• ५ जेठ २०८३, मङ्गलबार

सडक निर्माण नहुँदा सास्ती

blog

केराबारीबाट जेफाले जाँदा बाटोमा पर्ने बत्तिसजुरे भिर । तस्बिर : हरिप्रसाद कोइराला

हरिप्रसाद कोइराला 

उर्लाबारी, जेठ ५ गते  । राज्य पुनर्संरचनापछि पाँच गाविस जोडेर केराबारी गाउँपालिका बने पनि मोरङको केराबारी–२ का बासिन्दाको सास्ती भने फेरिएको छैन । 

गाविस छँदा गाउँमै ज्येष्ठ नागरिक भत्ता पाउने बुढापाका हाल तीन÷तीन महिनामा भत्ता लिन केराबारी झर्नु पर्छ । गाउँपालिका बन्यो तर सडक सञ्जाल विस्तार भएन । गाउँसम्म बैङ्क पुगेन । केराबारी–२ को सिंहदेवीबाट ज्येष्ठ नागरिक भत्ता लिन केराबारी झरेकी दुर्गाकुमारी शाहीले भन्नुभयो, “पहिले गाविसमा नै दिन्थे, अहिले बैङ्क पुग्नु पर्छ । गाउँमा बैङ्क गएन ।” ८१ वर्षीय दुर्गाकुमारीले भन्नुभयो, “अहिले दुःखसुख गाडी चल्दै छन् । भदौतिर ५२ किलोमिटर घुमेर केराबारी पुग्नु पर्छ ।” 

उहाँहरू मात्र होइन, केराबारी–२ का ज्येष्ठ नागरिक, एकल महिला, दलितलगायत सबैको नियति उही हो । हिउँदमा दुःखले गाडी गुड्छ । वर्षायाम सुरु भएपछि ठाउँ ठाउँमा पहिरो झर्छ । सडक अवरुद्ध हुन्छ । त्यसैले असार–भदौसम्म ५२ किलोमिटर घुम्नुको विकल्प छैन । 

केराबारीदेखि सिंहदेवी, समेवा, बिहीबारे, लेटाङ, पाटीगाउँ जाने सार्वजनिक यातायातका गाडी छैनन् । रातो प्लेटका निजी सवारीसाधनमा अत्यन्तै कष्टकर यात्रा गर्नुपर्ने स्थानीयको भनाइ छ । ७४ वर्षीय जयबहादुर राईले भन्नुभयो, “म त गाडी चलेन भने पैदल नै आउजाउ गर्छु । उहाँले उहिले उमेरमा सात÷आठ घण्टामा पार हुने बाटो अचेल पूरै एक दिन लाग्न थालेको सुनाउनुभयो । 

सरकारले छ वर्षअघि निर्माण सुरु भएको खोर्साने–केराबारी–सिंहदेवी सडक अलपत्र छ । सङ्घीय सरकारको सहरी विकास मन्त्रालय अन्तर्गत ग्रामीण सडक सञ्जाल सुधार आयोजनाले २०७६ साल साउन २० गते ठेक्का लगाएको सडक निर्माण कम्पनी कान्छाराम कन्स्ट्रक्सनले आधा काम गरेर छोडेपछि अलपत्र भएको हो । 

सम्झौता अनुसार २५ किलोमिटर लम्बाइको यो सडक २०७६ साल भदौ १० गते काम सुरु गरेर २०७८ साल भदौ ८ गते काम सम्पन्न गर्नुपर्ने थियो । ७० करोड ४९ लाख २९ हजार ३५५ रुपियाँ ६२ पैसामा ठेक्का लागेको सडक पटक पटक गरी छ पटक म्याद थप भइसकेको छ । पछिल्लो पटक २०८० असार ३० गते काम सक्ने सहमति भएको थियो । पछिल्लो म्यादमा पनि काम सम्पन्न नभएपछि सहरी विकास मन्त्रालयले २०८१ साल चैत १४ गते ठेक्का सम्झौता खारेज गरेको छ ।  

ग्रामीण सडक सञ्जाल सुधार आयोजना, आयोजना कार्यान्वयन एकाइ दमक झापाका आयोजना प्रमुख शालिकराम देवकोटाका अनुसार यो सडक र मोरङकै लक्ष्मीमार्ग–डाँगीहाट–बनौल–बबियाबिर्ता हुँदै अमाहीबरियाती जोड्ने सडक संयुक्त रूपमा ठेक्का लागेको हो । पूर्वपश्चिम राजमार्गको बेलबारी–१०, भाउन्नेबाट दक्षिणतर्फ जाने तराईको यो सडक र राजमार्गकै सुन्दरहरैँचा–९ बाट उत्तरतर्फ जाने खोर्साने–केराबारी–सिंहदेवीको पहाडी सडक दुवै हाल अलपत्र छन् । आयोजना प्रमुख देवकोटाले भन्नुभयो, “दुवै सडक संयुक्त रूपमा ठेक्का आह्वान भएकाले एउटा सडकको मात्र भौतिक तथा वित्तीय प्रगति देखिन्न । ठेक्का सम्झौता खारेज हुनुअघिसम्म ५५ प्रतिशत भौतिक र ४४.३७ प्रतिशत वित्तीय प्रगति भएको देखिन्छ । आयोजनाले निर्माण कम्पनीलाई ३५ करोड १६ लाख २२ हजार ६१४ रुपियाँ २९ पैसा भुक्तान गरिसकेको छ ।” 

खोर्साने–केराबारी–सिंहदेवी सडकमा १६ किलोमिटर सडक पूरै पहाडी क्षेत्रमा पर्छ । केराबारी–२ का वडाध्यक्षसमेत रहनुभएका सडक उपभोक्ता प्रेमबहादुर लिम्बूले भन्नुभयो, “मदन भण्डारी राजमार्गलाई चिरेर जाने यो सडक भेडेटार–राँके–रवि सडकलाई जोड्ने रणनीतिक महìवको सडक हो । ताप्लेजुङका मानिस इलाम झापा नझरी एकै पटक केराबारी झरेर विराटचोक हुँदै विराटनगर पुग्न सक्ने थिए । प्रदेशको राजधानीसँग छोेटो सडकले ताप्लेजुङ र पाँचथरका बासिन्दालाई जोड्ने यो सडकले समय र खर्च मात्र बचत गर्दैन । वडाध्यक्ष लिम्बूका अनुसार केराबारी उत्तर १३.६१५ किलोमिटर मात्र काम भएको छ । रामपुरदेखि समेबासम्म स्तरोन्नतिको काम भएको छैन । उत्तरी मोरङको साबिक सिंहदेवी गाविसमा पर्ने जेफाले पर्यटन विकास केन्द्रले जेफालेमा होमस्टे सञ्चालन गरेको छ । मोरङकै सबैभन्दा ठुलो चिया बगान रहेको जेफालेमा भ्युटावर, मगर संस्कृतिका घरबास केन्द्र, सुन्तला बगान, भुइँस्याउ र अलैँची व्यावसायिक खेती हुन थालेकोे छ । हिउँदमा साना गाडी र मोटरसाइकल छोटो बाटो भन्दै अत्यन्तै जोखिम मोलेर जेफाले जाने गर्छन् भने वर्षायाममा ५२ किमी घुम्नुको विकल्प छैन ।