• ३ चैत २०८२, मङ्गलबार

इनिशाको शव अस्पतालमै

blog

सुर्खेत समाचारदाता

सुर्खेत, चैत ३ गते । गत फागुन २३ गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ को जनजागरण सामुदायिक वनका मृत भेटिएकी १६ वर्षीय इनिशा विकको शव अझै उठेको छैन । स्वतन्त्र र निष्पक्ष छानबिन, घटनामा संलग्नलाई कडा कारबाहीसहित न्यायको माग राख्दै घटना भएको १० दिन बितिसक्दा पनि उहाँको परिवारले शव उठाउन मानेको छैन । इनिशाको शव सुर्खेतस्थित प्रदेश अस्पतालमै छ । 

इनिशाको बलात्कारपछि हत्या गरिएको भन्दै जिल्लासहित देशभर आन्दोलन भइरहेको छ । इनिशाको अत्यधिक रक्तस्रावपछि मृत्यु भएको पोस्टमार्टम रिपोर्टमा देखिएको परिवारले बताउँदै आएको छ । 

प्रहरीले घटनाको बारेमा प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) बाट गहन अनुसन्धान भइरहेको जनाएको छ । सुर्खेत प्रहरीका सूचना अधिकारी एवं डिएसपी मोहनजङ्ग बुढथापाले प्रहरी निरीक्षकको कमान्डमा ब्युरोको विज्ञ टोली शुक्रबार वीरेन्द्रनगर आएपछि शनिबारदेखि गहन अनुसन्धान सुरु गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यस विषयमा गहन अनुसन्धान भइरहेकाले थप विवरण आउन केही समय लाग्छ ।” उहाँले फरेन्सिक ल्याबमा पीडित र पीडक परिवारका दुवै जनाको मोबाइललगायत विद्युतीय सामग्री अनुसन्धानका लागि पठाइएको र त्यसको रिपोर्ट आइनसकेको स्पष्ट पार्नुभयो । 

डिएसपी बुढथापाका अनुसार पीडित परिवारले दिएको जाहेरीका आधारमा शव परीक्षणका लागि थप अनुसन्धान गर्न भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यको टोलीले प्रदेश अस्पताल सुर्खेत पुगेर शव परीक्षण गरी त्यसको प्रतिवेदनसमेत दिइसकेको छ ।  प्रतिवेदन अनुसार जबरजस्ती करणी गर्दा मृतकको संवेदनशील अंग च्यातिएको र अत्यधिक रक्तस्राव हुँदा मृत्यु भएको उल्लेख छ । घटनापछि चार किशोरलाई प्रहरीले पक्राउ गरी म्याद थप गरेर अनुसन्धान थालिसकेको छ । गुर्भाकोट–६, बडाखोली स्थायी घर भएकी इनिशाको गत फागुन २३ गते बिहान ट्युसन पढ्न भनी घरबाट हिँड्नुभएको थियो । इनिशाका दाजु चक्र विकले घटनाको निष्पक्ष र स्वतन्त्र छानबिन गरी घटनामा संलग्नलाई कानुनी कारबाही नभएसम्म आफूहरूले शव नउठाउने बताउनुभयो ।