• ४ चैत २०८२, बुधबार

अनिष्ट पन्छाउन घोडादौड

blog

हरेक वर्ष चैत्र कृष्ण औँसीमा घोडेजात्रा मनाइन्छ । यसपालि ४ घडी २३ पला उप्रान्त आज बुधबार परेको छ । यस दिनलाई अश्वकला प्रदर्शन, घोडादौड प्रतियोगिताका रूपमा लिइन्छ । नेपाली सेनाले काठमाडौँको टुँडिखेलमा मनाउने यो एक किसिमको राष्ट्रिय उत्सव नै हो । राष्ट्र प्रमुख, सरकार प्रमुखलगायत धेरैको उपस्थितिमा हुने यो जात्रा हेर्न टाढा टाढाबाट समेत दर्शकको ठुलै उपस्थिति हुने गरेको छ । 

घोडेजात्रा विशेष र मौलिक पर्व हो । यस्तो उत्सव विश्वका अन्य मुलुकमा पाइँदैन । यो हाम्रो परम्परागत संस्कृति अनौठो छ । काठमाडौँमा मनाइने घोडेजात्राको अघिल्लो दिन चैत्रकृष्ण चतुर्दशीलाई पिशाच चतुर्दशी भनिन्छ । फागुको समापनपछि चैत्रकृष्ण अष्टमीका दिन पशुपति क्षेत्रबाट एक शिवलिङ्ग ल्याई काठमाडौँको ब्रह्मटोलको बुद्ध बिहारमा राखी ‘लुकुमाद्यो’ अर्थात् नेवारी परम्परा अनुसार लुकेका देवता भनी पिशाच चतुर्दशीमा स्नान गराई तामसी खाना खुवाउने गरिन्छ । यस दिन शिव गण प्रेत, पिशाचहरूलाई पूजाआजा गरेमा देशैभरि रोग, व्याधि, कष्ट, हैरानी बेहोर्नु नपर्ने भनाइ पनि छ । 

पिशाच चतुर्दशीका दिन काठमाडाैँको नक्साल भगवती, पशुपतिको वत्सला, जयवागेश्वरी र चाबहिल गणेशस्थानमा विशेष जात्रा मनाइन्छ । यस दिन काठमाडौँका नेवारले पाँचह्रे पर्व मनाउँछन् । प्रत्येक टोल, बस्तीमा महादेव लुकेर बसेका छन् भनी घरआँगन सफासुग्घर गरी टोल सुरक्षार्थ रहेका क्षेत्रपाल स्वरूप शिवको आराधना गर्छन् । सर्वेश्वर शिव अग्नि स्वरूप हुन्, आगोमा जे जुन वस्तु हाले पनि जल्छ, पच्छ । एक पटक शिव परिवारमा ठाक्ठुक् परेछ, अर्धाङ्गिनी पार्वती रिसाइछन् र उनले भोले बाबालाई ‘तिमीले मांसाहार गर’ भनिछन् । भोलेबाबाले पनि पिशाचको रूप लिएर मांसाहार गर्न थाले छन् । त्यही सम्झनास्वरूप यस दिनलाई पिशाच चतुर्दशी भन्न थालिएको रे ! 

काठमाडौँ उपत्यकामा धेरै देवदेवी छन् । असङ्ख्य मूर्तिहरू पनि छन् । नक्साल भगवती र जय बागेश्वरी देवीलाई दिदीबहिनीको रूपमा लिइन्छ । चैत्र मासमा यहाँ विशेष जात्रा हुने गर्छ । प्राचीन इतिहास अनुसार काठमाडौँकै नरदेवी, म्हैपी, भद्रकाली, असनकी देवी, सङ्कटा आदि पनि एकै सन्तति हुन् । पहिले पहिले एकै सन्तानमध्ये काठमाडौँकै लुतेदेवी र उनको परिवार गरिब रहेछ । दिदीबहिनीहरूले भोजभतेर गर्ने, मीठा, रसिला खाना खाने, खुवाउने तर लुतेदेवी भने आफ्नो गरिबीको कारण यसो गर्न नसकेकोमा चिन्तित भइछन् । अपमानसमेत खेपेकी लुतेदेवीले एक दिन आफ्नो खानेकुरामा सर्प देखिछन् र विषालु खाना सबै फाल्दा वरिपरि सुन भएछ । त्यही सुनका कारण अरूसरह लुतेदेवी पनि धनी भइछन् । उता दिदीबहिनीहरूले पालैपालो आफ्नो तडकभडक देखाउँदै गरेछन् । देखासिकीकै कारण लुतेदेवीले पनि आफ्नो छुट्टै जात्रा चलाउन थालिछन् । यसै क्रममा आएको हो पशुपतिको अर्को पर्व बालाचतुर्दशी । धानले धनी हुने महिना मार्गकृष्ण चतुर्दशी । यसै क्रममा काठमाडौँमा थपिएको हो चैत्रकृष्ण चतुर्दशीमा मनाइने भनौँ पाँचह्रे पर्व । यसरी चाडपर्व सुरु हुने र थपिने क्रममा धेरै किंवदन्ती भेटिन्छन् । चाडपर्वहरू काठमाडौँमा मात्रै नभएर देशैभरि छन् । यसले देशको मौलिकपना झल्केको छ । यही शैलीलाई हेर्न विदेशी पनि लालयित देखिन्छन् ।

