• ५ जेठ २०८३, मङ्गलबार

आजदेखि चन्द्रकोटमा ‘चौथो अध्यक्ष कप’

blog

चन्द्रकोट गाउँ कार्यपालिकाको कार्यालय। तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा
गुल्मी, जेठ ५ गते।
गुल्मीको चन्द्रकोट गाउँपालिकाले चन्द्रकोट क्याम्पसको खुला स्थानमा सञ्चालन गर्न लागेको ‘चौथो अध्यक्ष कप’ भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा गरी आज (मङ्गलबार)देखि सुरु हुँदैछ। ‘चौथो अध्यक्ष कप’अन्तर्गत यस गाउँपालिकाले दुई दिन ‘वडा स्तरीय चौथो अध्यक्ष कप पुरुष तथा महिला भलिबल प्रतियोगिता’ आयोजना गरेको हो।

खेलकुदको माध्यमबाट सामाजिक सद्भाव, सहिष्णुता तथा आपसी हार्दिकता कायम राख्दै युवाहरूमा रहेको खेल प्रतिभा उजागर गर्नुका साथै भलिबल खेलको विकास तथा विस्तारसँगै नयाँ खेलाडी पहिचान गर्ने उदेश्यसहित प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणप्रसाद चालिसेले जानकारी दिनुभयो। उहाँका गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार सञ्चालन हुन लागेको यस प्रतियोगितामा पुरुष तथा महिला दुवै विधाका खेलहरु सञ्चालन गर्न लागिएको हो।

पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेलाई ६५ हजार, द्वितीय हुनलाई ४० हजार, तृतीय हुनेलाई ३० हजार रुपियाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। त्यसैगरी महिला भलिबल प्रतियोगितामा प्रथम हुनेलाई ३५ हजार, द्वितीय हुनलाई २५ हजार, तृतीय हुनेलाई १५ हजार रुपियाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। विधागत रूपमा उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर, सर्भर, लिबेरो र सर्वोत्कृष्ट खेलाडीलाई समेत ट्रफी र मेडल प्रदान गरिने गाउँपालिकाले जनाएको छ।

वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा यस गाउँपालिकाभित्र रहेका आठ वटै वडाबाट महिला खेलाडी सहभागी हुनेछन्। खेल एफआईभिबी र एनभिएको नियम अनुसार नकआउटको आधारमा टिटि सिस्टमबाट खेलाइनेछ। आजदेखि सुरु हुने सो प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्री गर्नुहुनेछ।