• ५ जेठ २०८३, मङ्गलबार

बाँकेमा जिल्ला स्तरीय मेयर कप फुटबल हुने

blog

कमल खत्री
धम्बोझी, जेठ ५ गते ।
बाँके जिल्ला स्तरीय मेयर कप अन्तरविद्यालय (यू–१८) छात्र–छात्रा फुटबल प्रतियोगिता २०८३ जेठ २३ गतेदेखि सुरु हुने भएको छ । बाँके जिल्ला फुटबल सङ्घले हरेक वर्ष आयोजना गर्दै आएको प्रतियोगितामा बाँके जिल्लाका आठ वटा स्थानीय तहका विद्यालयहरूको सहभागिता रहने छ ।

नेपालगन्ज रङ्गशालामा एक सातासम्म सञ्चालन हुने प्रतियोगिता नेपालगन्ज उपमहानगरपालिका को आर्थिक सहयोगमा आयोजना हुन लागेको हो ।

बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष तथा अखिल नेपाल फुटबल सङ्घका केन्द्रीय सदस्य भोजराज शाहीले मेयर कप फुटबल दुई दशकदेखि निरन्तर आयोजना हुँदै आएको बताउँदै विद्यालय तहबाट नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्न प्रतियोगिताले महत्त्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो ।

आयोजकका अनुसार प्रतियोगितामा करिब ३० वटा विद्यालयको सहभागिता रहने छ । प्रतियोगिताको पुरस्कार राशी भने चाँडै सार्वजनिक गरिने जनाइएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट रक्षक, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट स्ट्राइकरलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

बाँके जिल्ला फुटबल सङ्घका महासचिव कमल खत्रीले विद्यालयस्तरका प्रतियोगिताले हरेक वर्ष नयाँ खेलाडी उत्पादनमा सहयोग गर्ने भएकाले मेयर कपलाई प्राथमिकताका साथ आयोजना गर्दै आएको बताउनुभयो । उहाँले मेयर कप प्रतियोगिताले बाँके जिल्लाको फुटबल स्तर उकास्न पनि सहयोग पुगेको उल्लेख गर्नुभयो ।

गत वर्ष २७ वटा विद्यालय सहभागी रहेको प्रतियोगितामा पुरुषतर्फ ब्राइटल्यान्ड र महिलातर्फ नेपालगन्ज सेन्ट जेभियर्स स्कुल च्याम्पियन बनेका थिए । पुरुषतर्फ ब्राइटल्यान्डले सडनडेथमा कोहलपुरको ग्रिनपिस माविलाई हराउँदै उपाधि जितेको थियो भने महिलातर्फ नेपालगन्ज सेन्ट जेभियर्सले आदर्श मावि नेपालगन्जलाई ४–० ले पराजित गरेको थियो ।

प्रतियोगितामा पुरुषतर्फ ब्राइटल्यान्डका सिरिस रावत तथा महिलातर्फ नेपालगन्ज सेन्ट जेभियर्सकी सृष्टि थारु सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभएको थियो ।