तम्घास समाचारदाता
तम्घास (गुल्मी), जेठ ५ गते । गुल्मीमा लामो समयसम्म प्रयोगमा नरहेका सवारीसाधनको विवरण गृह मन्त्रालयमा पठाइएको छ ।
लामो समयदेखि थन्किएर बसेका र सवारीसाधन नवीकरण पनि गर्न सक्ने अवस्थामा नरहेका सवारीसाधनको उचित व्यवस्थापनका लागि गृह मन्त्रालयमा विवरण पठाइएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार जिल्लामा लामो समयसम्म प्रयोगमा नरहेका, लिलाम प्रक्रिया पनि अगाडि बढाउन नसकिएका, मर्मत गरेर पनि सञ्चालन गर्न नसकिने सवारीको उचित व्यवस्थापन गर्नका लागि गृह मन्त्रालयमा पठाइएको बताउनुभयो ।
जिल्ला समन्वय समिति गुल्मीको परिसरमा रहेका चार वटा सवारी, नेपाल दूर सञ्चारको परिसरमा रहेको भग्नावशेष एक्साभेटर, पाँच वटा एम्बुलेन्स र जिल्लामा प्रयोगमा नरहेका मोटरसाइकलसहित ४१ वटा सवारीसाधनको विवरण गृह मन्त्रालयमा पठाइएको हो ।
धेरै सवारी लामो समयदेखि नवीकरण नभएका र कार्यालयले नवीकरण गर्न सक्ने बजेट पनि नभएका कारण यसै थन्किएर बसेका छन् । जिल्ला समन्वय समिति गुल्मीमा रहेको ल्याडओभर गाडी एउटा दुई दशकदेखि र अर्को एक दशकदेखि नवीकरण नभई यसै थन्किएको छ । यस्तै गुल्मी अस्पतालसहित स्वास्थ्य संस्थाका एम्बुलेन्स पनि चल्ने अवस्थामा नभएका कारण लामो समयदेखि थन्किएर बसेका छन् ।
गुल्मीका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले लामो समयदेखि थन्किएर बसेका सवारीको नवीकरण गर्न पनि नसकिएको र सम्बन्धित कार्यालयको बजेट पनि नभएकाले समस्या भएको बताउनुभयो । यसका लागि केन्द्रीयस्तरबाट नै नीतिगत व्यवस्था गरी व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ छ । जिल्लामा केही वर्ष पहिलेदेखि नै सवारीको व्यवस्थापन गर्नका लागि पहल गर्दै आए पनि ठोस निर्णय निकाल्न सक्ने अवस्था भने नरहेको उहाँले बताउनुभयो ।
अहिले जिल्लाका सरकारी कार्यालयमा प्रयोगविहीन रहेका सवारीको अवस्था बुझी गृह मन्त्रालयको परिपत्र अनुसार नै पठाइएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।