• ५ जेठ २०८३, मङ्गलबार

पाठेघर क्यान्सरसम्बन्धी शिविरमा २०५ जनाले सेवा लिए

blog

शिविरमा सहभागीहरु। तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा
गुल्मी, जेठ ५ गते।
गुल्मीको इस्मा गाउँपालिकाले दुई छुट्टाछुट्टै वडामा महिलाका लागि निःशुल्क पाठेघरको मुखको क्यान्सरसम्बन्धी स्क्रिनिङ शिविर सञ्चालन गरेको छ। यस गाउँपालिकाको वडा नम्बर १ हस्तिचौरस्थित हस्तिचौर स्वास्थ्य चौकी र वडा नम्बर ४ दोहलीस्थित दोहली स्वास्थ्य चौकीमा यो शिविर सञ्चालन गरिएको इस्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पदम अधिकारीले जानकारी दिनुभयो।

उहाँका अनुसार दुई वटै स्वास्थ्य चौकीमा भएको निःशुल्क पाठेघरको मुखको क्यान्सरसम्बन्धी स्क्रिनिङ शिविरमा २०५ जना महिलाहरुले सेवा लिनुभएको हो। स्थानीय महिलाहरूको स्वास्थ्यलाई मध्यनजर गरी गुल्मी अस्पताल तम्घासको प्राविधिक सहयोगमा यस गाउँपालिकाले शिविरको आयोजना गरेको हो। हस्तिचौर स्वास्थ्य चौकीमा भएको शिविरमा ८५ जना र दोहली स्वास्थ्य चौकीमा भएको शिविरमा १२० जनाले सेवा लिनुभएको छ।

शिविरमा महिलाहरुको लागि पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ (भीआईए) प्रदान गर्नुका साथै पाठेघर खसेका महिलाहरूका लागि निःशुल्क ‘रिङ पेसरी सेवा र स्त्री रोग विशेषज्ञ डाक्टरद्वारा निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो। गुल्मी अस्पताल तम्घासका डा। सोफिया थापा र कमला रेस्मी सहितको प्राविधिक टोलीले स्वास्थ्य परीक्षण गर्नुभएको थियो। ग्रामीण भेगका महिलाहरूमा देखिने स्वास्थ्य समस्यालाई समयमै पहिचान गरी उपचारमा सहयोग पुर्‍याउने उद्देश्यसहित शिविर सञ्चालन गरिएको हो।

विशेषगरी ३० वर्षदेखि ६५ वर्ष उमेर समूहका महिलाहरूलाई लक्षित गरी सञ्चालन गरिएको यस शिविरमा भीआईए र फिस्टुला जाँच गरिएको थियो। जसमा ११ जना महिलामा पाठेघरको मुखको क्यान्सर पोजेटिभ (शंकास्पद) लक्षण देखिएको छ। जसमा हस्तीचौरका ६ जना र दोहलीका ५ जना रहनुभएको छ। शंकास्पद लक्षण देखिएका सबैलाई थप उपचार लागि अन्यनत्र अस्पतालमा रेफर गरिएको छ। त्यसैगरी शिविरमा शिविरमा क्यान्सर स्क्रिनिङका अतिरिक्त पाठेघर खस्ने समस्या भएका महिलाहरूको समेत पहिचानसँगै उपचार पनि गरिएको छ।

छ जनामा ‘स्टेज १ र २’ को पाठेघर खस्ने समस्या र एक जनामा ‘स्टेज ३’ को पाठेघर खस्ने समस्या देखिएको थियो। समस्या पहिचान भएका महिलाहरूमध्ये छ जनालाई ‘रिङ पेसरी’ लगाइएको छ भने आठ जना महिलाको ‘एब्लेटिभ ट्रिटमेन्ट’ (सेकाएर गरिने उपचार) मार्फत उपचार गरिएको छ। अन्य स्वास्थ्य समस्या भएका १९ जना महिलाहरूलाई पनि शिविरमा आवश्यक परामर्श तथा उपचार सेवा प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।