• ४ चैत २०८२, बुधबार

हावाहुरीले ६ घर र २ विद्यालयमा क्षति

blog

हावाहुरीले विद्युतको पोल ढलेपछि अलपत्र परेको तार ।

शेरबहादुर राई

ओखलढुङ्गा, चैत ३ गते । ओखलढुङ्गामा सोमबार दिउँसोदेखि रातिसम्म चलेको हावाहुरीका कारण ६ घर र २ विद्यालयमा क्षति पुगेको छ । प्रारम्भिक विवरण अनुसार घर तथा विद्यालयका छाना उड्दा करिब ९ लाख ३० हजार रुपियाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक मदन केसीका अनुसार हावाहुरीले घर, विद्यालय भवन, टहरा तथा गोठमा समेत क्षति पुगेको छ । रुख ढलेपछि जिल्लाको विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध हुनुका साथै ग्रामीण सडक पनि प्रभावित बनेको छ । 

हावाहुरीबाट सिद्धिचरण नगरपालिका–४ रुम्जाटार, वडा नं. २ ठुलाछाप, वडा नं. ११ मिलनचोक, सुनकोशी गाउँपालिका–४ र ५, तथा मोलुङ गाउँपालिका–१ लगायत क्षेत्रमा घरमा क्षति पुगेको छ । 

सुनकोशी गाउँपालिका–५ डाँडाखर्कस्थित चौतारा माध्यमिक विद्यालय र वडा नं. ६ पारस्थित दामति माध्यमिक विद्यालयको छाना उडेको प्रहरीले जनाएको छ । सुनकोशी गाउँपालिका–४ चिउरीबोट क्षेत्रमा हावाहुरीले बढी क्षति गरेको छ । स्थानीयका अनुसार सुनकोशी–४ हुँदै वडा १ सम्म जोडिएको विद्युत लाइनका चारवटा पोल ढलेको छ । 

स्थानीय जंगबहादुर राईका अनुसार विद्युत पोल र रुख ढल्दा चिउरीबोटसम्म ल्याइएको खानेपानी पाइपमा क्षति पुग्दा करिब ३४ घरधुरी प्रत्यक्ष प्रभावित भएका छन् । यसैबिच, सुनकोशी गाउँपालिका–२ टाकिटारमा हावाहुरीसँगै परेको चट्याङ लाग्दा बलबहादुर तामाङको गोठमा बाँधिएको एक भैंसी मरेको प्रहरी चौकी पलापुले जनाएको छ । 

प्रहरीका अनुसार हावाहुरीबाट भएको क्षतिको यकिन विवरण वडा कार्यालयमार्फत संकलन भइरहेको छ । विभिन्न स्थानबाट थप विवरण आउनेक्रम जारी रहेकाले क्षतिको आकार अझै बढ्न सक्ने अनुमान गरिएको छ ।