नवराज नेपाली
बागलुङ (गलकोट) चैत ३ गते । दादुरा प्रभावित क्षेत्र ढोरपाटनमा खोप लगाइएको छ । खोप अभियान सम्पन्न गरेपनि दादुरा अझै नियन्त्रणमा आइनसकेको हो । फागुनको पहिलो सातादेखि फैलिएको दादुराका अझै २० बिरामी आइसोलेसनमा उपचाररत रहेका छन् । सोमबार मात्रै ५ जना बिरामी उपचारपछि घर फर्केका छन् ।
फागुन पहिलो सातादेखि हालसम्म १२६ जना दादुराको शंकास्पद लक्षण देखिएको छ भने सात जनामा दादुरा पुष्टि भइसकेको छ । दादुराको बिरामी २१ जनाको नमूना संकलन गरी काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट परीक्षण गरिएकोमा सात जनामा दादुरा संक्रमण पुष्टि भइसकेको छ भने २० जना अझै अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् ।
शंकास्पद १२६ जनामध्ये ८७ जना अस्पताल भर्ना भएका थिए । जसमध्ये जसमध्ये ६७ जना घर फर्किसकेका छन् भने २० जना अझै अस्पतालमा भर्ना भएर उपचाररत रहेको जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले जानकारी दिनुभयो ।
महामारीको रुपमा बागलुङको ढोरपाटनमा फैलिएको दादुरा नियन्त्रणका लागि विभिन्न उपायसँगै खोप समेत लगाइएको छ । शर्माका अनुसार २१ जनाको नमूनामा सात जनामा दादुरा पुष्टी भइसकेको थियो । नियन्त्रणका लागि सचेतना जगाउने, खोप लगाउने र विद्यालय बन्द गर्ने जस्ता कार्य भइरहेको छ । खोप लगाएको कम्तिमा पाँचदेखि सात दिनपछि दादुरा सर्नबाट घट्दै जाने शर्माले जानकारी दिनुभयो ।
जनस्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीका अनुसार पाँच हजार ७६७ जनालाई खोप समेत लगाइएको छ । दादुरा नियन्त्रणका लागि स्वास्थ्यकर्मीको समूह दिनरात खटिएको खत्रीको भनाइ छ । अझै खोप लगाउन छुटेकाको विश्व स्वास्थ्य संगठनका प्रतिनिधिले खोजी कार्य समेत गरिरहेको छ ।
बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप अभियान सम्पन्न गरेपनि छुटेकालाई अझै खोप लगाउन सकिनेछ । नगरका नौं वटै वडामा खोप अभियान सम्पन्न गरेपनि महामारीको रुपमा ढोरपाटनको तीन वटा वडामा फैलिएको हो । बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ७, ८ र ९ को बोबाङ, सेराबाङ र लाकुरीबोट गाउँमा दादुरा संक्रमण फैलिएको हो ।
ढोरपाटनको विकट गाउँमा महामारीको रुपमा फैलिएको दादुरा प्रकोप नियन्त्रणका लागि ढोरपाटन नगरपालिका भरका ६ हजार ७६३ बालबालिका र किशोर किशोरीलाई खोप लगाउने लक्ष्य अनुसार ५ हजार ७६७ जनालाई खोप लगाइएको छ ।
दादुरा नियन्त्रणका लागि ढोरपाटन नगरपालिका–८ बोबाङ स्वास्थ्य चौकी र बुर्तिबाङ अस्पतालमा आइसोलेसन तयार गरेर उपचार भइरहेको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार अहिले बुर्तिबाङ अस्पतालमा १६ र बोबाङ स्वास्थ्यचौकीमा ४ जना दादुरा शंकास्पद बिरामीको उपचार भइरहेको छ । दादुरा शंकास्पदमा ६१ पुरुष र ६५ महिला रहेका छन् । दादुराबाट छ महिनादेखि ४८ वर्ष उमेर समूह, गर्भवती र स्थानपान गराइरहेकी महिला प्रभावित भएका छन् ।
तत्काललाई दादुरा नियन्त्रणका लागि ढोरपाटन गरी थप फैलन नदिनका लागि नगरपालिकाका सबै नौ वटै वडाका १० देखि १९ वर्ष उमेर समूहका किशोर किशोरीलाई दादुराको खोप प्रदान गरिएको हो । यस्तै उपचारमा सम्लग्न रहेका २३७ स्वास्थ्यकर्मीलाई समेत दादुरा बिरुद्धको खोप लगाइएको हो । फागुन ८ गते ढोरपाटनमा एक जनालाई दादुरा संक्रमण भएको पुष्टि भएको थियो । त्यस यता थप सात जनामा संक्रमण पुष्टी भएको र लक्षणका बिरामी पुन बढिरहेको पाइएको छ ।