बिष्णुप्रसाद पोखरेल
दमक, असार २८ गते । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा आउँदै हुनुहुन्छ । प्रधानमन्त्री झापा आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । झापासँग सिमा जोडिएको ईलामको माई नगरपालिकामा आयोजना हुने कार्यक्रम बाहेक दुई दिन झापामा विभिन्न कार्यक्रमहरु राखिएको छ ।
नेकपा एमाले झापाका सचिव एवम् प्रधानमन्त्री ओलीका उपस्वकीय सचिव तुलसी कार्कीका अनुसार शनिबार बिहान ११ः३० बजे झापाको भद्रपुर विमानस्थल भएर ओली झापा आउनुहुनेछ । उहाँका अनुसार शनिबार र आइतबार झापामा विभिन्न कार्यक्रमहरु तय भएको छ । बुद्धशान्ति गाँउपालिकामा अस्पतालका उद्घाटन, कन्काई नगरपालिकामा धनीपुर्जा वितरण कार्यक्रम शनिबारका लागि तय भएको बताइएको छ ।
यसैगरी, आइतबार प्रधानमन्त्री ओलीले दमकमा विश्व बैंकको लगानी र दमक नगरपालिकाले ठेक्का लगाएर बनाइएको मदनडाँगी ताराबारी डिपु नमुना सडकको स्तरउन्नती कार्यको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यसैगरी बहुप्रतिक्षित गौरीगन्जको रतुवा खोलाको उद्घाटन कार्यक्रम पनि आइतबार राखिएको कार्कीले जानकारी दिनुभयो । सोही दिन बिर्तामोडको सिटी सेन्टरमा कार्यकर्ताहरुलाई सम्बोधन गरेर प्रधानमन्त्री ओली काठमाडौँ फर्कनुहुनेछ ।