सवारी कर सच्याउने तयारी
जनस्तरबाट चर्को आलोचना भएपछि गण्डकी प्रदेश सरकारले सवारी करमा लगाएको दोब्बर जरिवाना हटाउने तयारी गरेको छ। सवारीधनीको ढाड सेक्नेगरी बढाइएको दुई सय प्रतिशत जरिवाना तत्कालका लागि स्थगित गरिएको प्रदेश सरकारले र जनाएको छ।
सम्पत्ति हडप्न भाइ र बुहारीको हत्या
बाँकेको कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा सम्पत्ति हडप्नकै लागि एक व्यक्तिले योजनाबद्ध तरिकाले पेसेवर अपराधीलाई ‘सुपारी दाम’ दिएर आफ्नै सहोदर भाइबुहारीको हत्या गरेको रहस्य खुलेको छ । पार्वतीपुरनिवासी विजय गडरिया र उनकी पत्नी रेखा गडरिया दम्पतीले पुख्र्यौली सम्पत्ति हात पार्नकै लागि योजनाबद्ध ढङ्गले भाइ कृष्ण गडरिया र बुहारी अञ्जली गडरियाको हत्या गराएको प्रहरीले खुलासा गरेको छ ।
फालिए अक्सिजन सिलिन्डर
कालीकोटमा कोरोना महामारीको चरम सङ्क्रमणका बेला सहयोगी संस्थाले दिएका अक्सिजन सिलिन्डर जिल्ला अस्पताल बाहिर बेवारिस रूपमा फालिएको छ । कालीकोटमा अक्सिजनको चरम अभावका बेला विभिन्न संस्थाहरूले अक्सिजन ग्यासको सिलिन्डर उपलब्ध गराएका थिए । जिल्ला अस्पतालले नै अक्सिजन आफँै उत्पादन गर्न सुरु गरेको थियो ।
कर्णाली तटमा बाढी बीमा हुने
कर्णाली नदी तटका किसानको बाली बाढीले नोक्सान भए बिनाझन्झट दाबी भुक्तानी पाउन सूचकाङ्कमा आधारित बाढी बीमा लागू गर्न सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकार एवं कर्णाली नदी तटका पाँच पालिकाका जनप्रतिनिधि सहमत भएका छन्।
कुहिन थाले अग्निपीडितका टेन्ट
कैलालीको कैलारी गाउँपालिका–७, विपतपुर मुक्तकमैया शिविरका अग्निपीडित मुक्तकमैया समस्यामा परेका छन्। घर नबन्दा पीडित मुक्तकमैया समस्यामा परेका हुन्। तीन महिनादेखि टेन्ट (पाल)मा बस्दै आएका उनीहरूलाई वर्षा याम कटाउन धौ–धौ भएको छ। सङ्घसंस्थाले दिएको टेन्ट घामपानीका कारण कुहिन थालेकाले समस्या बल्झिएको पीडितहरूको भनाइ छ।
अलपत्र चिस्यान केन्द्र
जिल्लाको मन्थली नगरपालिका–१ मा निर्माण गरिएको तरकारी तथा फलफूल चिस्यान केन्द्र अलपत्र परेको छ । बागमती प्रदेश सरकारको पाँच करोड र मन्थली नगरपालिकाको दुई करोड दस लाख रुपियाँको लागतमा साझेदारीमा चिस्यान केन्द्र निर्माण भएको हो । गत आर्थिक वर्ष २०७८÷७९ बाटै सञ्चालन हुनुपर्ने यो चिस्यान केन्द्र सञ्चालनमा आउन नसक्दा जिल्लामा उत्पादित जुनारलगायतका अमिलो जातका फलफूल, किवी, आलु र तरकारी उत्पादन गर्दै आएका किसान समस्यामा परेका छन् । चिस्यान केन्द्रको व्यवस्थापनका लागि सामान्य घेराबारसमेत नहुँदा अहिले सवारी पार्किङ र कुकुरलगायतका पशु चौपाया बस्ने थलो बनेको स्थानीय पूर्ण सुवेदीले बताउनुभयो ।
यथास्थितिमा मेलम्चीको पानी लैजान नदिइने
हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले यथास्थितिमा मेलम्चीको पानी राजधानी लैजान नदिने चेतावनी दिनुभएको छ । बाढीले क्षत्विक्षत् भएको हेलम्बुलाई बेवास्ता गरी हेलम्बुको पानी मात्रै लैजाने सरकारी योजनालाई पूरा हुन नदिने उहाँले बताउनुभयो ।
७० वर्षीय बाबुलाई बचाउन छोराले दिए कलेजो
कलेजो दान दिएर बागलुङ नगरपालिका–२ का निलेश राजभण्डारीले बुबा अशोकगोविन्दको जीवनरक्षा गर्नुभएको छ । कलेजो बिग्रेर कामै नगर्ने अवस्थामा पुगेपछि छोरा निलेशको कलेजोको आधा भाग ७० वर्षीय बुबामा प्रत्यारोपण गरिएको हो ।
सिटी स्क्यान मेसिन खरिद प्रक्रियामा गम्भीर त्रुटि
बागमती प्रदेश सरकारले खरिद गर्न लागेको सिटी स्क्यान मेसिन खरिद प्रक्रियामा गम्भीर त्रुटि गरेको पाइएको छ । प्रदेश सरकार मातहतका पाँचवटा अस्पतालमा जडान गर्ने गरी सिटी स्क्यान मेसिन खरिद प्रक्रिया अगाडि बढाइएकोमा कर्मचारीको मिलेमतोमा अनियमितताको आशङ्कासँगै सार्वजनिक रूपमा विरोध भएपछि ठेक्का प्रक्रिया नै रद्द गरिएको थियो ।