यसै गरी घोडेजात्रा पनि मनाइन्छ । सरकारीस्तरबाटै मनाइने घोडेजात्रा अन्यत्र कहीँ नभएको जात्रा हो । यो जात्रा देखाएरै काठमाडौँको टुँडिखेलसँगै भद्रकालीलाई खुसी गराउने चलन छ । हनुमान ढोका परिसरस्थित कुमारी घरबाट जीवित देवी स्वरूप कुमारीलाई घोडचढीसहित बग्गीमा राखी टुँडिखेल ल्याइन्छ । उनै देवीलाई सम्मानका साथ सेनाद्वारा सलामी चढाइन्छ र घोडा दौड प्रदर्शनी सुरु गरिन्छ । अश्वकलाको प्रदर्शनी भनौँ वा घोडेजात्रा नेपाली सेनाद्वारा गराइने प्रचलन छ । घोडेजात्राको चलन चलेपछि काठमाडौँका राजाले भद्रकालीमा चैत्रकृष्ण औँसीका दिन बिहानै दर्शन गर्ने परम्परा बसेको हो । पहिलेका राजा, महाराजाहरू त्यतिबेला भद्रकालीको दर्शन गर्न जाँदा घोडामा जाने गर्थे । एक पटक यहाँका प्रधानमन्त्री विदेश गएछन् । विदेशमा अश्वकला अर्थात् घोडादौड देखेछन् र फर्केर प्रधानमन्त्री आएपछि यहाँ पनि घोडेजात्रा सुरु गराएछन् । त्यही परम्परा अहिले धानिँदै छ ।

त्यति बेला काठमाडौँ वरपर टुँडी नामको राक्षसले दुःख दिने गर्दथ्यो । अबोध साना बच्चा खाइदिने, उसको राक्षसीशैलीले जनता वाक्कदिक्क भएछन् । सबै मानिस मिलेर टुँडीलाई समाती चउरमा खाल्डो खनेर जिउँदै गाडेछन् । सो चउरको नाम अहिले टुँडिखेल भएको छ । टँुडी नामको राक्षसबाट फेरि कसैलाई अनिष्ट नहोस् भनी त्यहाँ सैन्य बल प्रदर्शन, घोडचढी प्रतियोगिता पनि गर्ने गरियो । देश दैव भूमि हो । केही सय वर्षअघिसम्म पनि यहाँका शासकहरू देवदेवीसँग सिधै वार्ता गर्न सक्थे भनिन्छ । गोरखकाली, मनकामना, गोरखनाथ, मत्स्येन्द्रनाथ, बज्रयोगिनी, खड्गयोगिनीको उपासना अझै भइरहेकै देखिन्छ । शास्त्रीय भनाइमा कुनै रथयात्रा, अश्वयात्रा, गजयात्रा, गो यात्रा गरेको यस्तो ठाउँ सदाका लागि पवित्र हुन्छ, कोही, कतैबाट पीडा हुँदैन भन्ने मान्यता छ । त्यसैले पनि वर्षमा एक पटक काठमाडौँको केन्द्र टुँडिखेलमा अश्वयात्रा गरेपछि कुनै अनिष्ट नहुने भन्ने मान्यता रहेको छ । 

अर्को प्रसङ्ग छ : धेरै पहिले भारतको कामरु कामाक्षबाट काठमाडौँका शाश्वतबज्र नामका तान्त्रिकले तन्त्र साधनाबाट त्यहाँकी भद्रकालीलाई काठमाडौँसम्म ल्याए । ल्याउने क्रममा केहीबेर भद्रकालीलाई उनले हालको जमल नजिक बाटैमा राखे । शौच गर्न गएका तिनीबाट देवी रिसाइन्, जमिनमा त्यसै राख्न नहुने भनेर । देवीलाई उठाउन खोजियो तर सकिएन । अनि देवीले भनिन्, ‘यो ठाउँबाट फेरि आफू अन्यत्र नसर्ने’ । शाश्वतबज्रको आफ्नो धोको पूरा भएन, उनको इच्छा पूरा हुने नदेखेर उनले भद्रकालीलाई अनुनय विनय गरेर भने, ‘हे देवी मैले अन्यत्र कतै नचलाइएको मौलिक जात्रा घोडेजात्रा यहाँ चलाइदिन्छु केही पर खालि स्थानमा तिम्रो मूर्ति सजाउँछु, कृपया यहाँबाट उठिदेऊ न’ । यसरी देवीलाई उनले फकाए । भद्रकालीलाई जमलबाट उठाई टुँडिखेल आडैमा जहाँ हालको मन्दिर परिसर छ, त्यहाँ राखे । वर्षमा एकदिन घोडेजात्रा चलाउने चलन त्यसै बेलादेखि चलेकोे जनश्रुति छ । यस्ता पर्व विशेष काठमाडौँ उपत्यकामा धेरै छन् र उपत्यका बाहिर पनि छन् । माथि वर्णित काठमाडौँको ओमबहालमा लुकुवा महादेवको मूर्ति अहिले पनि देख्न सकिन्छ । एक वर्षसम्म जमिनमुनि रहने यी देवतालाई घोडेजात्राको अघिल्लो दिन पूजा दर्शन गरी साना महादेव भनेर स्तूति पुकार गर्ने चलन छ । काठमाडौँ उपत्यकाको संस्कृति भिन्न प्रकारको छ । यस्तो पर्व मेला भर्न, हेर्न विदेशीसमेत उपस्थित भएको पाइन्छ ।