• १७ असार २०८१, सोमबार

रातो किताब सार्वजनिक : उच्चस्तरीय छानबिन समिति गठन गर्न कांग्रेसको माग

blog

गोदावरी (कैलाली), असार १५ गते । नेपाली कांग्रेस संसदीय दलले सुदूरपश्चिम सरकारको आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट तथा कार्यक्रम पुस्तिका (रातो किताब) सार्वजनिक भएको सन्दर्भमा उच्चस्तरीय छानबिन गठनको माग गरेको छ । 

शुक्रबार बसेको संसदीय दलको बैठकले सरकारको वेबसाइट तथा प्रदेश सभा सदस्यलाई उपलब्ध नहुँदै रातो किताबको ‘डिजिटल कपि’ अनधिकृतरुपमा सार्वजनिक भएकोमा प्रदेश सरकारको लापरबाही गरेको आरोपसमेत लगाएको छ । संसदीय दलद्वारा जारी विज्ञप्तिमा सरकारको लापरबाहीका कारण रातो किताब अनधिकृत व्यक्तिमार्फत् सार्वजनिक भएको उल्लेख छ । 

विज्ञप्तिमा भनिएको छ, “रातो किताब सार्वजनिक भएका विषयमा सत्यतथ्य पत्ता लगाउन प्रदेश सरकारले उच्चस्तरीय छानबिन समिति गठन गर्न पार्टीले माग गर्दछ । रातो किताब जस्तो अतिगोपनीय र संवेदनशील दस्ताबेज अनधिकृतरुपमा सार्वजनिक हुँदासमेत सरकार मौनता बस्नु हुँदैन ।” दलका प्रमुख सचेतक विक्रमसिंह धामीद्वारा जारी विज्ञप्तिमा यस विषयमा सरकारको आधिकारिक धारणाको माग गर्दै छानबिन समिति गठन नगर्दा उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनीसमेत दिएको उल्लेख छ । रासस