काठमाडौँ, जेठ ५ गते । सबै नागरिकसम्म डिजिटल पहुँच पुर्याउने उद्देश्यले भौगोलिक रूपमा विकट तथा जनसङ्ख्याको दृष्टिले कम मानिस बसोवास गर्ने दुर्गम बस्तीहरूमा दूरसञ्चार सेवा विस्तार भइरहेका छन् ।
यस्ता दुर्गम बस्तीहरूमा सेवा उपलब्ध गराउन हेलिकाेप्टरबाट उपकरण तथा सामग्री ओसारेरसमेत दूरसञ्चार सेवा विस्तार भइरहेको छ । दुर्गम भूगोलमा इन्टरनेट सेवा विस्तार गर्ने सरकारको प्रतिबद्धता अनुसार नेपाल टेलिकमले काम गरिरहेको छ । यस्ता स्थानहरूमा कम्पनीले गरेको लगानीबाट व्यावसायिक लाभ हासिल नहुने भए पनि डिजिटल विभेद न्युनीकरणलाई प्राथमिकता दिएको टेलिकमले जनाएको छ ।
आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा पनि दुर्गम क्षेत्रसम्म डिजिटल पहुँच विस्तार गरी डिजिटल विभेद न्युनीकरण गरिने उल्लेख गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पनि डिजिटल पहुँच विस्तारलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभएको छ ।
यसका लागि आवश्यक समन्वय, सहकार्य तथा मार्गनिर्देशनसमेत मन्त्रालयबाट भइरहेको छ । नेपाल टेलिकमले फोरजी सेवा पूर्ण रूपमा कार्यान्वयन र फाइभजी सेवा पनि सँगसँगै सुरु गर्ने सरकारको योजना अनुसार काम गरिरहेको छ । फाइभजी सेवा सञ्चालनका लागि ३३००–३७०० मेगाहर्ज ब्यान्ड खुला गरी प्रविधि विस्तारको मार्ग प्रशस्त गरिएको मन्त्रालयले जनाएको छ ।
नेपाल टेलिकमका सहप्रवक्ता प्रक्षित थापा क्षेत्रीले दुर्गम तथा दूरदराज क्षेत्रहरूमा पनि इन्टरनेट र मोबाइल सेवा विस्तारलाई प्राथमिकतामा राखेर काम भइरहेको बताउनुभयो । उहाँका अनुसार नवीनतम प्रविधिको प्रयोग गर्दै भौगोलिक अवस्था र आवश्यकता अनुसार कुन प्रविधि उपयुक्त हुन्छ भन्ने मूल्याङ्कन गरेर सेवा विस्तार गरिँदै आएको छ ।
उहाँले सम्भव भएसम्म ‘अप्टिकल फाइबर’ विस्तार गर्ने योजना अनुसार नेपाल टेलिकमले काम गरिरहेको जानकारी दिनुभयो । त्यस्तै, विद्युत् सुविधा नपुगेका स्थानहरूमा सोलार टावरमार्फत विद्युत् आपूर्ति गरी सञ्चार सेवा सञ्चालन गरिएको छ । दुर्गम क्षेत्रमा भने भिस्याट प्रविधिको प्रयोग गरेर सेवा उपलब्ध गराइएको उहाँको भनाइ छ ।
टेलिकमका अनुसार डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–६ स्थित लाहाँ तथा ठुलीभेरी नगरपालिका अन्तर्गत दुनै क्षेत्रमा समुद्र सतहदेखि करिब ३९०० मिटर उचाइमा केही दिनअघि सफलतापूर्वक फोरजी सेवा सञ्चालनमा ल्याइएको छ । त्रिपुरासुन्दरी लाहाँमा सोलार पावरबाट सिङ्गल सेक्टर टुजी सञ्चालनमा रहेकामा उक्त साइटको स्तरोन्नति गरी जलविद्युत् जडान र १८ मिटर पोल जडानपश्चात् फोरजी सेवा सञ्चालनमा आएको हो । यसबाट त्रिपुरासुन्दरी–६ का बस्तीहरू लाहाँ, खादाङ, फुल्चिङ, पालङ गाउँ तथा जाजरकोट–डोल्पा राजमार्गमा उच्च गतिको फोरजी मोबाइल ब्रोडब्यान्ड सेवा विस्तार भएको छ भने करिब २५० घरधुरीका १२०० मोबाइल प्रयोगकर्ता प्रत्यक्ष लाभान्वित भएका छन् ।
