• १७ असार २०८१, सोमबार

सम्पत्ति हडप्न भाइ र बुहारीको हत्या

blog

सिराज खान/गोविन्द शर्मा 

नेपालगञ्ज, साउन १२ गते ।  बाँकेको कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा सम्पत्ति हडप्नकै लागि एक व्यक्तिले योजनाबद्ध तरिकाले पेसेवर अपराधीलाई ‘सुपारी दाम’ दिएर आफ्नै सहोदर भाइबुहारीको हत्या गरेको रहस्य खुलेको छ । 

पार्वतीपुरनिवासी विजय गडरिया र उनकी पत्नी रेखा गडरिया दम्पतीले पुख्र्यौली सम्पत्ति हात पार्नकै लागि योजनाबद्ध ढङ्गले भाइ कृष्ण गडरिया र बुहारी अञ्जली गडरियाको हत्या गराएको प्रहरीले खुलासा गरेको छ ।

अभियुक्त विजय र रेखाले बाँकेकै दुई जनालाई भाइबुहारीको हत्या गर्न दुई लाख ५० हजार रुपियाँ सुपारी दिएको कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले बताउनुभयो । 

कृष्ण र अञ्जली एक दिनअघि आफ्नै निवासमा रहस्यमय ढङ्गले मृत अवस्थामा फेलापरेका थिए । सो घरको माथिल्लो तलामा कृष्णका दाजुभाउजूमात्र बस्दै आएका थिए । 

रगतले लत्पतिएको अवस्थामा उहाँहरूको शव कोठामा भेटिएको थियो । सो घटनालगत्तै प्रहरीको अनुसन्धान टोलीले दाजुभाउजू विजय र उनकी पत्नी रेखालाई उच्च निगरानीमा राखिएको थियो । अभियुक्तले हत्या स्वीकारेको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिनुभयो । 

सो घटनामा भाइ कृष्णले पत्नीको हत्या गरी आफूले आत्महत्या गरेको देखाउन खोजिए पनि तालिमप्राप्त कुकुरले भने सहोदर दाजु र भाउजूलाई नै सङ्केत गरेपछि रहस्यमय घटनाको सत्य खुलेको हो । 

पिता धीरन गडरियाको नाममा रहको करिब २० करोड रुपियाँको सम्पत्ति हडप्न यसअघि पनि दाजुभाइबीच पटक–पटक विवाद र झगडा भएको देखिन्छ । तर केही सीप नलागेपछि दाजुभाउजूले नै भाइ र बुहारी तथा उहाँको पेटमा रहेको चारमहिने बच्चाको हत्या गरेको प्रहरीले जानकारी दिएको छ । 

‘पोस्टमार्टम रिपोर्ट’ले पनि गडरिया पतिपत्नीको निर्मम तरिकाले हत्या भएको र अञ्जलीको पेटमा चार महिनाको बच्चा रहेको पुष्टि भएको प्रहरीले जनाएको छ । 

सो हत्यामा प्रत्यक्ष रूपमा संलग्न तथा सुपारी लिनेहरू नेपालगञ्ज उपमहानगरको लग्दहवाका साकिर अलि बेहना र सुर्जिगाउँका राजन सोनकरलाई प्रहरीले एकथान पेस्तोलसहित पक्राउ गरेको छ । हत्या घटनाका अभियुक्तले दाजुभाउजूको निर्देशनमा गडरिया दम्पतीको हत्या गरेको स्वीकारेका छन् । हत्या गर्न दुई लाख ५० हजार सुपारी लिएको प्रहरीसँगको बयानमा खुलेको प्रहरी नायब उपरीक्षक मल्लले बताउनुभयो । 

हत्यापछि फरार बेहना र सोनकरले घटना अनुसन्धान अन्तै मोड्न पेस्तोलबाट फायर गरेको पनि देखिएको छ । घटनास्थलबाट केही गोलीका खोका पनि बरामद भएको प्रहरीले बताएको छ । यद्यपि मृतक दुवैलाई गोली लागेको देखिएन, पेस्तोलको प्रयोग तर्साउन र नियन्त्रणमा लिन गरिएको हुन सक्ने प्रहरीको अनुमान छ । 

एनआईसी एसिया बैङ्कबाट ५० लाख रुपियाँ ऋण लिएका विजयले सो ऋण तिर्न पटक–पटक पितालाई सम्पत्ति बिक्री गर्न दबाब दिएको तर पिताले नमानेपछि उहाँलाई समेत मार्ने योजना बनाएको प्रहरी हिरासतमा रहेका अभियुक्त विजयले प्रहरीसँगको बयानमा खुलाएको बताइएको छ ।