मुलुक युवामय शक्तिशाली एकल बहुमतको नयाँ सरकारको प्रतीक्षामा छ । बिनाअवरोध निर्धारित समयमा प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा भएसँगै अब नयाँ सरकार बनाउने प्रक्रिया सुरु हुँदै छ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० सदस्य निर्वाचित भएको घोषणा गरेसँगै निर्वाचन तथा मतपरिणामसमेतको प्रक्रिया पूरा भएको छ । आयोगले मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्न तयारी गर्दै छ । प्रत्यक्ष निर्वाचनतर्फका १६५ निर्वाचन क्षेत्रको परिणाम यसअघि नै सार्वजनिक भइसकेको छ । प्रत्यक्ष निर्वाचनबाट निर्वाचित १६५ जना र समानुपातिकतर्फबाट निर्वाचित ११० जना गरी कुल २७५ सदस्यीय प्रतिनिधि सभा बनेको छ । निर्वाचनमा सहभागी ६८ राजनीतिक दलमध्ये समानुपातिक निर्वाचनतर्फ कुल सदर मतको तीन प्रतिशत थ्रेसहोल्ड कटाउने छ वटा राजनीतिक दल मात्र राष्ट्रिय पार्टी बनेका छन् । ती दलले मात्र समानुपातिकमा सिट पाएका छन् । आयोगले गरेको सिट बाँडफाँट अनुसार आइतबारसम्म छ वटा राजनीतिक दलका तर्फबाट सिट अनुसार तोकिएको समूहबाट उम्मेदवार सिफारिस भएका थिए । आयोगले सूची परीक्षणपछि सोमबार निर्वाचित सदस्यको नाम सर्वाजनिक ग¥यो । समानुपातितर्फ निर्वाचित ११० सदस्यलाई आयोगले भोलि (बिहीबार) प्रमाणपत्र प्रदान गर्दै छ ।
आयोगको सिट बाँडफाँट अनुसार समानुपातिकमा सबैभन्दा बढी सिट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाएको छ । रास्वपाले ५७ सिट पाउँदा नेपाली कांग्रेसले २०, नेकपा (एमाले ) ले १६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले नौ, श्रम संस्कृति पार्टीले चार र राष्ट्रिय प्रजातन्त्र पार्टीले चार सिट पाएका छन् । रास्वपाबाट ५७ सदस्य निर्वाचित हुँदा आदिवासी जनजाति समूहबाट १६ जना रहेका छन्, जसमा १३ महिला र तीन पुरुष छन् । महिलातर्फ अपाङ्गता भएको कोटा पनि सुरक्षित गरिएको छ । यस्तै खसआर्यबाट एक पुरुषसहित १७ जना निर्वाचित भएका छन् । पिछडिएको क्षेत्रको समूह पनि खसआर्य समूहमै समेटिएको छ । रास्वपाबाट दलित समूहमा आठ, थारू चार, मधेशी नौ र मुस्लिम तीन जना निर्वाचित भएका छन् । ५७ मध्ये ४८ महिला उम्मेदवार निर्वाचित भएका छन् । यस्तै कांग्रेसबाट आदिवासी जनजातितर्फ छ जना निर्वाचित भएका छन्, जसमा दुई जना पुरुष र चार जना महिला छन् । खसआर्य समूहबाट छ, थारूबाट एक, दलितबाट तीन, मधेशीबाट तीन र मुस्लिम समूहबाट एक जना निर्वाचित भएका छन् । एमालेबाट १६ सिटमा आदिवासी जनजातिबाट चार, खसआर्यबाट पाँच, थारूबाट एक, दलितबाट दुई, मधेशीबाट तीन र मुस्लिम समूहबाट एक जना सदस्य निर्वाचित भएका छन् । यस्तै नेकपाबाट नौ सिटमा खसआर्यबाट तीन, आदिवासी जनजातिबाट दुई, दलितबाट दुई, मधेशी एक र थारूबाट एक जना निर्वाचित भएका छन् । श्रम संस्कृति पार्टीबाट आदिवासी जनजाति, खसआर्य, दलित र मधेशी समूहबाट एक÷एक जना निर्वाचित भएका छन् । राप्रपाबाट आदिवासी जनजातिमा एक, खसआर्यमा दुई र मुस्लिममा एक जना निर्वाचित भएका छन् । आयोगको तयारी अनुसार निर्वाचित समानुपातिक सदस्यहरूलाई प्रमाणपत्र वितरण गरेलगत्तै बिहीबारै निर्वाचनको अन्तिम परिणाम राष्ट्रपतिलाई बुझाइने छ । आयोगले राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेस गरेसँगै उक्त जानकारी सङ्घीय संसद्मा पठाइने छ । परिणाम संसद् पुगेसँगै शपथको तयारी तथा राजनीतिक दलहरूबाट सरकार गठनको प्रक्रिया समानान्तर रूपमा अगाडि बढाइने छ । संसद् सचिवालयले प्रतिनिधि सभा सदस्य नियमावलीको व्यवस्था अनुसार शपथका लागि ज्येष्ठ सदस्य निक्र्योल गर्ने छ । ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिएपछि अरू सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउने व्यवस्था छ । सदस्यहरूको शपथपछि दलहरूले संसदीय दलको नेता चयन गर्ने छन् ।
गएको फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा रास्वपाले करिब दुई तिहाइको एकल बहुमत प्राप्त गरेकाले नेपालको संविधानको धारा ७६ (१) बमोजिम सरकार गठनको प्रक्रिया सुरु हुने छ । उक्त व्यवस्था अनुसार दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नुहुने छ । प्रधानमन्त्री नियुक्त गरिएपछि राष्ट्रपतिले सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुहुने छ । संवैधानिक व्यवस्था अनुसार निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको ३० दिनभित्र सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा ७६ (१) बमोजिमको सरकारले संसद्मा विश्वासको मत लिनु पर्दैन । यस पटकको निर्वाचनमा ऐतिहासिक सफलता हासिल गरेको रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बनाउने तयारी गरेको छ । झापा निर्वाचन क्षेत्र नं. ५ बाट निर्वाचित शाहलाई भावी प्रधानमन्त्री प्रस्ताव गरेर रास्वपा निर्वाचनमा जाँदा यो सफलता हात लागेको हो । ३६ वर्षीय शाह नेपाली युवामाझ निकै लोकप्रिय हुनुहुन्छ । उहाँको नेतृत्वमा बन्ने नयाँ सरकारले मुलुकलाई सही निकास दिने अपेक्षा गरिएको छ ।