• ४ चैत २०८२, बुधबार

नेपाली बजारमा युद्धको असर

महँगिए उपभोग्य वस्तुदेखि निर्माण सामग्रीसम्म

blog

शशिधर पराजुली 

विराटनगर, चैत ४ गते । अन्तर्राष्ट्रिय बजारमा देखिएको उथलपुथल र आपूर्ति शृङ्खलामा आएको अवरोधका कारण नेपाली बजारमा मूल्य वृद्धिको नकारात्मक असर देखा पर्न थालेको छ । पश्चिम एसियामा चर्किएको युद्ध र रुस–युक्रेन तनावको बाछिटा नेपाली उपभोक्ताको भान्सादेखि निर्माण क्षेत्रसम्म पर्न थालेको हो । 

अन्तर्राष्ट्रियस्तरमा आपूर्ति शृङ्खला प्रभावित हुँदा नेपालमा आयात हुने सामान र औद्योगिक कच्चा पदार्थको लागत ह्वात्तै बढेको छ, जसले आमसर्वसाधारणलाई महँगीको चर्को मारमा पार्न थालेको छ । 

समुद्रीमार्गमा देखिएको जोखिमका कारण सिपमेन्ट कम्पनीले प्रतिकन्टेनर झन्डै दुई हजार अमेरिकी डलरसम्म अतिरिक्त ‘सरचार्ज’ वा भाडा बढाएका कारण वस्तुको मूल्यवृद्धि अनिवार्य बनेको उद्योग सङ्गठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले बताउनुभयो । उहाँका अनुसार यसले आयातित वस्तुको लागत बढाउन मुख्य भूमिका खेलेको छ । नेपाल कच्चा पदार्थ र उपभोग्य वस्तु दुवैमा आयातमा निर्भर रहेकाले अन्तर्राष्ट्रिय बजारमा हुने सामान्य उतारचढावले पनि यहाँको बजारलाई अस्थिर बनाउने गरेको छ । 

विशेष गरी प्लास्टिकजन्य सामान बनाउन प्रयोग हुने ‘ग्रेनुअल्स’ को मूल्यमा २५ देखि ३० प्रतिशतसम्म वृद्धि भएको उद्योग सङ्गठन मोरङका पूर्वअध्यक्ष तथा प्लास्टिक उद्योगी राकेश सुरानाले जानकारी दिनुभयो । खाडी मुलुकबाट सिपमेन्ट रोकिएको र भारतले पनि औद्योगिक कच्चा पदार्थभन्दा खाना पकाउने ग्यास उत्पादनलाई प्राथमिकता दिएकाले यो समस्या जटिल बनेको उहाँको भनाइ छ । 

निर्माण क्षेत्रमा मूल्यवृद्धिको झन् धेरै असर परेको छ । निर्माण व्यवसायी दिलीप शर्माका अनुसार फलामे डन्डीको उपभोक्ता मूल्य प्रतिकेजी पाँच रुपियाँका दरले बढेको छ भने सिमेन्टको मूल्य प्रतिबोरा २५ रुपियाँका दरले बढाइएको छ । शर्मा भन्नुहुन्छ, “निर्माण क्षेत्रमा प्रयोग हुने पिभिसी पाइप, प्लास्टिकका पाइप, बिजुलीको तारलगायतका वस्तुको मूल्य अकासिएकाले अब निर्माण निकै महँगो हुने देखिएको छ । यसले विकास निर्माणका काममा समेत गम्भीर असर पु¥याउने छ ।”

औद्योगिक क्षेत्रको अवस्था पनि उस्तै निराशाजनक रहेको उद्योग सङ्गठन मोरङका पूर्वअध्यक्ष राकेश सुरानाले बताउनुभयो । उहाँका अनुसार कच्चा पदार्थ नै नपाउने समस्याले उद्योगहरू बन्द हुने अवस्थामा पुग्न सक्ने देखिएको छ । नेपाली व्यवसायीले एलसी खोलेर पैसा पठाइसकेको सामानसमेत भारतीय वा तेस्रो पक्षका आपूर्तिकर्ताले दिन इन्कार गरिरहेको भन्दै सुरानाले भन्नुभयो, “भारतीय आपूर्तिकर्ताले पुरानो अर्डर रद्द गरेर नयाँ बढेको मूल्य मागिरहेका छन् । उनीहरू पैसा फिर्ता लैजाऊ भन्छन् तर कच्चा पदार्थ पठाउन तयार छैनन् । यसले गर्दा नेपाली उत्पादन (विशेष गरेर प्लास्टिकजन्य वस्तु) ३५ देखि ४० प्रतिशतसम्म महँगो हुने स्थिति देखिएको छ ।”

पछिल्लो मूल्यवृद्धिको प्रत्यक्ष असर उपभोक्ताले दैनिक प्रयोग गर्ने खानेतेलमा पनि परेको छ । कच्चा पदार्थको अभाव र ढुवानी खर्च बढेका कारण खानेतेलको बजार मूल्य झन्डै २० प्रतिशतले वृद्धि भएको तेल उद्योगी राठीले जानकारी दिनुभयो । यसका साथै लुब्रिकेन्ट र ऊर्जाको क्षेत्रमा पनि सङ्कट देखिएको छ । बिटुमिन, फर्नेस आयल र डिजेलको मूल्य बढ्दा समग्र उत्पादन लागत महँगो भएको छ । इन्धनको मूल्यवृद्धिले ढुवानी भाडा बढ्दा त्यसको अन्तिम भार उपभोक्ताकै टाउकोमा थुपरिएको उद्योगीको भनाइ छ ।

महँगो मूल्यमा आयातित कच्चा पदार्थ वा तयारी वस्तुको भन्सार मूल्य पनि बढी तिर्नु पर्दा बजारमा वस्तु थप महँगो हुने भएकाले उपभोक्ता थप महँगीको मारमा पर्ने सम्भावना देखिएको छ । 

अध्यक्ष राठीले भन्नुभयो, “प्लास्टिकको मूल्य बढ्दा यसको ‘चेन इफेक्ट’ प्याकेजिङ, जुत्ताचप्पल र खाद्यान्न प्याक गर्ने बोरामा समेत परेको छ । नेपाल करिब आत्मनिर्भर भइसकेका जुत्ताचप्पल उद्योगसमेत अहिले कच्चा पदार्थको मूल्यवृद्धिका कारण अप्ठ्यारोमा परेका छन् ।

अन्तर्राष्ट्रिय बजारमा भएको महँगी र बजारको अनिश्चितताले गर्दा व्यवसायीले आजभोलि थोरै मात्र मालसामान खरिद गर्ने गरेका छन्, जसले बजारलाई शिथिल बनाएको छ । अर्कातर्फ, सङ्कटको मौका छोपेर ठुला कम्पनीले सामान ‘होल्ड’ गरेर थप नाफा कमाउन खोज्ने प्रवृत्तिले पनि महँगीलाई बल पु¥याएको नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय सदस्य अभिनाश बोहोराले बताउनुभयो । 

उहाँका अनुसार युद्ध अझै केही समय लम्बिने हो भने नेपाली बजारमा उपभोग्य वस्तुको मूल्य योभन्दा धेरै बढ्न सक्छ, अहिले भारतमा जति मूल्य बढेको छ त्यसको तुलनामा नेपालमा मूल्य बढेको छैन तर यो अवस्था अरू एक दुई साता लम्बिएको अवस्थामा निकै गाह्रो हुन सक्ने अनुमान गर्न सकिन्छ ।