सिराज खान
नेपालगन्ज, जेठ ५ गते । विश्व सडक सुरक्षा सप्ताहको अवसरमा बाँकेमा सञ्चालन गरिएको विशेष सवारी चेकजाँच अभियानका क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउने १४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला ट्राफिक कार्यालय बाँके र इलाका प्रहरी कार्यालय कोहलपुरले संयुक्त रूपमा सञ्चालन गरेको अभियानअन्तर्गत नेपालगन्जको राँझा क्षेत्रमा चालकहरूको लागुऔषध प्रयोगबारे चेकजाँच गरिएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाहीले बताउनुभयो ।
उहाँका अनुसार अभियानका क्रममा सार्वजनिक बस, इभी, अटो, मोटरसाइकल तथा स्कुटरसहित २४ जना चालकको परीक्षण गर्दा १४ जनामा लागुऔषध सेवन पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
मल्टिपल ड्रग टेस्ट किटमार्फत चालकहरूको स्वास्थ्य परीक्षण गरिएको र पक्राउ परेकाहरू सेवनकर्ता मात्र हुन् वा लागुऔषध कारोबारमा संलग्न छन् भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अनुसन्धानका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने इलाका प्रहरी कार्यालय कोहलपुर ले जनाएको छ । पछिल्लो समय लागुऔषध सेवन गरी सवारी चलाउने प्रवृत्ति बढ्दै जाँदा सडक सुरक्षा चुनौतीपूर्ण बन्दै गएको प्रहरीको भनाइ छ ।
सडक दुर्घटनाका प्रमुख कारणमध्ये मादक पदार्थ तथा लागुऔषध सेवन पनि एक भएकाले विश्व सडक सुरक्षा सप्ताहको अवसरमा यस्तो चेकजाँच गरिएको प्रहरीले जनाएको छ । लागुऔषध सेवन गरी सवारी चलाउने प्रवृत्ति नियन्त्रण गर्न प्रविधिमैत्री परीक्षणलाई निरन्तरता दिइने जिल्ला प्रहरी कार्यालय बाँके ले जनाएको छ ।
यसअघि विश्व सडक सुरक्षा सप्ताहका अवसरमा नेपालगन्जमा चालक तथा सहचालक लक्षित स्वास्थ्य शिविर आयोजना गरिएको थियो भने सार्वजनिक सवारी साधनको अनुगमनसमेत गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीका अनुसार दुर्घटना न्यूनीकरणका लागि विभिन्न अभियान तथा कार्यक्रम सञ्चालन गरिएको छ ।