• ५ जेठ २०८३, मङ्गलबार

‘सङ्ग्रहालयले सिङ्गो देशको पहिचान जीवन्त बनाउँछ’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ ५ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दक्षिण एसियामै सङ्ग्रहालयले अलग पहिचान र महìवका साथ विविध मौलिक संस्कृति र सम्पदाको संरक्षण गरेर बसेको बताउनुभएको छ । 

राष्ट्रिय सङ्ग्रहालयद्वारा ४९ औँ अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवसको सन्दर्भमा सोमबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आधा विश्वले कुनै न कुनै शक्तिको दासत्व भोग्नुपर्दासमेत नेपालले आफ्नो मौलिक परम्परा, सम्पदा, संस्कृतिलाई जगेर्ना गरेर राखेको स्मरण गर्नुभएको हो । उहाँले यस पटकको 

अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवसको ‘सङ्ग्रहालय : विभाजित विश्व एकताको शक्ति’ नाराले नै सङ्ग्रहालयको महत्वलाई प्रस्ट पारेको बताउँदै नेपालका सङ्ग्रहालयले सिङ्गै देशको पहिचान, इतिहास, वर्तमान र भविष्यलाई समेत जीवन्त राख्न सफल भएको बताउनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले सङ्ग्रहालय विविध सम्पदाका वस्तु राख्ने स्थान मात्र होइन, सम्पदा, संस्कृतिको माध्यमबाट देशलाई चिनाउने र नयाँ पुस्तालाई आफ्नो गौरवशाली विगतलाई चिनाउने अवसर प्रदान गर्ने स्थान पनि भएको बताउनुभयो ।

राष्ट्रिय सङ्ग्रहालयका प्रमुख अरुणा नकर्मीले भन्नुभयो, “यस सङ्ग्रहालयको स्थापना भएको ८८ वर्षको अवधिमा अनेकौँ विषम परिस्थिति आए पनि त्यसको समाधानका लागि विविध कार्यक्रम डिजाइन गर्दै अगाडि बढिरह्यौँ, कोभिड–१९ को बेलादेखि  प्रविधिको समेत प्रयोग बढाउँदै सम्पदाको संरक्षणमा  तत्परताका साथ काम गरिरहेका छौँ ।” पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले १९७७ देखि विश्वभर मनाइँदै आएको यस दिवसले हरेक देशको पहिचानसँग जोडिएका कला, सम्पदा, संस्कृतिको संरक्षण र प्रवर्धनमा जोड दिँदै आएको धारणा व्यक्त गर्नुभयो । सो अवसरमा लिपिविज्ञ श्यामसुन्दर राजवंशीले लेख्नुभएको पुस्तक ‘राष्ट्रिय सङ्ग्रहालयको कला, सम्पदा भाग–७’ (सङ्ग्रहालयपरिसरमा रहेका शिलालेखको नेपाली अनुवादसहितको) पुस्तक लोकार्पण गरिएको थियो । 

त्यस्तै विभिन्न समयमा चोरी भएका वा विभिन्न कारणले अलपत्र परेका पुरातात्त्विक महत्वका १९ वटा मूर्ति नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गलाई हस्तान्तरण गर्नुभएको थियो ।