त्यस्तै, डोल्पाको ठुलीभेरी नगरपालिका–१, थाला डाँडाको ३९०० मिटर उचाइमा टावर राखिएको छ । यस साइटमा उच्च क्षमताको सौर्य ऊर्जा प्रणाली जडान गरी २५ मिटरको टावर जडानपश्चात् फोरजी सेवा सञ्चालनमा आएको छ । यहाँबाट ठुलीभेरी नगरपालिका वडा नम्बर १, २, ३ र ४ का थाला गाउँ, लोचा गाउँ, तिप्ला, कुल्मी र काइके गाउँपालिकाका वैजबाडा, वनठाडा, सहरतारा, गुम्बातारा, टुप्पातारा, लाबन बगर तथा दुनै सहरतारा पदमार्गमा उच्च गतिको फोरजी सेवा विस्तार भएको छ । यसबाट करिब ८०० घरधुरीका ३२०० भन्दा बढी मोबाइल प्रयोगकर्ता लाभान्वित भएको जनाइएको छ ।
ताप्लेजुङको ओलाङचुङगोला क्षेत्रमा ३४०० मिटर उचाइमा गत शुक्रबारदेखि फोरजी सेवा सुरु भएको छ । यस सेवाबाट ओलाङ्चुङगोला, याङमा, जारीटार, लुम्बासम्बा पदमार्गको दिगासम्बा तथा ग्रेट हिमालय ट्रेल अन्तर्गत लाङ्ग्योङ आसपासका क्षेत्रमा मोबाइल नेटवर्क सुविधा उपलब्ध हुन थालेको छ ।
त्यसैगरी, ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा पनि फोरजी सेवा सञ्चालनमा ल्याइएको छ । पाथीभरा मन्दिर परिसर, काफ्लेपाटी, देउराली, भालुगौडा तथा मन्दिरतर्फ जाने पदमार्गका विभिन्न स्थानहरूमा मोबाइल नेटवर्क सुविधा विस्तार भएको छ ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६, घुन्सा ९३८५० मिटर मा नेपाल टेलिकमले सफलतापूर्वक फोरजी सेवा सञ्चालनमा ल्याएको छ । यसअघि स्याटेलाइटमार्फत टुजी सेवा मात्र रहेको यस क्षेत्रमा अब उच्च गतिको मोबाइल इन्टरनेट सेवा विस्तार भएको छ । घुन्सा, फले, खम्बाचेन, लोनाक तथा कञ्चनजङ्घा आधार शिविरतर्फ जाने पदमार्गका क्षेत्रमा मोबाइल नेटवर्क सुविधा उपलब्ध हुने छ ।
नेपाल टेलिकमले सङ्खुवासभा जिल्लाका दुर्गम तथा उच्च हिमाली क्षेत्रमासमेत आफ्नो दूरसञ्चार सञ्जाल विस्तार तथा स्तरोन्नति गरेको छ । यसबाट स्थानीय बासिन्दा तथा पर्यटकलाई अत्यावश्यक सञ्चार सुविधा उपलब्ध भएको छ । सङ्खुवासभाको मकालु गाउँपालिका–२, चेक्सेडाँडा क्षेत्रमा स्थापना गरिएको नयाँ बिटिएस टावर हालै सञ्चालनमा आएको छ । सो टावरले मकालु गाउँपालिका–२ का विभिन्न बस्तीहरू, वडा नम्बर ३ का केही क्षेत्र तथा वडा नम्बर ५ को माङसिमामा मोबाइल नेटवर्क उपलब्ध गराएको छ ।
साथै, यो टावरले मकालु बेस क्याम्प ट्रेकिङ मार्गका उच्च पहाडी क्षेत्रहरूमा समेत ‘नेटवर्क कभरेज’ दिएको छ । त्यस्तै, नेपाल टेलिकमले सिम्बोप्वा डाँडामा माइक्रोवेभ रेडियो रिपिटर तथा बिटिएस (तासिथवा) स्थापना गरेको छ । करिब ३७०० मिटर उचाइमा रहेको यस स्थानमा टावर स्थापना गर्न चुनौतीपूर्ण थियो । बसोवास क्षेत्रभन्दा माथि करिब छ घण्टा ठाडो उकालो चढेर मात्र पुग्न सकिने यो क्षेत्रमा उपकरण ढुवानी र निर्माण सम्पन्न गर्न करिब तीन वर्ष लागेको टेलिकमले जनाएको छ ।
