• १७ असार २०८१, सोमबार

कुहिन थाले अग्निपीडितका टेन्ट

blog

धनगढी समाचारदाता

धनगढी, साउन १२ गते । कैलालीको कैलारी गाउँपालिका–७, विपतपुर मुक्तकमैया शिविरका अग्निपीडित मुक्तकमैया समस्यामा परेका छन्। 

घर नबन्दा पीडित मुक्तकमैया समस्यामा परेका हुन्। तीन महिनादेखि टेन्ट (पाल)मा बस्दै आएका उनीहरूलाई वर्षा याम कटाउन धौ–धौ भएको छ। सङ्घसंस्थाले दिएको टेन्ट घामपानीका कारण कुहिन थालेकाले समस्या बल्झिएको पीडितहरूको भनाइ छ। 

गएको वैशाख ११ गते भीषण आगलागी हुँदा ३५ घर पूर्ण रूपमा जलेर नष्ट भएको थियो। ३६ घरमा भने आंशिक क्षति भएको थियो। घर सम्पत्ति खरानी बनेका परिवार सोही समयदेखि टेन्टमा बस्दै आएका छन्। कतिपयले स–साना टहरो बनाएका छन्। 

उनीहरूले अहिलेसम्म घर बनाउन सकेका छैनन्। घर नभएकाले घामपानीसँग जुधेर बस्न बाध्य भएको पीडित मुक्तकमैयाको भनाइ छ। उनीहरू वर्षा नहोस् भनेर कामना गर्दै बस्दै आएका छन्। “पानी पर्ने बित्तिकै टेन्टबाट पानी चुहेर भिज्ने गरेका छौँ,” पीडित जानकीदेवी चौधरीले भन्नुभयो–‘सकेसम्म पानी नै नपरोस् भन्दै बस्छौँ। बर्खामा झन् समस्या भएको छ। 

घर नहुँदा वर्षा याममा बालबालिकालाई घामपानीबाट जोगाउन समस्या भएको पीडित मुक्तकमैयाले बताएका छन्। उनीहरूको बसोबासका लागि सुदूरपश्चिम प्रदेश सरकारले सुरक्षित आवास निर्माणको आश्वासन दिएको थियो। घर बनाउनका लागि आफूहरूसँग काठसमेत नरहेकाले सरकारको प्रतीक्षामा रहेको गाउँका भलमन्सासमेत रहनुभएका पीडित हिङ्गु चौधरीले बताउनुभयो। 

“हाम्रो सम्पत्ति, काठ सबै खरानी बनेकाले केही पनि छैन,” उहाँले भन्नुभयो, “सरकारले घर बनाइदिन्छौँ भनेको थियो। त्यसकै आशामा बसेका छौँ।” भलमन्सा चौधरीले घामपानीका कारण टेन्ट जीर्ण बनिरहेकाले सकेसम्म चाँडै घर बनाइदिन सरकारलाई आग्रह गर्नुभएको छ। 

पीडित मुक्तकमैयालाई यसअघि, सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावलले नगद सहयोग गर्नुभएको थियो। यसैगरी अन्य निकाय र सङ्घसंस्थाले पनि नगद, खाद्यान्नलगायत सहयोग गरेका छन्। 

आफूहरू सहयोगबाटै गुजारा गर्दै आएकोमा हाल खाद्यान्न सकिएर कतिपय परिवारलाई समस्या भएको स्थानीय दाउराम चौधरीले बताउनुभयो। “पाएको सहयोग खेतीपातीको कार्यमा लगायौँ,” उहाँले भन्नुभयो, “झन् यो वर्ष सबै चिज महँगियो।” 

यसैबीच, जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले अग्निपीडित मुक्तकमैयालाई घर बनाउन काठ दिन डिभिजन वन कार्यालयलाई सिफारिस गरिसकेको बताउनुभयो। वनले काठ दिने उल्लेख गर्दै उहाँले घर बनाउन रकमको व्यवस्था भने सुदूरपश्चिम प्रदेश सरकारले गरेको जानकारी दिनुभयो। 

भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमार्फत अग्निपीडित मुक्तकमैयाको घर बन्ने जनाइएको छ। मन्त्री विनिता चौधरीका स्वकीय सचिव दीर्घ बिनाडीले पीडित मुक्तकमैयाको घर बनाउनका लागि चालू आर्थिक वर्षमा बजेट विनियोजन भएको जानकारी दिनुभयो। घर बनाउनका लागि कार्यविधि बनाउने कार्य भइरहेको उहाँले उल्लेख गर्नुभयो। “कार्यविधि बन्नेबित्तिकै घर बनाउने कार्य सुरु हुन्छ,” उहाँले भन्नुभयो, ‘ह्याविटाट फर ह्युमानिटी नेपाल’ को प्राविधिक सहयोगमा मन्त्रालयले अग्निपीडितको घर बन्नेछ। 

वैशाखमा गहुँका नाल जलाउनका लागि लगाइएको आगो मुक्तकमैया बस्तीमा पुगेको थियो। भीषण आगलागीबाट ठूलो नोक्सान भएको थियो। मुक्तकमैयाले आफूले शरीरमा लगाएको कपडाबाहेक केही जोगाउन सकेका थिएनन्।