• ५ जेठ २०८३, मङ्गलबार

सुकुमवासी दलित समुदायको बिचल्ली

blog

डोजरले घर भत्काएपछि चिन्तित सुकुमवासी । तस्बिर : जीवछ यादव

लहान समाचारदाता 

लहान, जेठ ५ गते  । सिराहाको नवराजपुर गाउँपालिका–४, नहरनियाँको विपन्न दलित बस्तीमा गाउँपालिका कार्यालयले डोजर लगाएर घर भत्काइदिएपछि त्यहाँ बस्दै आएकाहरूको बिचल्ली भएको छ । 

ऐलानी जग्गामा घर बनाई लामो समयदेखि बसोबास गर्दै आएकाको घर स्थानीय सरकारले डोजर लगाएर भत्काइदिए पनि बासका लागि उचित व्यवस्थापन नभएपछि समस्यामा परेका हुन् । ऐलानी जग्गा खाली गराउने व्रmममा नवराजपुर गाउँपालिका कार्यालयबाट गएको डोेजरले वैशाख ३० गते उक्त बस्तीको ५० वटा घर भत्काइदिएको छ । घर भत्किएपछि चर्को घाम र बेला न कुबेला आउने हावाहुरीका कारण ठुलो बिचल्लीमा परेको स्थानीय दलित विपन्न समुदायका व्यक्तिले पीडा पोखेका हुन् । घर भएर पनि बेघर हुन पुगेका विपन्न दलित त्रिपाल टाँगेर बसेका छन् । 

उक्त ठाउँमा ८० वर्षदेखि बस्दै आइरहेका सुब्बे मण्डलका छोरा जगवीर मण्डल भन्नुहुन्छ, “घरमा डोजर लगाएर घर भत्काइदियो । गाउँपालिकाको एउटा भवनमा एक दर्जन परिवारलाई राखिदिएको छ । न शौचालय छ, न गर्मीबाट बच्नका लागि पङ्खा । कति दिन छोराबुहारी सबै एउटै कोठामा सुत्ने हो । हामी सुकुमवासी नागरिक होइन ? अरूले गरेको भए स्थानीय सरकारसँग गुहार माग्न जान्थे तर स्थानीय सरकारले नै बर्सातको समयमा बिच्चली बनाएपछि कहाँ जाने ? कसलाई पुकार्ने आँखाबाट आसु सुक्दैन । यस्तो दिन आउला भने सोचेका थिएनौँ ।”

सोही ठाउँका रामचन्द्र रजकका २२ वर्षीय छोरा लालबाबु रजकको घर भत्काउन डोजर लगाएको दृश्य देखेर आँखाबाट आँसु झारिरहेको छ । लालबाबुकी आमा अमिरिका रजकले भन्नुभयो, “मेरो परिवारमा त ठुलो विपत्ति नै आयो । खाने अन्न छैन । छिमेकीसँग मागेर खानु परेको छ । छोराको उपचार कहाँ गएर गराउने ? पानी परेका बेला अर्काको बरन्डामा चार दिनदेखि ओत लिइरहेका छाँै ।”

नवराजपुर गाउँपालिका–४, नवकी टोल नहरनियाँका ओली मोहम्मद, तपेश्वरी यादव मुनिलाल यादव, सुब्बे मण्डल, शिवराम मोची, भोगेन्द्र खत्वे, बिसुनियाँ खत्वेलगायत ५० घरपरिवार यतिबेला बिचल्लीमा परेको अर्का स्थानीय जयनारायण यादवले सुनाउनुभयो । उहाँले भन्नुभयो, “दलित विपन्न परिवारलाई सरकार संरक्षक हुनुपर्नेमा घरमा डोजर लगाएर बेघर बनाएपछि अब कहाँ जाने ?”

सिराहाको १७ वटै पालिकामा बाढीको जोखिममा रहेका सुकुमवासी बस्ती खाली गराउन प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा निर्णय भए पनि दलित र विपन्नको व्यवस्थापनबिना घर भत्काउन नहुने निर्णयविपरीत विपन्न दलितलाई बर्सातको समयमा बिचल्ली बनाउने कार्य मानव अधिकारको हनन नै भएको मानव अधिकारवादी राजकुमार राउतले बताउनुभयो । 

सिराहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले नहरनियाँमा दलितको घर भत्काएको विषयमा नवराजपुर गाउँपालिकाले कुनै समन्वय नगरेको बताउनुभयो । उहाँले विकल्पबिना घर भत्काउने कुनै निर्णय पनि नभएको भन्दै यसबारे बुझेर स्पष्ट गर्ने बताउनुभयो ।