नवीनराज कुइँकेल
लमजुङ, चैत ३ गते । फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनले लामो समयदेखिको राजनीतिक प्रभाव उल्टाइदिएको छ । अघिल्लो निर्वाचनमा पराजित भएका धर्मराज केसीले यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार बनेर नतिजा मात्र उल्ट्याउनुभएको छ ।
विसं २०७९ मा पार्टी घोषणासँगै रास्वपामा जोडिएका केसी त्यही वर्षको मङ्सिरमा भएको चुनावमा लमजुङबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभयो । सो निर्वाचनमा नौ हजार २९ मत ल्याएर तेस्रो बन्नुभयो । त्यतिबेला पाँच दलको गठबन्धनलाई पराजित गर्दै एमालेका पृथ्वीसुब्बा गुरुङ ३४ हजार ९६९ मतसहित निर्वाचित हुनुभएको थियो । उहाँका निकटतम प्रतिस्पर्थी कांग्रेस–माओवादी केन्द्र गठबन्धनका उम्मेदवार तत्कालीन माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले ३१ हजार ७८१ मत ल्याउनुभएको थियो ।
करिब तीन वर्षपछि भएको निर्वाचनमा केसीले परिणाम उल्ट्याएर निकटतम प्रतिद्वन्द्वी पृथ्वीसुब्बा गुरुङलाई १७ हजार २२ मतको फराकिलो अन्तरले पराजित गर्नुभयो । कुल ७५ हजार ४६० मतमध्ये उहाँले ३३ हजार ८९८ मत पाउनुभयो । एमालेका पृथ्वीसुब्बा गुरुङले १६ हजार ८७६ मत पाउनुभयो । कांग्रेसका गमप्रसाद गुरुङले १६ हजार ५६९ मत पाउनुभयो । नेकपाका हरिजङ्ग तामाङले तीन हजार ३७१ मत पाउनुभयो । यस पटक दुई हजार ४५० मत बदर भएको छ ।
लमजुङ सुन्दरबजार नगरपालिका–६, खत्रीठाँटीका ४५ वर्षीय केसीले २०५६ मा अमृत साइन्स क्याम्पसबाट आइएस्सी र २०६० मा बिएस्सी अध्ययन सकेपछि उहाँ अन्तर्राष्ट्रिय छात्रवृत्ति कार्यक्रममार्फत अनुसन्धान प्रस्तावमा छनोट भएर दक्षिण कोरिया पुग्नुभयो ।
दक्षिण कोरियाको अजु विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातकोत्तर गर्नुभएका उहाँले ऊर्जा नीति र जलवायु परिवर्तनका क्षेत्रमा अध्ययन र काम गर्नुभएको थियो । उहाँले रास्वपा सरकारमा हुँदा शिक्षामन्त्री सुमना श्रेष्ठ र जेनजी आन्दोलनपछिका शिक्षामन्त्री महावीर पुनको सचिवालयमा बसेर काम गर्नुभएको थियो ।
रास्वपा लमजुङका संस्थापक लमजुङ जिल्ला सभापति उहाँ हाल पार्टीको केन्द्रीय सङ्गठन विभाग सदस्य हनुहुन्छ । निर्वाचित भएपछि उहाँले गुगलमा भेटिने नभई भूगोलमा भेटिने नेताका रूपमा आफूलाई स्थापित गर्ने प्रतिबद्धता जनाउनुभयो । “हामीले पहिलो हारलाई जितका रूपमा लियौँ । नागरिकलाई बुझाउँदै गयौँ । अहिले यो परिणाम आयो,” उहाँले भन्नुभयो, “अब देश नीतिले चल्नु पर्छ, नेताले होइन । नीतिप्रधान हुनुपर्छ नेताप्रधान हुनुहुँदैन भनेका छौँ । त्यही अनुसार काम गर्छु ।”
उहाँले भन्नुभयो, “यो जिल्लाका बासिन्दाको आवाज सरकारसम्म पु¥याउने छु । जनताले देखिने गरी काम गर्ने छु र यहाँका मतदातासँग बसेर विकासको योजना बनाएर काम गर्छु ।”