व्यवसायमैत्री नीति निर्माणमा आफ्नो भूमिका रहने बताउनुभयो । 

उहाँले मधेश प्रदेशको एक मात्र पर्यटकीय स्थल ठोरीमा पर्यटन पूर्वाधार निर्माण तथा पर्यटकलाई आकर्षित गर्न सकिने किसिमको वातावरण बनाउन आफू सक्रियताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले निर्वाचनको समयमा मत माग्न घरदैलो गर्ने क्रममा जनताले आफूसमक्ष शिक्षा, स्वास्थ्य, सिँचाइ, कृषि, सडक पूर्वाधारसहितका स्थानीय समस्या राखेको उल्लेख गर्दै स्थानीय समस्या समाधानका लागि जनतासँग गरिएका प्रतिबद्धता पूरा गर्न लाग्ने बताउनुभयो ।  

उहाँले पर्सा जिल्ला कृषि र कृषकका लागि उर्वर भूमि रहेकाले मल सिँचाइको सहज उपलब्धता तथा निमुखा र गरिब असहाय परिवारका बालबालिकालाई  विद्यालयसम्म पहुँच पु¥याउने वातावरणको निर्माणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अब बन्ने सरकारले परिवर्तनका लागि  काम गर्ने स्पष्ट पार्नुभयो ।