• ५ जेठ २०८३, मङ्गलबार

गणेश आधारभूत विद्यालयको जग्गा अतिक्रमण

blog

जयकृष्ण यादव
इनरुवा, जेठ ५ गते ।
सुनसरीको इनरुवा नगरपालिका–८, गणेशपुरस्थित श्री गणेश नेपाल राष्ट्रिय आधारभूत विद्यालय को नाममा रहेको १० कट्ठा जग्गा अतिक्रमण गरी १४ परिवारले घरटहरा बनाएर बसोवास गर्दै आएको तथ्य सार्वजनिक भएको छ ।

विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समितिले उक्त जग्गा खाली गराउन इनरुवा नगरपालिका र सम्बन्धित वडा कार्यालयलाई औपचारिक रूपमा पत्राचार गरेका छन् । विद्यालयको स्वामित्वमा रहेको जग्गा वर्षौंदेखि उपयोग गर्न नपाएको भन्दै भूमि प्रशासन कार्यालय इनरुवामार्फत पनि पहल गरिएको छ ।

विद्यालयका प्रधानाध्यापक रामविलास मेहता र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमाकान्त मेहताले संयुक्त रूपमा दिएको निवेदनमा कित्ता नम्बर ३०९ को १० कट्ठा जग्गा नाप–नक्सासहित खाली गराउन माग गरिएको छ ।

विद्यालयका अनुसार उक्त जग्गामा भागवत मेहता, रामप्रसाद मण्डल, जयराम मण्डल, फुदन मण्डल, सदानन्द मण्डल, गुरुदेव माली, झपट महतो, बालेश्वर मण्डल, फेकनी मण्डल, उतिमलाल मण्डल, दुखुवा मण्डल, भलुवा मण्डल, कैलु मण्डल र झरिलाल मण्डलले घरटहरा बनाई बसोवास गर्दै आएका छन् ।

प्रधानाध्यापक रामविलास मेहताले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि आवश्यक जग्गा अतिक्रमण हुँदा पठनपाठनको वातावरण प्रभावित भएको बताउनुभयो ।

उहाँका अनुसार विद्यालयको स्वामित्वमा रहेको जग्गा संरक्षण गर्नु विद्यालयको दायित्व भएकाले सरकारी अभिलेखमा विद्यालयकै नाममा रहेको जग्गा अतिक्रमण हुँदा भविष्यका विस्तार योजनामा असर पर्ने अवस्था आएको छ । त्यसैले समयमै जग्गा खाली गराउन वडामा आग्रह गरिएको उहाँले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमाकान्त मेहताले कानुनी प्रक्रिया अनुसार सम्बन्धित निकायसँग समन्वय गरी जग्गा खाली गराउने पहल भइरहेको जानकारी दिनुभयो ।

यता, हाल सरकारले देशभर सार्वजनिक, ऐलानी तथा सरकारी जग्गा अतिक्रमण हटाउने अभियान सञ्चालन गरिरहेको सन्दर्भमा इनरुवाको यो घटना पनि चर्चामा आएको छ ।

यसैबिच इनरुवा नगरपालिका–३, ६ र ८ नम्बर वडामा पर्ने संरक्षित कङसमडान वन क्षेत्र तथा लाटीमाईदेवी थान, ग्रामथान र डिहिबार थानको करिब ५ बिघा १७ कट्ठा जग्गामा समेत अतिक्रमण गरी घरटहरा बनाइएको भन्दै स्थानीयले हटाउन माग गरेका छन् ।

स्थानीयवासीले सार्वजनिक तथा शैक्षिक सम्पत्तिको संरक्षणका लागि नगरपालिका, वडा कार्यालय र प्रशासनले प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका छन् ।