• ५ जेठ २०८३, मङ्गलबार

पाथीभरा केवलकार र सडक पूर्वाधार निर्माणबारे सांसद थेबेको ध्यानाकर्षण

blog

नेकपा (एमाले)का सांसद क्षितिज थेबे

काठमाडौँ, जेठ ५ गते । नेकपा (एमाले)का सांसद क्षितिज थेबेले ताप्लेजुङस्थित पाथीभरा (मुकुम्लुङ)मा निर्माणाधीन केबलकार परियोजना र सडक पूर्वाधारको सुस्त गतिलाई लिएर सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभाको मङ्गलबारको बैठकमा बोल्दै सांसद थेबेले राष्ट्रिय गौरव र स्थानीय विकाससँग जोडिएको पाथीभरा केबलकार परियोजनाका सम्बन्धमा सरकारको आधिकारिक धारणा माग गर्नुभयो । केबलकार निर्माण कार्य रोकिएको भन्ने मौखिक सूचना बाहिरिएका कारण ताप्लेजुङका जनतामा अन्योल छाएको उल्लेख गर्नुभयो । 

सांसद थेबेले एकातिर परियोजनाको विरोध भइरहेको र अर्कोतर्फ विकास, पर्यटन तथा रोजगारीका लागि यो आयोजना अपरिहार्य रहेको बताउँदै स्थानीय समुदायको धार्मिक तथा सांस्कृतिक आस्था र विकासबिच सन्तुलन कायम गर्न सरकारसँग ठोस योजना माग गर्नुभयो । 

उहाँले सरकारलाई अफवाहको भरमा नभई स्पष्ट आधिकारिक निर्णयका साथ अगाडि बढ्न र सबै पक्षबिच विश्वासको वातावरण सिर्जना गर्न आग्रह गर्नुभयो । 

सांसद थेबेले ताप्लेजुङको लुम्बिनी पुलदेखि दोभान बजार खण्डको सडक निर्माणमा भइरहेको चरम ढिलाइप्रति पनि कडा आपत्ति जनाउनुभयो ।