• ५ जेठ २०८३, मङ्गलबार

ठेकेदारले काम सुरु नगर्दा चुँडीगाउँवासीलाई सास्ती

blog

जङ्गलको उकालो बाटोमा बिरामी बोक्दै चुँडीगाउँका युवा । तस्बिर : पुष्कर भण्डारी

अमरगढी समाचारदाता

डडेलधुरा, जेठ ५ गते । डडेलधुराको चुँडीगाउँसम्म पुग्न अझै सडकको ट्र्याक खुलिसकेको छैन । नेपाल–भारत सीमा महाकाली नदी किनारमाथि अवस्थित सडक सञ्जालले नछोएको सो गाउँमा २०७४ मा ट्र्याक खोल्न सुरु भएको थियो । डडेलधुराको भागेश्वर गाउँपालिका–१ मा पर्ने यो गाउँ हालसम्म सडक सञ्जालसँग जोडिन नसक्दा गाउँवासीले अनेकौँ सास्ती खेप्नु परेको छ । सदरमुकाम अमरगढी नगरपालिका–५, बागबजारबाट चुँडीगाउँसम्मको दुरी करिब ५५ किलोमिटर छ । भागेश्वर–२ को रूपालसम्म २०७० सालमै सडक पुगे पनि त्यहाँबाट करिब १४ किलोमिटरको दुरीमा रहेको चुँडीगाउँमा हालसम्म सडक नपुग्दा दैनिक जीवनयापनमा समस्या हुने गरेको स्थानीय लोकेन्द्र ठकुराठीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “वडा नं. १ कै बलकाँडेगाउँभन्दा केही तल धुराकोडाँडासम्म सडकको ट्र्याक खोलिएको छ । त्यहाँबाट चुँडीगाउँ पुग्न चार किलोमिटरभन्दा बढी छ । जाँदा भिरको ओरालो बाटो र आउँदा उकालो पर्छ । दैनिक जीवनयापनका लागि आवश्यक उपभोग्य बस्तु, मालसामान बोकेरै ओसारपोसार गर्नुपर्ने बाध्यता छ ।”  उहाँका अनुसार योभन्दा पनि दुःखकष्ट गाउँमा कोही बिरामी हुँदा पर्छ । बिरामीलाई भिरको साँघुरो उकालो बाटोमा डोली वा स्ट्रेचरमा बोकेर दुई घण्टाभन्दा बढी लगाएर धुराकोडाँडो पु¥याउनुपर्ने बाध्यता रहेको छ । त्यहाँबाट गाडी नपाए चार/पाँच घण्टासम्म बोकेरै बिरामीलाई रूपालसम्म पु¥याउनुपर्ने हुन्छ । धुराकोडाँडाबाट अगाडि सडक खन्न ठेक्का सम्झौता भएको सुने पनि हालसम्म काम सुरु नहुँदा चुँडीगाउँवासी निराश बनेको उहाँको भनाइ छ ।  

केही वर्षपहिले लघुजलविद्युत् योजना पूरा गरेर गाउँमा उज्यालो पुगेको थियो । उहाँले भन्नुभयो, “गत वर्ष खानेपानीको योजना पूरा गरेका थियौँ । कुनै पनि योजना गाउँलेले पूर्ण रूपमा श्रमदान गरे मात्रै पूरा हुन सक्छन् तर २८ घरधुरी रहेको यस गाउँका युवा पछिल्ला वर्षमा रोजगारीका लागि अन्यत्र पलायन हुँदा बिरामी बोक्ने मानिस भेटिन पनि मुस्किल पर्छ ।”  भागेश्वर गाउँपालिकाका अध्यक्ष हेमराज चटौतका अनुसार चुँडीगाउँसम्म सडक पु¥याउने करिब दुई महिनापहिले १५ लाख रुपियाँ बराबरको ठेक्का सम्झौता गरिएको थियो । 

उहाँले बझाङको एसके कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भए पनि काम सुरु नगर्दा पटक पटक पत्राचार गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हालै मात्रै पनि निर्माण कम्पनीका सञ्चालकलाई काम सुरु गर्न भनेर पत्र काटेका छौँ । डिजेलमा भएको मूल्यवृद्धिको कारण देखाउँदै निर्माण कम्पनीले काम सुरु गरेको छैन ।”