सिम्बोप्वा डाँडाको टावरले भोटखोला गाउँपालिकाका लिङ्गम, छुम्सुरलगायतका दुर्गम बस्ती तथा कोशी राजमार्गको माथिल्लो खण्डमा मोबाइल नेटवर्क कभरेज उपलब्ध गराएको छ । यहाँ माइक्रोवेभ रिपिटर स्टेसन (किमाथाङ्का) स्थापना भएपछि किमाथाङ्कासम्म माइक्रोवेभ लिङ्क विस्तार सम्भव भएको टेलिकमको भनाइ छ ।
त्यसैगरी, टेलिकमले भोट खोला गाउँपालिकाको उत्तरी सीमा क्षेत्र किमाथाङ्कामा माइक्रोवेभ रेडियोमा आधारित फोरजी सेवा सुरु गरेको छ । उत्तर–दक्षिण कोशी राजमार्गसँग जोडिएको यो अत्यन्त दुर्गम क्षेत्रमा यसअघि स्याटेलाइटमा आधारित टुजी भ्वाइस सेवा मात्र सञ्चालनमा थियो ।
टेलिकमले देशका विभिन्न विकट तथा दुर्गम स्थानहरूमा स्याटेलाइट प्रविधिमा आधारित जिएसएम मोबाइल तथा भिस्याट टेलिसेन्टर उपकरण जडान गरी टुजी प्रविधिमा आधारित मोबाइल, टेलिफोन र डाटा सेवा प्रदान गर्दै आएको छ । चालु आर्थिक वर्षमा डोल्पाको कान्छो गाउँ कुगाउँ तथा निजाल, दोलखाको ना–गाउँ र रसुवाको चन्दनबारी गरी चार स्थानमा स्याटेलाइटमार्फत जिएसएम मोबाइल सेवा विस्तार गरिएको छ । हाल टेलिकमले ३८ विभिन्न स्थानमा यो प्रविधिबाट मोबाइल सेवा प्रवाह गरिरहेको छ । यीमध्ये सबैभन्दा बढी १४ ‘साइट’ डोल्पा जिल्लामा छन् । डोल्पाको छार्का–ताङसोङ, छार्का, धो, घुन्सापास, कलाङ, मुकोट, निजाल, फोक्सुन्डो, साल्दाङ, सिम्बाडाँडा, सिमेन्कोमास, तिन्जे, भिजेर र कुगाउँमा यी साइट छन् ।
हुम्लाको गोठी, राया, रोडीकोट, श्रीनगर र श्रीमस्ठ, मुगुको मुगुगाउँ, पुलु, रारा (मुर्मा), सोरुकोट र भी, मनाङको भिमथाङ, फु र नार, दोलखाको बेदिङ र ना–गाउँ, ताप्लेजुङको घुन्सा र ओलाङचुङगोला, सोलुखुम्बुको गोरक्छेप र मोन्जु, रसुवाको गोसाइँकुण्ड र चन्दनबारी, दार्चुलाको टिङ्कर, बाजुराको बिच्छा र जुम्लाको गुठीचौरमा स्याटेलाइटमार्फत सेवा पुर्याइएको छ ।
टेलिकमले बाजुराको बडिमालिका मन्दिर क्षेत्र ९४२०० मिटर उचाइमा फोरजी सेवा विस्तार गर्ने तयारी गरिरहेको छ । साथै, सगरमाथा आधार शिविर क्षेत्रमा समेत फोरजी सेवा विस्तारका लागि अध्ययन अगाडि बढाइएको जनाइएको छ ।
डिजिटल पहुँचको विभाजन घटाउने र सबै नागरिकलाई गुणस्तरीय सञ्चार सेवा उपलब्ध गराउने प्राथमिकता अनुरूप नेपाल सरकार सक्रिय रूपमा काम गरिरहेको छ । दुर्गम क्षेत्रमा रहेका देशभरका बस्तीहरूलाई डिजिटल रूपमा जोड्ने अभियान निरन्तर जारी रहने टेलिकमले जनाएको छ ।
फोरजी सेवा सञ्चालनसँगै अनलाइन कक्षा, डिजिटल भुक्तानी, सामाजिक सञ्जाल, इमेल तथा विभिन्न अनलाइन सेवा सहज रूपमा प्रयोग गर्न सकिने भएको छ । यसले स्थानीय प्रशासन, सुरक्षा, स्वास्थ्य तथा शैक्षिक गतिविधिमा सहयोग पुग्ने र दुर्गम हिमाली क्षेत्रलाई आधुनिक डिजिटल नेटवर्कसँग जोड्दै पर्यटन प्रवर्धन, सूचना प्रवाह तथा समग्र क्षेत्रीय विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।रासस