कास्की समाचारदाता
कास्की, जेठ ५ गते । मित्रराष्ट्र चीनको मितेरी सहर जिजाङ प्रान्तको लिन्जीबाट पोखरा महानगरपालिकालाई उपहारस्वरूप एम्बुलेन्स प्राप्त भएको छ । अत्याधुनिक एम्बुलेन्स पोखरा भित्रिएको महानगरपालिकाले जनाएको छ ।
नगरप्रमुख धनराज आचार्यले अत्याधुनिक एम्बुलेन्ससहित स्वास्थ्य सामग्री पोखरा आइपुगेको जानकारी दिनुभयो । आचार्यका अनुसार मितेरी सहर लिन्जीले नयाँ जनप्रतिनिधि निर्वाचित भएपछि स्वागतस्वरूप अत्याधुनिक उपकरणसहितको एम्बुलेन्स, भेन्टिलेटर, अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री सहयोग गर्ने घोषणा गरेको थियो । सामग्री चीनबाट रसुवाको केरुङ नाका हुँदै नेपाल भित्रिए पनि लामो समय भन्सार प्रक्रियामा अड्किएका थिए । तत्कालीन कानुनी व्यवस्था अनुसार १६ लाख रुपियाँभन्दा बढी मूल्यका सामग्रीमा भन्सार छुट नपाउने व्यवस्था रहेका कारण करोडौँ मूल्यको एम्बुलेन्स रोकिएको नगरप्रमुख आचार्यले बताउनुभयो ।
अर्थ मन्त्रालयमा गरिएको लामो प्रयासपछि एम्बुलेन्स छुटको सीमा हटेको थियो । ती सामग्रीसँग सम्बन्धित सम्पूर्ण कागजात महानगरपालिकाको कार्यालयमा भएको आगलागीमा नष्ट भए । त्यसपछि पुनः प्रक्रिया सुरु गर्दा झन्डै तीन वर्ष लागेको थियो । महानगर प्रमुख आचार्यले मितेरी सहर लिन्जीबाट प्राप्त सहयोग केवल स्वास्थ्य सामग्री मात्र नभई दुई सहरबिचको मित्रता, विश्वास र सहकार्यको प्रतीकका रूपमा रहेको बताउनुभयो । उहाँका अनुसार उक्त सामग्री पोखरावासीलाई गुणस्तरीय र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले प्रयोग गरिने छ ।